२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

कोटिहोममाथि उठेको प्रश्न

ADV
२०८१ साउन २३ गते ०६:२०
कोटिहोममाथि उठेको प्रश्न

–अच्युतप्रसाद पौडेल ‘चिन्तन’

हामीले भन्यौँ, पशुपतिको कोटिहोम लुटिहोम भयो, धर्मका नाममा अधर्म भयो, शान्तिका नाममा अशान्ति भयो, द्रव्य यज्ञ गर्नु थियो भने अन्य जग्गा थियो, पावन पशुपतिनाथ परिसरलाई ब्रह्म ज्ञानको थलो बनाइनु पर्नेमा नौटङ्की नृत्य शाला बनाइयो । व्यासमा बस्ने पण्डित भनिएकाहरू रोदिघर भई व्यास पीठमा पुगे र व्यासपीठबाट रोदिघर भई बिदा भए । दान, दक्षिणा वा पारिश्रमिकको पारदर्शिता भएन । पशुपतिको नाम भजाएर खुल्ला ठग्नेहरू माथि राज्यको चासो हुनुपर्छ ।

कैलाशमा खाल्डो खनियो, पुरातत्त्व विभागले पशुपति विकास कोषसँग स्पष्टीकरण मागेको छ, सात दिन भित्र भनेर । पछि टालटुल गरियो भन्ने सुनियो । पङ्क्ति तयार गर्दा त्यहाँ पत्रकार कुटिएको खबर आएको छ । क्यामराको लेन्स फुटेको भनिएको छ । नीलडाम भई प्रहरीलगायतका स्थानहरूमा उजुरबाजुर परेको भनिएको छ । आयोजकले यसमा क्षमासमेत मागेको अवस्था छ र क्षतिपूर्ति दिन्छु पनि भनेको छ । एक पटक होइन पत्रकारहरूले दुई पटकसम्म पिटाइ खाएका र तेस्रोपल्ट यस्तो अवस्था नआउने भनेका छन् । महायज्ञमा यति अशान्ति किन हुन्छ, शान्ति खोज्दै पशुपति जाने भक्तहरूमाझ हामीले दिने जवाफ के हुन्छ अब ?

सुरुमै हुङ्कार आएको हो पाका मान्छेहरूको कि यो समय यस्तो कार्यक्रमका लागि होइन भनेर, साइत मिलेन भनेको पनि धेरैबाट सुनियो । धेरै लामो भयो र यसले द्रव्य आकर्षणभन्दा केही भएन भनेर सारातिर चिच्याएको अवस्था हो । अहिले पत्रकारहरू नै अस्पताल भर्ना हुनुपर्ने कुरो र जिल्ला प्रशासन कार्यालयदेखि प्रहरी परिसर टेकुसम्म र गौशाला प्रहरीसमेत तनावमा हुने गरी भीषण भीडको यज्ञ किन आवश्यक परेको हो ? देशमा मूर्धन्य पण्डितहरू, व्यास पीठमा बस्न लायकहरू हुँदा हुँदै विदेशबाट आयात किन गर्नु परेको ? र, जो विदेशबाट आए ती किन विवादित बने, कोही ‘गोरुको आहार मयुर’ भन्दै विवादित बनेका छन् भने कसैले चीनमाथिको दौत्य सम्बन्धमै प्रश्न खडा हुने गरी भाषण दिएका छन् । व्यास पीठ भाषणको शैलीमा हुन्छ कि पुराणका कथावस्तुमा वा समाजलाई धार्मिक चेतना दिने खालको हुन्छ ?

वैदिक सनातनीहरूले भनौँ हिन्दु धर्मले त्यो तमाम शास्त्रले डिभोर्स चिन्दैन र डिभोर्सका पात्रहरू आयोजकले किन छानेको ? लन्डन वा अन्य विदेशबाट आउने जाने र तिनको साथमा आएका ठुला हतियारसहितका शस्त्रधारी सुरक्षाकर्मीको खर्चको व्यवस्था के हो ? सुरक्षा यहीँको प्रशासनले दिन नहुने कारण चाहिँ के होला अथवा कथा वा बायोग्राफी भनेर व्यास पीठमा कर्तव्य पूरा होला कि नहोला ? व्यास पीठमा बस्नेहरू जताततै भड्केर बाहिर हिँड्न धर्मले देला ? 

पाँच तारे होटेलमा आवास बनाउन मिल्ला कि साधुकै व्यवहार गर्नुपर्ला वा स्वदेशी चेलीबेटीले कथाभन्दा नेपाली भाषा शैली वा संस्कृत उच्चारण गर्नुपर्ला कि नपर्ला ? मञ्च परिसरमा अगाडि पुस्तक राख्नु किन नपर्ने, उपव्यास वा दीप अखण्ड हुनु किन नपर्ने वा व्यासपीठको सुरक्षाकर्मीहरूको पोसाक कस्तो हुनुपर्ने अथवा नेपालमा पटक–पटक पण्डित सम्मेलन भइरहेको र त्यो सम्मेलनले पास गरेका योग्यता वा प्रचलन वा नियम विधान पालन गर्नुपर्ने कि नपर्ने अथवा पण्डित सम्मेलन गर्ने नेतृत्व गर्नेले नै कथा भनिरहँदा चोरी औँला ठड्याएर आवेग र तनाव, जलनको मुद्रामा आदेश उपदेश दिनु कति उपयुक्त होला ? 

व्यासनमा बस्नेहरूले पोसाक, मुद्रा, हाउभाउ सबै सात्त्विक देखाउनु पर्ने पनि होला । पुराण भन्नेहरू दैवज्ञ, क्रोध रहित, लोभरहित, विरक्त हुनुपर्छ भनेर पुराणमै लेखिएको छ । जो कोहीलाई वरमाला झैँ दुबाको माला पहिर्‍याउँदै मोटो रकम दिनेलाई नाम फलाक्दै कथा, पारायणलाई गोली मार्ने जुन दृश्य देखियो त्यो सर्वथा गैर धार्मिक काम भयो । यसको नतिजा आयोजकले भोग्नुपर्छ र अहिले पनि भोगिरहेको अवस्था छ । जताततै मुद्दा परेको अवस्था छ, आयोजकलाई सबैतिरबाट स्पष्टीकरणको ओइरो लागेको छ । 

कोटिहोममा मान्छे जोख्ने गरी पैसा तौलने काम किन भयो ? धर्म भीरु ७५ वर्षीय वृद्धा जो पाँच हजार दान गर्न गएकी पाँच लाख बढीको फन्दामा किन परिन् ? अनुत्तरित प्रश्न धेरै छन् र कलिमा कोटिहोम विरलै हुन्छ र खराब नियतले गरेमा त्यसको फल पनि बढी नै हुन्छ । मन्त्र सिद्धि नभएका स्थानमा देवता बस्दैनन् र दिएको हवनवादी वस्तु उनीहरूले लिँदैनन् पनि । हवनको त्यहाँ कतै छैन चर्चा, छ केवल कसले कति पैसा दियो भन्ने र दानको सचिवालय नै राखिएको देखिन्छ । आयोजक आफैं पनि पटक–पटक विवादमा आएका अदालतबाट मुद्दा खेपिएका कारागार पनि पुगिसकेका र उनको कानुनी नाम के हो र अनेक नाम किन र कसरी हुन्छ ?

प्लेन दुर्घटना हुनु, अनि बसहरू हराउनु, भीमसेनलाई पसिना आउनु एकैपल्ट र उस्तै समयमा परेको छ, देशमा अनिष्ट हटाउने गरी विश्व कल्याण भन्दै गरिएको कर्मले आयोजकलाई आफैंलाई आत्मिक शान्ति मिलेको छैन, कुटाकुट छ, भागाभाग छ, आफ्नै संस्थाहरूका मित्रहरूबाटै उनले धोका पाइरहेको अवस्था पनि छ । कुटपिटका विषयमा आफैंले छानबिन गर्ने र दोषी देखिएकालाई संस्थाबाट हटाउने वा तिनकै पारिश्रमिकबाट भराउने कुरो पनि उनले सार्वजनिक गरिसकेका छन् । कुनै अमुक मिडियामा गएर उनले बोलेका विषयमै पनि मिडियाहरू उनीमाथि खनिँदै प्रतिप्रश्न गरिरहेका छन् । आफूँ समर्थित प्रेसलाई आयोजकले पैसा दिएर पहिले नै सम्झौता गरेका छन् भने विरुद्धमा तिनले लेख्ने बोल्ने आँट गर्ने कुरै भएन । बाँकी स्वतन्त्र पत्रकारहरू गएर रिपोर्टिङ गरिरहँदा आयोजक पक्षलाई टाउको दुख्ने विषय नै होइन । राज्यको चौथो अङ्ग हो, प्रेस स्वतन्त्र नै हुन्छ । 

व्यासपीठको अर्को योग्यता भनेको संस्कृतमा वाचन पनि गर्नुपर्छ र कपाल मुण्डन जरुरी छ । जनै नलगाई यज्ञमा सामेल हुन पाइन्न । सबैलाई छुट छ भनेदेखि महिलाहरूलाई हवनमा किन नराखेको त ? हवनादि कर्ममा पनि स्त्रीहरू रहनु पर्ने भयो नि त त्यो किन बन्देज ? किनभने महिलाको प्राकृतिक धर्म नै फरक छ, यज्ञमा होता बनिरहन असमर्थ हुन्छन्, हो भजन कीर्तन, नृत्य सबै हुन्छ तर, केही सीमाहरू छन्, जुन कोटिहोमका लागि सर्वस्वीकार्य हुन्न र पुराण सुरु गरेपछि पूर्णपात्र गरिनु पर्छ र त्यसको दशांश हवन, तर्पण मार्चन, ब्राह्मण भोजन गराउनु पर्छ । सङ्कल्प गर्दा आयोजक वा पैसा वा वस्तु लिनेले आफ्नो कुल गोत्र, प्रवर सबै भन्नुपर्छ । तेत्तीस कोटी देवतालाई साक्षी राखेर महासंकल्प गरेर मात्रै यज्ञमा व्यक्तिको वरण हुन्छ, वरण अवधिभर उसलाई जूठो, सूतक पनि नलाग्ने गरी नान्दी, श्राद्ध, मातुका अर्चन गरेर मात्र गणेशको आह्वान गरी यज्ञ सुरु गर्नुपर्छ । क्लब जस्तै व्यासहरू आउने जाने हुन्न, उनका आचरण हुन्छ, आयोजकको पनि गोत्र प्रवर भए उनका पुर्खा सबै साक्षी बस्नु पर्ने हुन्छ । आयोजक कहिले एयरपोर्ट कहिले कुनै अन्यत्र प्रेस मिडियामा स्टुडियो चाहर्दै हिँड्नु हुन्न । 

यहाँ त आयोजक जताततै हिँडेको अवस्था छ । कहिले धान दिवसमा पुगेर विज्ञापन गर्दै एकैपल्ट पचास हजारको चेक काटेको देखिन्छ भने कहिले रोदिघर गएर माला लाउँदै प्रचार गरेको अवस्था छ । यसले आयोजक केवल पैसा असुल्ने धन्दामा लागेको स्पष्ट हुन्छ । विश्व कल्याणको आह्वान गर्दै यज्ञ आयोजना गर्नेको यो किसिमको आचरण हुन्न र यसले देशकै कल्याण गर्दैन विश्वको कुरा अर्को भयो यति हो कि डलरमा भुक्तानी हुने गरी विश्व चर्चित मान्छे उनले यहाँ ल्याउन सफल भएका छन् । आउनु आफैंमा ठुलो कुरो होइन, उनीहरू आएदेखि फर्केसम्म कति विवादित बनेका छन् भन्ने अब संसारलाई थाहा भइसकेको छ । 

पछिल्लो अवस्थामा झल्लरीसहित मञ्चमा लगिएका भनिएका सिद्ध पुरुषका विषयमा पनि चतरा, धरानमा के भएको थियो, आम जनमानसलाई अवगत भएको विषय हो । धर्मलाई व्यापार बनाउनु हुन्न, पुराण र वेदलाई बिक्रीमा राख्दा कसैलाई भलो हुन्न । फाउन्डेसनका नाममा चलाइने मामाघर, छोरी घर, वृद्ध आश्रमहरू स्थानीय सरकारले गर्नुपर्छ । देशमा धेरै सरकारहरू छन्, पशुपतिनाथलाई साक्षी राखेर पैसाको भीड बटुलेर हुँदैन । 

खर्च नउठ्ला भन्ने रोइलो गर्दैछन् आयोजक अहिले । ठेलागाडा, ट्याक्सी र रिक्साबाट चक्रपथमा धर्म प्रदर्शन किन गरेको ? कसलाई देखाउन गरेको ? यिनलाई ती थाहा भएन । धर्म भनेको प्रदर्शन होइन, नितान्त दर्शन हो । त्यो पनि जीवनदर्शन । यदि खराब नियतले पैसा उठेकै छ भने पनि तिनले भनिएको आश्रमहरूको अवस्था एक दिन उजागर हुन्छ नै  र पनि कार्यक्रमको सफलता भन्नै पर्छ हामीले उनलाई ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise