
युएई : संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा सम्पन्न एक नेपाली जोडीको विवाह समारोहमा स्थानीय अरबिकहरूले हिन्दू धर्मको प्रशंसा गरेका छन् ।
कुनै समय मुस्लिम धर्मावलम्बीहरूको बाहुल्यता रहेको यस देशमा हिन्दू धर्मको प्रचार–प्रसार, पूजा–पाठ तथा हिन्दू पहिचान झल्किने धार्मिक पहिरन लगाउनसमेत प्रतिबन्धजस्तै अवस्था थियो ।
तर हाल परिस्थिति केही फेरिएको छ । करिब ६ लाख नेपालीहरूको कर्मभूमि रहेको युएईमा नेपालीहरूको निष्ठा र इमान्दारिताको प्रभावका कारण आज नेपाली जोडीले आफ्नो संस्कृति झल्काउँदै अबुधाबीको एक पाँचतारे होटलमा खुलेआम विवाह सम्पन्न गरी स्थानीय अरबिकहरूलाई समेत निमन्त्रणा दिई धर्म र संस्कृतिको महत्व प्रस्तुत गर्न सफल भएका छन् ।
उक्त विवाह समारोहमा सहभागी स्थानीय अरबहरूले हिन्दू धर्म के हो ? हिन्दू धर्ममा मूर्ति पूजा किन गरिन्छ ? भन्ने विषयमा चासो व्यक्त गरेका थिए ।
समारोहमा फरक परिवेशसमेत देख्न सकिन्थ्यो । मुस्लिम समुदायको बाहुल्यता भएको देशमा नेपाली जोडीको विवाह गराउँदै स्थानीय अरबिकहरूलाई हिन्दू धर्मका रीतिरिवाजबारे जानकारी गराइएको थियो । सो अवसरमा भोले बाबा ज्योतिष सेवा केन्द्र, युएईका सञ्चालक बालव्यास श्रावण न्यौपानेले जानकारी दिएका थिए ।
न्यौपानेका अनुसार संसारमा विभिन्न मार्गहरू हुन सक्छन्, तर सबैको अन्तिम गन्तव्य सत्य, शान्ति र मानवता नै हो । उनले आपसी सद्भाव र सहिष्णुता अपनाउँदै मानवताको सेवामा लाग्न सम्पूर्ण नेपालीहरूलाई आग्रह गरेका छन् ।