२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

सीआईबीबाट हटाइए ज्ञवाली

ADV
दिवाकर अधिकारी
२०८१ साउन २३ गते ०६:५०
सीआईबीबाट हटाइए ज्ञवाली

काठमाडौं : सरकारले अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवाली नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखबाट हटाएको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सीआईबीमा एआइजी दीपक थापालाई ल्याएको छ । एआइजी श्यामलाल ज्ञवालीलाई प्रदेश समन्वय विभागमा पठाएको छ । उपत्यका प्रहरी कार्यालयमा किरण बज्राचार्य र कार्य विभागमा रामदत्त जोशीलाई सरुवा गरिएको छ । 

यसअघि ज्ञवाली सीआईबी प्रमुख थिए भने थापा उपत्यका प्रहरी कार्यालयमा थिए । बज्राचार्य प्रहरी प्रधान कार्यालयमा थिइन् भने जोशी हालै बढुवा भएका हुन् ।

श्यामलाल ज्ञवाली सुन तस्करी प्रकरणका आरोपी जीवन चलाउनेसँग आर्थिक सहयोग मागेको लगायतका आरोपमा गृह मन्त्रालयको आन्तरिक अनुसन्धानमा थिए । आन्तरिक अनुसन्धानमै रहेका बेला उनलाई सरकारले सीआईबी प्रमुखबाटै हटाएको हो । 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुँदा सीआईबी प्रमुखमा बज्राचार्य थिइन् । त्यसबेला सीआईबीले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करी प्रकरणमा बदनियतपूर्वक अनुसन्धान गरेको आरोप लागेको थियो ।

सुन तस्करी प्रकरणको अध्ययन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा बनेको उच्चस्तरीय आयोगले प्रमुख बज्राचार्यसहितका अधिकृतहरुलाई कारबाही गर्न सिफारिस गरेको थियो । 

२१ फागुन २०८० मा सत्ता समीकरण फेरिएपछि प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गृहमन्त्री भए । उनले त्यही प्रतिवेदनलाई देखाएर सुरुमै बज्राचार्यलाई सीआईबी प्रमुख बज्राचार्य हटाए र श्यामलाल ज्ञवालीलाई ल्याए ।

त्यसपछि सुन तस्करी प्रकरणमा ज्ञवाली नेतृत्वको सीआईबीले गरेको अनुसन्धानमा कतिपय नेताहरुलाई उन्मुक्ति दिएको आरोप लागेको थियो । 

प्रचण्ड नेतृत्वको सरकार ढलेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार बनेपछि ज्ञवालीमाथि नै गृह मन्त्रालयले आन्तरिक अनुसन्धान शुरु गरेको हो । 

गृह मन्त्रालयले अनुसन्धान गरिरहेका ज्ञवालीलाई सरकारले सीआईबीबाट हटाएको हो ।

एक मन्त्रीका अनुसार विभिन्न बैंकसँग जोडिएका लेनदेन, जन्ममितिको विवाद सहितका विषयमा प्रहरीकै उजुरी छानबिन शाखामा निवेदन परेको र अनुसन्धान चलिरहेका कारण ज्ञवालीलाई सीआईबीबाट हटाइएको हो ।

ज्ञवालीमथि प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) टेकप्रसाद राईको नेतृत्वको समितिले छानबिन गरिरहको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise