
प्रि-मनसुन सुरु भएसँगै चट्याङ र हावाहुरीका घटना बढ्न थालेका छन् । बितेका २५ दिनमै भएका १०८ वटा चट्याङका घटनामा १२ जनाको ज्यान जानुका साथै ६७ जना घाइते भएका छन् । यसले विपद् जोखिम व्यवस्थापनमा हाम्रो तयारी र जनचेतना कमजोर रहेको देखाउँछ । चट्याङ प्राकृतिक प्रक्रिया भए पनि यसबाट हुने मानवीय क्षति धेरै हदसम्म सचेतना र पूर्वतयारीको अभावका कारण बढ्ने गरेको छ । विशेषगरी ग्रामीण क्षेत्रमा जोखिम बढी देखिन्छ । खेतबारीमा काम गरिरहेका किसान, खुला ठाउँमा रहेका बालबालिका र जंगल गएका मानिस चट्याङबाट बढी प्रभावित भइरहेका छन् । गाउँका घरहरू चट्याङ प्रतिरोधात्मक नहुनुले पनि दुर्घटनाहरू निम्त्याइरहेका छन् ।
जल तथा मौसम विज्ञान विभागले अहिलेको समयलाई उच्च जोखिमको अवधि मानेर सतर्कता अपनाउन आग्रह गरिरहेको छ । दिउँसोपछि मेघगर्जन, हावाहुरी र चट्याङको सम्भावना बढी रहने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने देखिन्छ । तर सरकारी सूचना र चेतावनी गाउँस्तरसम्म प्रभावकारी रूपमा पुग्न सकेको छैन । धेरै मानिस अझै पनि चट्याङलाई सामान्य प्राकृतिक घटना ठानेर जोखिमलाई बेवास्ता गरिरहेका हुन्छन् । तर, चट्याङबाट अनपेक्षित रूपमा ठूलो भौतिक तथा मानवीय क्षति भइरहेको छ ।
पछिल्ला वर्षका तथ्यांकले समस्या बर्सेनि बढ्दै गएको देखाउँछ । गत वर्ष पनि सयौं चट्याङका घटनामा दर्जनौंले ज्यान गुमाएका थिए । हावाहुरीका घटना पनि बढिरहेका छन् । यसले एकातर्फ मौसमको स्वरूप बदलिँदै गएको संकेत गरिरहेको छ भने अर्कोतर्फ जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी, कम वर्षा र असामान्य मौसम बढ्दै गएको विज्ञहरूले बताउने गरेका छन् । यस्तोमा सरकारले सूचना जारी गरेर मात्र पुग्दैन । स्थानीय तहसम्म प्रभावकारी सचेतना अभियान सञ्चालन गर्नुपर्छ । विद्यालय, गाउँपालिका र समुदायस्तरमा विपद् शिक्षालाई प्राथमिकता दिन आवश्यक छ । चट्याङ प्रतिरोधात्मक संरचना निर्माण, सुरक्षित आश्रयस्थलको व्यवस्था र मौसम पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ ।
नागरिक स्वयं पनि सचेत हुन जरुरी छ । मेघगर्जन हुँदा रुखमुनि नबस्ने, खुला ठाउँमा काम नगर्ने, विद्युतीय उपकरण नचलाउने र सुरक्षित स्थानमा बस्ने सामान्य सावधानीले पनि ज्यान जोगाउन सक्छ । प्राकृतिक विपद् रोक्न सकिँदैन, तर त्यसबाट हुने क्षति कम गर्न सकिन्छ । चट्याङबाट हुने भौतिक तथा मानवीय क्षति कम गर्न सकिन्छ । त्यसका लागि सरकार, स्थानीय तह र सर्वसाधारण सबैको साझा प्रयास आवश्यक छ ।