
काठमाडौँ : बेलायतमा सम्पन्न स्थानीय चुनावमा लेबर पार्टीले ठूलो धक्का व्यहोरेको छ । यो निर्वाचनको नतिजाले बेलायतको राजनीतिमा वर्षौँदेखि कायम लेबर र कन्जरभेटिभ पार्टीको वर्चस्व अन्त्य हुने संकेत देखाएको छ । २७ वर्षदेखि शासन गरिरहेको वेल्समा लेबर पार्टीले सत्ता गुमाएको छ भने स्कटल्याण्डमा पनि एसएनपी सबैभन्दा ठूलो दलका रूपमा कायमै छ ।
इंग्ल्याण्डमा भने रिफर्म यूकेले ऐतिहासिक जित निकाल्दै १४ सयभन्दा बढी सिट जितेको छ । परम्परागत रूपमा लेबर र कन्जरभेटिभको गढ मानिने क्षेत्रहरूमा समेत रिफर्म यूकेले कब्जा जमाएको छ ।
रिफर्म यूके २६ प्रतिशत मतका साथ सबैभन्दा ठुलो दल बनेको छ भने १८ प्रतिशतसहित ग्रीन पार्टी दोस्रो र १७ प्रतिशतका साथ लेबर तथा कन्जरभेटिभ पार्टी तेस्रो स्थानमा खुम्चिएका छन् ।
बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा ६ नेपाली निर्वाचित भएका छन् । बेलायतका तीन राज्य इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्समा बिहीबार स्थानीय निर्वाचन भएको हो ।
रेडिङस्थित ब्याटल वार्डबाट प्रतिक्षा गुरुङ लेबर पार्टीको तर्फबाट काउन्सिलरमा निर्वाचित भएकी छन् । यस्तै अल्डरशटको म्यानर पार्क वार्डबाट जीब बेलबासे विजयी भएका छन् । उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका पूर्व प्रवक्ता हुन् । त्यसैगरी, भूतपूर्व ब्रिटिश गोर्खा उत्तर गुरुङ अल्डरशटको वेलिङ्टन वार्डबाट लेबर पार्टीको तर्फबाट काउन्सिलरमा निर्वाचित भएका छन् ।
लन्डन बरो अफ बार्नेटमा कन्जरभेटिभ पार्टीका लक्षबहादुर गुरुङ पुनः काउन्सिलर पदमा निर्वाचित भएका छन् । उनी यसअघि सोही बरोका उपमेयरसमेत रहिसकेका छन् र एनआरएनए अभियानमा विगत दुई दशकदेखि सक्रिय छन् ।
निर्वाचनमा एक नेपाली दम्पती पनि काउन्सिलर पदमा निर्वाचित भएका छन् । लन्डनस्थित रोयल बरो अफ ग्रीनविचको प्लमस्टेड एन्ड ग्लिन्डन वार्डबाट लेबर पार्टीका तर्फबाट उम्मेदवारी दिएका पूर्व मेयर जीत रानाभाट विजयी भएका छन्। उनकी पत्नी गौमाया गुरुङ पनि सोही बरोअन्तर्गत एबीउड वार्डबाट काउन्सिलरमा निर्वाचित भएकी छन् ।
अर्कोतर्फ, रिफर्म यूके जस्ता दक्षिणपन्थी र ग्रिन जस्ता वैकल्पिक दलहरूको उभारले बेलायतको परम्परागत दुई दलीय राजनीतिक संरचना कमजोर बनाउँदै लगेको छ ।
रिफर्म यूकेका नेता नाइजेल फराजले पूर्वी लन्डनमा पत्रकारहरूसँग कुरा गर्दै इंग्ल्याण्डको नतिजाले वास्तविक ऐतिहासिक परिवर्तन देखाएको बताएका छन् । एसेक्सको चेल्म्सफोर्ड पुग्दा फराजले बेलायतमा ‘मतदानको ढाँचामा साँच्चै ऐतिहासिक परिवर्तन’ प्रतिबिम्बित गरेको बताए ।
रिफर्म यूके पार्टी त्यही पार्टी हो जसले आफू सत्तामा आए ५ वर्षमा ६ लाख आप्रवासीलाई देश निकाला गर्ने र आईएलआर खारेज गर्ने योजना अघि सारेको थियो । नेता फराजले उनको पार्टीले पहिले घोषणा गरेको योजनाअन्तर्गत साना डुङ्गाहरूमा चढेर गैरकानुनी रूपमा बेलायत आउने जोकोहीलाई पनि असाइलम (शरण) दाबी गर्नबाट रोक लगाउने समेत उद्घोष गरेका थिए ।
उनले आप्रवासीहरू फिर्ता लिन सम्बन्धित देशलाई २ अर्ब पाउन्ड उपलब्ध गराउने, त्यसमा सहयोग नगर्ने देशहरूमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । फराजको रिफर्म पार्टीले आप्रवासीलाई हरेक ५ वर्षमा भिसा नवीकरण गर्नुपर्ने तथा ‘आईएलआर’ हटाउने प्रस्ताव अघि सारेको थियो । बेलायतमा स्थायी रूपमा बसोबास गर्ने आप्रवासीहरूको मुख्य रुट खारेज गर्ने वाचा फराजको चुनाव अघि वाचा थियो ।
सन् २०१८ मा उदाएको रिफर्मले आप्रवासीहरूका लागि ल्याएको नीतिकै कारण अहिले ठूलो पार्टी बनेको कतिपयको विश्लेषण छ । २०२४ को आम चुनावमा यो पार्टीले ५ सिट जितेको थियो । २०२६ को स्थानीय निर्वाचनमा ऐतिहासिक सफलता पाउँदै ३८४ स्थानीय काउन्सिल सिट जितेर आफ्नो उदयलाई प्रमाणित गरेको छ ।