रेसुङ्गाः सन्तानका लागि बुबाआमाले नगर्ने के हुन्छ र ? प्राय आफ्ना रहरलाई थाती राखेर सन्तानका लागि जीवन दिन तयार हुन्छन् सबैका बुबाआमा । त्यसैको एउटा ज्वलन्त उदाहरण गुल्मीमा देखिएको छ । जुम्लाको सिञ्जा गाउँपालिका–२ का लक्ष्मीकान्त आचार्य ६३ वर्ष पुगे । उनले सन्तानका लागि बोक्दै आएको भारी अझै बिसाएका छैनन् ।
विगत ४३ वर्षदेखि भारी बोक्दै आएका उनी १० वर्षदेखि गुल्मीमा बसेर काम गरिरहेका छन् । त्योभन्दा अगाडि आचार्य नेपालका १५ जिल्लामा कामको खोजीमा पुगिसके । उनले बोकेको राडीपाखीमा बाध्यतासँगै छोराछोरीको रहर पनि समेटिएकोे छ । त्यही रहर पूरा गर्न आचार्यले कहिल्यै फूर्सद पनि पाएनन् ।
आफ्ना छोराछोरीको रहरलाई लक्ष्यसम्म पुर्याउन पसिनै बगाएर सपना बुन्नेहरु बिरलै हुन्छन् । आचार्यको पनि एउटा सपना छोरा हेमन्तले इन्जिनियरिङ अध्ययन गरेर पूरा गरेका छन् । अध्ययन सकेपछि उनले काठमाडौंमा काम गर्न पनि थालेका छन् । राडीपाखी बिक्री गरेकै भरमा छोरालाई इन्जिनियर बनाएका आचार्य अहिले खुसीले गद्गद छन् । “छोराको रहरका लागि आफ्ना सपनालाई तिलाञ्जली दिएँ”, उनी भन्छन्, “राडीपाखी बेचेर छोरालाई इन्जिनियर बनाएँ, मेरा पनि सबै सपना पूरा भए ।” आचार्य मिहेनत र परिश्रम गरे कुनै सपना अधुरो नहुने बताउँछन् ।
गुल्मीको रेसुङ्गा नगरपालिका–२ मा बस्दै आएका उनी राडीपाखी बेच्न गुल्मीका गाउँगाउँ पुग्छन् । प्राय मङ्सिर, पुस, माघ र फागुनमा तम्घासमा बसेपनि अघिपछि भेडाको ऊनबाट बनेका राडीपाखीसँगै आफैँले जुम्लामा खेती गरेर उब्जाएको धान, गेडागुडी, फलफूल उत्पादनका लागि जुम्लामै बसेर खेती किसानी गर्दै आइरहेका छन् । आफैँले बनाएका सामग्रीहरु बेच्दा वार्षिक रु. पाँच लाखसम्मको कारोबार हुने र चार लाखसम्म बचाउने गरेको आचार्य जानकारी दिन्छन् ।
गुल्मीमा ग्रामीण भेगमा समानहरु बिक्री गर्न पुग्दा जुम्लाका प्राङ्गारिक समान भनेर मन पराउने गरेको उनी बताउँछन् । जुम्लाबाट वि.सं. २०५० मा नेपालगञ्जसम्म आउँदा पैदल आठ दिनसम्म हिँड्नुपरेको सुनाउने आचार्य अहिले गाडीमा तीन दिनमा गुल्मी आउन सकिने जानकारी दिन्छन् । “आत्मनिर्भर बन्नका लागि मिहेनत र परिश्रम निरन्तर गरेँ”, उनले भने, “अहिले छोरा पनि आफैँमा आत्मनिर्भर बन्दा खुसी लागेको छ ।” उनका कान्छा छोरा धिरन्दा पनि बुटवलमा राडीपाखीका सामान बिक्री गरेर मनग्य आम्दानी गर्दै आइरहेकाक छन् । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies