२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

नयाँ दल, पुरानै नियति

ADV
२०८१ साउन २३ गते ०६:२५
नयाँ दल, पुरानै नियति

विश्वासको मत नलिदै सत्ता संकटको सामना गर्नु परेका मुख्यमन्त्री सतिश सिंहले मंगलबार मधेश प्रदेश मन्त्रिपरिषद्मा थप पाँच जना राज्यमन्त्री नियुक्त गरेका छन् । नेपाली कांग्रेसबाट २, जनमत पार्टी, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट एक÷एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् । ११ वटा मन्त्रालय रहेको मधेश सरकारमा यसअघि नै १५ सदस्यीय मन्त्रिपरिषद् थियो । ३ साउनमा कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउँदा नै सबै मन्त्रालयले नेतृत्व पाएको थियो । एमालेबाट चार, कांग्रेसबाट चार, जनमतबाट दुई र लोसपाबाट एक मन्त्रालयको नेतृत्व भएको थियो । तर पूर्णता पाइसकेको मन्त्रिपरिषदलाई तीन सातापछि मंगलबार फेरि बिस्तार गरेर जम्बो आकारको टीम बनाइएको छ । अब हरेक मन्त्रालयमा दुई जनाजसो मन्त्री भएका छन् ।

मन्त्रालय संख्या नै अधिकतम बनाइनु र मन्त्री जतिकै संख्यामा राज्यमन्त्री नियुक्त गरिनुको सन्देश राम्रो गएन । यसअघि सात वटा मन्त्रालयमा सीमित गरिएको प्रदेश सरकारहरुलाई बढाएर ११ पुर्‍याउने र मन्त्रिपरिषद्को आकार २० बनाउनुले राम्रो सन्देश जाने कुरा पनि भएन । किनकि आमनागरिकको चाहना राज्य कोषको मितव्ययिता भन्ने छ । तर असन्तुष्टहरुलाई व्यवस्थापन गर्ने नाममा प्रदेश मन्त्रीहरुको संख्यामा कीर्तिमानी संख्या बनाउनु उल्टो अभ्यास हो । संघमा शेरबहादुर देउवा र डा.बाबुराम भट्टराईले यस्तै ठूलो आकारको मन्त्रिपरिषद् बनाएका थिए । कीर्तिमानी मन्त्रिपरिषद् बनाएकोमा अहिले पनि देउवा र भट्टराईप्रति आलोचना हुँदै आएको छ भने सरकारको कोष खर्च गर्नकै निम्ति मन्त्री बनाइने गरेको भाष्य निर्माण भएको छ ।

अझ मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकार जम्बो बनेको छ । यति ठूलो आकारको सरकार यसअघि बनेकै थिएन । तर आफूलाई नयाँ राजनीतिक शक्ति भनेर चिनाउने जनमत पार्टीकै नेता मुख्यमन्त्री हुँदा कीर्तिमानी मन्त्रिपरिषद् बन्न पुग्यो । यस्तो परिस्थिति सिर्जना हुनुमा प्रदेश सभाको अंक गणितले काम गरेको हुनुपर्छ । किनकि १०७ सदस्यीय प्रदेश सभामा जनमत पार्टीसँग १३ सिट मात्र छ । थोरै सिट भएको पार्टीले सरकार बनाउँदा ठूला दलहरु कांग्रेस र एमालेलाई धेरै मन्त्रालय दिनुपर्ने भयो, त्यसैअनुसार साझेदारहरुबीच भागबण्डा मिलाउन ठूलो आकारको मन्त्रिपरिषद् बन्न पुगेको प्रष्ट छ । तर यसको सन्देश र निष्कर्ष भने नयाँ दलहरुको नियति पनि पुरानै दलहरु भन्दा भिन्न नरहेको सन्देश गएको छ । जनताको चाहना भने नयाँ दलहरुले पुराना दलहरुले गरेको गल्ती नदोहोर्‍याओस् भन्ने छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise