
काठमाडौं : स्थानीय तहको निर्वाचन आउन एक वर्ष बाँकी छ । तर, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिलेदेखि नै स्थानीय चुनावको तयारीमा लागेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको रास्वपाको सचिवालय बैठकले ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा २०८३’ पारित गरेको छ ।
प्रवक्ता मनीष झाका अनुसार ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा २०८३’ आगामी स्थानीय तहको निर्वाचनका लागि पार्टीका उम्मेदवार छनोट गर्ने विधि हो ।
स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा पारित गर्दै रास्वपाले उक्त रूपरेखालाई कार्यान्वयन गर्न पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
सात सदस्यीय समितिमा केन्द्रीय सदस्यहरू आरके ढुंगाना, समीक्षा बाँस्कोटा, केपी खनाल, कामिनी चौधरी, रामकृष्ण भट्टराई र रोहन कार्की सदस्य छन् । आरके ढुंगाना समितिको सदस्यसचिवको जिम्मेवारीमा छन् ।
अब यो समितिले आगामी स्थानीय तहको निर्वाचनका लागि पार्टीका उम्मेदवार छनोट गर्ने प्रक्रिया अगाडि बढाउनेछ । समितिले आइतबार नै स्थानीय तह उम्मेदवार छनोट रूपरेखाको मस्यौदा प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएको छ । जसअनुसार स्थानीय तह निर्वाचनमा रास्वपाबाट उम्मेदवार हुन इच्छुकले उम्मेदवार क्लब र लिडरसिप एकेडमीबाट उत्तीर्ण हुनुपर्छ ।
उम्मेदवार क्लब पूर्णतः स्थानीय तह केन्द्रित हुनेछ । पालिका तहमा उम्मेदवार हुन इच्छुकले उम्मेदवार क्लबमा नाम दर्ता गर्नेछन् । वडा अध्यक्ष, पालिका प्रमुख कार्यकारी पद हुन् ।
यसअघि २०८० साल मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीमा भएको केन्द्रीय र संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले नै उम्मेदवार क्लबको अवधारणा अघि सारेका थिए । त्यसअनुसार रास्वपाले थप प्रक्रिया औपचारिक रूपमै अगाडि बढाएको हो ।
नेताहरूका अनुसार स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष, पालिका प्रमुख तथा उपप्रमुखको उम्मेदवार हुन चाहनेहरू क्लबमा दर्ता हुनेछन् । क्लबमा दर्ता भएकालाई पार्टीले प्रशिक्षित गर्नेछ । उम्मेदवार हुन चाहेका व्यक्तिलाई जिम्मेवारीमा पुगेपछि गर्नुपर्ने कामबारे प्रशिक्षण दिइनेछ । उम्मेदवार क्लब उम्मेदवार हुन इच्छुकलाई पूर्वतयारी गर्ने विधि हो ।
उम्मेदवार क्लबमा दर्ता हुनेले निर्वाचित भएको अवस्थामा आफूले गर्ने कार्य पार्टीसमक्ष प्रस्तुत गर्न सक्नुपर्दछ । उम्मेदवार क्लबमा सूचीकृत व्यक्ति पार्टीको राजनीतिमा सक्रिय हुनुपर्ने बाध्यता रहने छैन ।
यस्तो विधि बनाएर रास्वपा स्थानीय चुनाव आउनु एक वर्षअगावै चुनावमा केन्द्रित भएको हो ।
२०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिले यही वैशाख ३० गते चार वर्ष पूरा गर्दै छन् । त्यसपछि अर्को एक वर्ष काम गर्न पाउँछन् ।