२०८३ मंसिर १२ गते शनिवार / Nov 28 , 2026 , Saturday
२०८३ मंसिर १२ गते शनिवार

मःमको विश्वयात्रा

Nada
भावना पाठक
२०८३ मंसिर १२ गते ०६:१०
Shares
मःमको विश्वयात्रा

काठमाडौं : कुनै समय काठमाडौंका केही निश्चित गल्ली र सडक किनारमा सीमित मःम अहिले नेपालको खानपान संस्कृतिको प्रमुख हिस्सा बनेको छ । सामान्य खाजा पसलदेखि आधुनिक रेस्टुरेन्ट र पाँचतारे होटलसम्म मःमलाई परिकार सूचीमा समावेश गरिँदै आएको पाइन्छ ।

नेपालमा मात्र होइन, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, भारत र युरोपका विभिन्न सहरमा पनि मःम नेपाली खाना तथा खाजाको परिचय बोकेर पुगिरहेको छ । अहिले नेपाली समाजको दैनिक खानपानमा सहजै स्विकारिएको मःम कुनै समय सीमित समुदाय र निश्चित वर्गमा मात्र प्रचलित थियो ।

नेपालमा मःम कसरी भित्रियो र आमनेपालीको लोकप्रिय परिकार कसरी बन्यो ? यसको उत्तर खोज्न र इतिहास बुझ्न नेपालको हिमालयपार व्यापारिक सम्बन्धसम्म पुग्नुपर्छ । विशेषगरी काठमाडौंका नेवार व्यापारी र तिब्बतको ल्हासाबीच शताब्दीयौंदेखि कायम रहेको व्यापारिक सम्बन्धले मःमलाई नेपाल भित्र्याउन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । लेखक तथा पत्रकार स्वर्गीय कमल तुलाधरले सन् २००४ मा प्रकाशित गरेको ‘काराभान टु ल्हासा’ पुस्तकमा काठमाडौंका नेवारहरू व्यापारका सिलसिलामा तिब्बत पुगेको र फर्किंदा त्यहाँका केही सांस्कृतिक पक्ष पनि लिएर आएको उल्लेख गरेका छन् । त्यसमध्ये मःम संस्कृति पनि एक भएको पुस्तकबाट थाहा पाउन सकिन्छ ।

‘काराभान टु ल्हासा’ पुस्तकका अनुसार, काठमाडौं उपत्यकाका व्यापारीहरू सामान किनबेचका लागि तिब्बत आवतजावत गर्थे । उनीहरूले ल्हासामा व्यापारिक कोठी सञ्चालन गरेका थिए । त्यहाँ लामो समय बस्ने क्रममा स्थानीय खानपान र जीवनशैलीसँग उनीहरूको सम्पर्क बढ्यो । यही क्रममा तिब्बती परिकार बनाउने सीप पनि उनीहरूले सिकेका थिए । 

इतिहास र सम्पदाका क्षेत्रमा निरन्तर खोज तथा अनुसन्धान गर्दै आएका अभियन्ता सुनील उलक तिब्बती मूलका महिलाहरू विवाह गरेर नेपाल प्रवेश गरेसँगै मःमको प्रयोग हुन थालेको बताउँछन् । ‘बिस्तारै काठमाडौं उपत्यकामा बुहारीका रूपमा तिब्बती महिलाहरू भित्रिए । उनीहरूसँगै भोटको मोहमो (तिब्बती लवजमा) केही घरमा पुग्यो,’ उनी भन्छन्, ‘ठुलो आकारको मोहमो काठमाडौंमा मोमो भयो । नेवारहरू जेमा पनि पछाडि ‘चा’ जोड्ने भएकाले मोमो पनि मोमोचा (मःमचा) भयो ।’

काठमाडौं उपत्यकाका नेवारहरू तिब्बत आवतजावतका क्रममा मःमसँग परिचित भए पनि त्यो नेपालमा नभित्रिएको उनको बुझाइ छ । ‘काठमाडौंका नेवार व्यापारीहरूको जिब्रोमा मोहमोको स्वाद त परेको थियो, तर काठमाडौं भने भित्रिएको थिएन’, उनले भने । उनका अनुसार व्यापारिक सम्बन्धभन्दा पनि वैवाहिक सम्बन्धका माध्यमबाट मःम नेपालमा विस्तार भएको हो ।

काठमाडौं उपत्यकामा व्यावसायिक रूपमा मःमको व्यापार कहिलेदेखि सुरु भयो भन्ने यकिन तथ्य नभेटिने उनी बताउँछन् । उनका अनुसार रञ्जना सिनेमा हलको कम्पाउन्डमा २०२१ सालतिर रामकृष्ण श्रेष्ठ र चेतनारायण मानन्धरले मिलेर आरसी (रामकृष्ण–चेतनारायण) मःम पसल खोलेका थिए । यसले काठमाडौंमा मःमलाई घरभित्रबाट सडकमा ल्याउन मद्दत गरेको उनको भनाइ छ ।

तिब्बतमा प्रचलित मासु भरिएको पिठोको डल्लोबाट बनेको परिकार नेपाली भान्सामा प्रवेश गर्दा त्यसको स्वरूप र स्वाद परिवर्तन हुँदै गयो । मःमको उत्पत्तिको सम्बन्ध चिनियाँ डम्प्लिङ परम्परासँग पनि जोडिन्छ । डम्प्लिङ भनेको पिठोको पातलो खोलभित्र मासु, तरकारी वा अन्य सामग्रीको मिश्रण राखेर बनाइने खाद्य परिकार हो । नेपालमा प्रचलित मःम पनि त्यही परम्पराको एउटा स्वरूप हो ।

नेपालमा आएपछि स्थानीय खानपानअनुसार यसको स्वरूप परिवर्तन भयो । तिब्बतमा याक वा भेडाको मासु प्रयोग हुने मःममा काठमाडौंमा भैंसीको मासु प्रयोग हुन थाल्यो । स्थानीय मसला थपिए । मासुको स्वादअनुसार मसलाको प्रयोग बढ्यो । अमिलो, पिरो र स्वादिलो अचार लोकप्रिय भयो । यसरी मःमले आफ्नो मूल स्वरूप कायम राख्दै स्थानीय स्वाद र सामग्रीअनुसार नयाँ पहिचान बनायो ।

मःम नेपालमा तिब्बतबाट आएको भनिए पनि अहिले यसले यहाँको रैथाने खाद्य परिकारको दर्जा पाइसकेको छ । लेखक तथा पत्रकार केदार शर्मा मःमलाई नेपालको पहिचानसँग जोडेर हेर्नुपर्ने बताउँछन् । ‘नेपालमा मःमको उत्पत्तिलाई तिब्बतसँग जोडेर हेरिन्छ,’ उनी भन्छन्, ‘विदेशमा मःम नेपाली परिकारका रूपमा चर्चित भइरहेको छ । छिमेकी देश भारतमा मःमलाई मोमोज भनिन्छ । उनीहरूका लागि त्यो नेपाली परिकार हो ।’

पछिल्लो समय मःम, चाउमिन, बर्गरजस्ता परिकारले नेपालको मौलिक परिकार ओझेलमा परेको टिप्पणी हुँदै आइरहेको छ । तर मःमले नेपालको भातभान्सालाई विस्थापित नगरेको उनी बताउँछन् । मःमले नेपालको रैथाने परिकारलाई विस्थापित गर्दै लगेको भन्दै कतिपयले असन्तुष्टि जनाउने गरेको विषयमा टिप्पणी गर्दै उनी भन्छन्, ‘मःमको आफ्नै पहिचान छ, यसले कसैको केही बिगारेको छैन ।’

‘समयसँगै नेपालीहरूको खानपान संस्कृति बदलिएको छ । परिवार र साथीभाइसँग होटल तथा रेस्टुरेन्टमा गएर एक छाक खाउँभन्दा अधिकांश नेपालीको पहिलो रोजाइमा मःम पर्छ । यो त यसको विशेषता हो नि !’ उनले भने ।

मःम नेपालमा ठ्याक्कै कुन वर्षदेखि बन्न थाल्यो भन्ने विषयमा पर्याप्त अभिलेख उपलब्ध छैन । तर काठमाडौंमा यसको सार्वजनिक बिक्री सन् १९४० को दशकतिर सुरु भएको ऐतिहासिक स्मरणहरूमा उल्लेख पाइन्छ । लेखक तुलाधरकै ‘काराभान टु ल्हासा’ पुस्तकलाई आधार मान्ने हो भने सन् १९४२ तिर काठमाडौंको सडक किनारमा पहिलोपटक मःम पसल देखेको प्रसंग उल्लेख छ ।

त्यतिबेला काठमाडौंमा बाहिर बसेर खाने चलन अहिलेको जस्तो विकसित भइसकेको थिएन । सीमित चिया पसल, मिठाई पसल र स्थानीय खाजाघर सञ्चालनमा थिए । मःम पनि सुरुमा सडक किनार र निश्चित व्यापारिक क्षेत्रका पसलमा बिक्री हुन थाल्यो । असन, इन्द्रचोक, वसन्तपुर र न्युरोडआसपासका क्षेत्रमा मःमका ग्राहक विस्तार हुँदै गए । चलचित्र हेर्न जाने दर्शक र बजार क्षेत्रमा किनमेलका लागि आउने मानिस यसको नियमित ग्राहक बन्न थाले । 

सानो चुलोमा पकाएर पात वा सामान्य प्लेटमा बिक्री गरिने मःम बिस्तारै काठमाडौंको सहरी खाजाको परिचित परिकार बन्यो । सडकमा उभिएर वा सामान्य ठाउँमा बसेर खाने मःम रेस्टुरेन्टको परिकार सूचीमा प्रवेश गरेपछि यसको उपभोक्ता वर्ग पनि विस्तार हुन थाल्यो । काठमाडौंका विभिन्न चोक, बजार, बसपार्क र आवासीय क्षेत्रमा मःम पसल खुल्न थाले । त्यसपछि यसको विस्तार ललितपुर र भक्तपुर हुँदै देशका अन्य सहरसम्म पुग्यो ।

सुरुका दिनमा मःममा भैंसीको मासु प्रयोग हुने भएकाले यसको उपभोग निश्चित समुदायमा बढी सीमित थियो । मासु नखाने वा भैंसीको मासु खान सामाजिक तथा धार्मिक कारणले हिचकिचाउने समुदायका मानिसका लागि मःम सहज विकल्प थिएन ।

समयक्रमसँगै मःमलाई चिकेन, भेज र मटनजस्ता विकल्पमा विस्तार गर्दै लगियो । भैंसीको मासु नखाने मानिसले कुखुराको मासु वा तरकारीबाट बनेको मःम खान पाए । व्यवस्थित रेस्टुरेन्टमा यसको बिक्री हुन थालेपछि मध्यम वर्ग र आर्थिक रूपमा सम्पन्न ग्राहकसमेत आकर्षित भए ।

स्वाद, स्वास्थ्य र खर्चका दृष्टिले मःम आमनेपालीको पहुँचमा रहेको लेखक शर्मा बताउँछन् । ‘सयदेखि एक सय पचास रुपैयाँभित्र टन्न पेट भरिने मःम खान पाइन्छ । स्टिम गरिएको मःम त स्वास्थ्यका दृष्टिले पनि राम्रो मानिन्छ,’ उनी भन्छन्, ‘म त जसले मःम खाने संस्कृतिको निर्माण र विस्तार गर्‍यो, उसलाई धन्यवाद भन्न चाहन्छु ।’ मःमले स्वाद र सन्तुष्टि दुवै दिने उनको बुझाइ छ ।

मूल्यका हिसाबले मात्र नभई उपलब्धताका दृष्टिले पनि मःम सबैको पहुँचमा छ । काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, भरतपुर र धरानजस्ता सहरमा गल्लीपिच्छे मःम पाइने होटल तथा रेस्टुरेन्ट छन् । ठुला सहर मात्र हैन साना तथा मझौला सहर र त्यहाँबाट पनि गाउँघरसम्म मःम संस्कृति फैलिसकेको छ । मानिसले जुन कुरा सजिलै प्राप्त गर्न सक्छ त्यसमा स्वभावतः आकर्षण हुने लेखक शर्मा बताउँछन् ।  

मःम संस्कृतिको तीव्र विस्तार

मःमको लोकप्रियता बढ्दै जाँदा सामान्य खाजाघरदेखि स्तरीय रेस्टुरेन्टसम्म यसको माग बढ्न थाल्यो । नाङ्लो, होटल अन्नपूर्ण, द्वारिकाज, र्‍याडिसन, सांग्रिला र हायातजस्ता होटल तथा रेस्टुरेन्टमा समेत मःमले स्थान पायो ।

काठमाडौं उपत्यकामा मात्र सीमित रहेको मःम अहिले नेपालका अन्य सहरसँगै भारतका विभिन्न क्षेत्रमा पनि पुगेको छ । नेपाल र तिब्बतबीचको व्यापारिक सम्बन्धसँगै दार्जिलिङ, कालिम्पोङ र गान्तोकजस्ता भारतीय सहरमा मःम पहिले नै परिचित भइसकेको थियो । पछि तिब्बती शरणार्थीहरूको आगमनले भारतका अन्य क्षेत्रमा पनि यसको विस्तारमा योगदान पुर्‍यायो । भारतमा नेपाली समुदायको बसोबास र व्यवसाय विस्तार हुँदै जाँदा मःमको बजार पनि बढ्यो । दिल्ली, मुम्बई, कोलकाता र बेंग्लुरुजस्ता सहरमा नेपाली स्वादका मःम पसल खुल्न थाले ।

नेपालबाट रोजगारी, अध्ययन र व्यवसायका लागि विदेश जाने मानिसको संख्या बढेसँगै मःम पनि उनीहरूसँगै नयाँ देशमा पुग्यो । विदेशमा नेपाली समुदायले सञ्चालन गरेका रेस्टुरेन्ट तथा खाजा पसलमा मःम प्रमुख परिकारका रूपमा समावेश हुन थाल्यो । सुरुमा नेपालीहरूले आफ्नो स्वाद र खानपानको आवश्यकताका लागि मःम बनाउँथे । पछि स्थानीय ग्राहकले पनि यसको स्वाद रुचाउन थालेपछि व्यवसाय विस्तार भयो । अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, जर्मनी, फ्रान्स, इटाली, जापान, दक्षिण कोरिया, हङकङ र खाडी मुलुकमा समेत मःमको उपस्थिति बढिरहेको छ ।

स्टिम, फ्राइड, कोथे, झोल र चिल्ली मःमजस्ता परिकारले उपभोक्तालाई फरक अनुभव दिने गरेको लेखक शर्मा बताउँछन् । ‘पहिले–पहिले स्टिम मःम मात्र पाइन्थ्यो, अहिले यसका पचासभन्दा बढी प्रकार बन्न थालेका छन्,’ उनले भने ।

ल्हासासँगको व्यापारिक र वैवाहिक सम्बन्धबाट काठमाडौं आइपुगेको मःमले स्थानीय स्वादअनुसार आफ्नो स्वरूप परिवर्तन गर्‍यो । सडक किनारमा बिक्री हुन थाल्यो, रेस्टुरेन्टको परिकार सूचीमा प्रवेश गर्‍यो र त्यसपछि अन्तर्राष्ट्रिय बजारसम्म पुग्यो । आज मःम नेपालको पहिचान बोकेको खाद्य परिकार बनेको छ ।

laxmi recruitement

सम्बन्धित खबर