२०८३ मंसिर १२ गते शनिवार / Nov 28 , 2026 , Saturday
२०८३ मंसिर १२ गते शनिवार

सुकुम्वासीका ७ महिना : जग्गाको सपना, विकल्पबिनै सडकमा 

Nada
सपना बोहरा
२०८३ मंसिर १२ गते ०६:२५
Shares
सुकुम्वासीका ७ महिना : जग्गाको सपना, विकल्पबिनै सडकमा 

काठमाडौं : सुकुम्वासी झवरलाल उराव ‘सुमन’ काठमाडौं महानगरपालिका वडा नं. ११ का मतदाता हुन् । उनी ३० वर्षदेखि थापाथलीस्थित बागमती नदीकिनारमा बस्दै आएका थिए । सरकारले उनलाई लालपुर्जासहितको जग्गा व्यवस्थापन गर्ने आश्वासन दिएर बस्ती खाली गर्न भनेको थियो । सुकुम्वासी उराव भन्छन्, ‘सात महिनादेखि जग्गाको आशा देखाएर अहिले सरकारले गाउँ जा भन्छ, के मेरो गाउँ त्यही भोट होलेको क्षेत्र होइन ?’

विगतका निर्वाचनजस्तै योपटकको निर्वाचनमा पनि उनले लालपुर्जा पाउने आसले भोट हाले । ‘म घण्टीमा भोट हालेको मान्छे हुँ, सरकारले व्यवस्थापन गर्ला भनेर हामीले पनि बस्ती खाली गर्न सहयोग गर्‍यौं,’ उनले भने, ‘सरकारको यो लज्जास्पद व्यवहारलाई हामीले वाह भनिदिनुपर्ने ?’ 

७ महिनासम्म होल्डिङ सेन्टरमा राखेर सरकारले त्यो पनि खाली गर्न निर्देशन दिएको छ । शुक्रबारदेखि होल्डिङ सेन्टरमा गाँसबास बन्द गरिएको छ । व्यवस्थापनका नाममा मासिक २५ हजार रुपैयाँ दिएर सरकारले भ्रष्टाचार गरेको उनको आरोप छ । ‘हामी सुकुम्वासीलाई किन त्यति खर्च गर्नुपर्‍यो ? हामीलाई जग्गा चाहिएको हो,’ उनले भने, ‘जग्गाको व्यवस्था नगरेर होल्डिङ सेन्टरबाट पनि सरकारले निकाल्न खोज्छ भने हामी पुरानै बस्तीमा फर्किन्छौं ।’

बस्दै आएको ठाउँबाट उठिबास लगाएर सरकारले कर्मचारी पठाउने, थर्काउने, त्रसित बनाउने गरेको उनले बताए । ‘प्रहरी, सेना लगाएर हामीलाई उठिबास लगायो,’ उनले भने, ‘हाम्रो दुःख पसिनाले जोडेको घर भत्काएर अहिले के पायो ?’ थापाथलीका सुकुम्वासीको नाममा जग्गा नभएको बताउँदै उनले तीन पुस्ता होइन, पाँच पुस्ता हेर्न सरकारलाई आग्रह गरे । 

सरकारले जिन्दगी भरको कमाइले जोडेको घर भत्काएर होल्डिङ सेन्टरमा कैदीबन्दीको जस्तो व्यवहार गरेको सुकुम्वासी रोहित तामाङ बताउँछन् । उनले भने, ‘जग्गा पहिचान हुँदै छ भन्दै हामीलाई सरकारले ७ महिनासम्म झुक्यायो ।’  

सरकारले घरभाडाको रकमको व्यवस्था गरे पनि उनी कोठा खोज्न जान सकेनन् । उनी भन्छन्, ‘नजिकमा कोठा पाइएन, अन्यत्र कोठा खोज्न जान सकिनँ । यो जाडोको मौसममा म कहाँ जाने ?’ मजदुर पेसा गर्दै आएका तामाङले होल्डिङ सेन्टरआसपास काम पाएनन् । ‘टाढा काम गर्न जान–आउन दुई सय रुपैयाँ भाडा लाग्छ,’ उनले भने, ‘काम गर्न जानका लागि पनि सहज छैन ।’ 

चाउचाउ–चिउराले भोक मेट्दै 

बोडेस्थित कृषि विकास बैंकको भवनमा बसिरहेकाहरूलाई ठाउँ खाली गर्न उर्दी जारी गरेपछि सुकुम्वासीहरू भयभीत र आक्रोशित बनेका छन् । 

उनीहरूले शुक्रबार रित्ता थाल ठटाएर प्रदर्शन गरेका छन् । उनीहरूलाई शुक्रबार दिउँसो २ बजेसम्म ठाउँ खाली गर्न भक्तपुर प्रशासनले सूचना टाँसेपछि सोही सूचनाका आधारमा बिहीबार सुरक्षाकर्मीले माइकिङमार्फत हट्न निर्देशन दिएको थियो । 

सरकारले होल्डिङ सेन्टर छाड्न उर्दी जारी गरेपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्वासीहरूले शुक्रबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । बिहानैदेखि थाल ठटाएर सरकारको विरोध सुरु गरेका सुकुम्वासी सपरिवार वृद्धवृद्धा र बालबालिकासहित नै धर्नामा छन् । 

सरकारले उनीहरूलाई सोही दिन दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर छाड्न अल्टिमेटम दिएको थियो । त्यसपछि उनीहरूलाई खानासमेत बन्द गरिएको छ । खाना नै बन्द गरिदिएपछि उनीहरू दिउँसो चाउचाउ–चिउरा खाएर भोक मेटिरहेका भेटिए । बालबालिका र वृद्धवृद्धासमेत सडकमै बसेर चाउचाउ र चिउरा मिसाएर खाँदै भोक मेटाइरहेका छन् ।

बोडेमा १९ परिवारका ५९ जना बस्दै आएका छन् । सात महिनादेखि कृषि विकास बैंकको भवनमा बसोबास गर्दै आएका सुकुम्वासीलाई अकस्मात् ठाउँ खाली गर्न निर्देशन आएपछि उनीहरू सरकारी निर्णयको विरोधमा उत्रेका छन् ।

बोडेमा बसिरहेका १९ परिवारमा सात परिवार भूमिहीन नठहरिने जिल्ला प्रशासन कार्यालय भक्तपुरको दाबी छ । अन्य १२ परिवारलाई सम्बन्धित पालिकामा जग्गा उपलब्ध गराउने निस्सासमेत प्राप्त भएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको दाबी छ । ‘भूमि समस्या समाधान समितिले उक्त अभिलेख भेटेको र त्यसैको आधारमा ठाउँ खाली गर्न सूचना निकालिएको हो,’ उनले भने, ‘अन्य सुकुम्वासीलाई भने सम्बन्धित जिल्लामा जग्गाको निस्साको व्यवस्था गरेकाले गृहजिल्ला जान अनुरोध गरेका छौं ।’ 

सरकारले व्यवस्थापन गरिदिएको जग्गा निस्सा लिएर सम्बन्धित स्थानीय तहमा गएर समन्वयको भूमिका खेल्न उनले अनुरोध गरे । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सहरीकरणसँग जोडिएको सुकुम्वासी समस्या समाधानका लागि राज्यले सहरभित्रै सम्मानजनक आवासको व्यवस्था गर्नुपर्ने बताउँछन् । 

काठमाडौं उपत्यकाका विभिन्न बस्तीबाट विस्थापित सुकुम्वासी परिवारलाई वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टर छाड्न सरकारले निर्देशन दिएपछि भट्टराईले असन्तुष्टि जनाएका हुन् । भट्टराईले सुकुम्वासीको सम्बन्धमा फोहर फ्याँकेजस्तो तरिकारले सुकुम्वासीको समस्या समाधान नहुने टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘फोहर उठाएर फ्याँकेजस्तो तरिकाले यो आर्थिक–सामाजिक र मानवीय समस्या कहिल्यै हल हुनै सक्दैन ।’

बस्तीबाट हटाइएका वास्तविक सुकुम्वासीको स्थायी बसोबासबारे महिनौंसम्म टुंगो लाग्न नसक्नुलाई उनले विडम्बनापूर्ण अवस्थाका रूपमा चित्रण गरेका छन् । ग्रामीण अर्थतन्त्र र सहरी क्षेत्रमा आवासविहीन नागरिकको अवस्थाबीचको सम्बन्ध उल्लेख गर्दै भट्टराईले भनेका छन्, ‘स्मरण रहोस्, हाम्रोजस्तो अल्पविकसित देशमा ग्रामीण निर्वाहमुखी अर्थतन्त्र धराशायी भएर वैकल्पिक रोजगारीका निम्ति सहर पस्न बाध्य श्रमिकहरू नै मुख्य रूपमा सहरमा आवासविहीन अर्थात् सुकुम्वासी बन्दछन् ।’

सरसफाइ, घरेलु काम, हेरचाह तथा ढुवानीजस्ता अत्यावश्यक सेवा क्षेत्रमा श्रम उपलब्ध गराएर सुकुम्वासी नागरिकले सहरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उनको भनाइ छ । विश्वका विभिन्न मुलुक र सहरमा निश्चित ऐतिहासिक चरणमा देखिने यस्तो समस्यालाई आधुनिक राज्यले कानुनसम्मत र न्यायपूर्ण ढंगले सम्बोधन गर्नुपर्ने भट्टराईले बताएका छन् । 

सुकुम्वासी समस्यालाई सहरीकरणका क्रममा उत्पन्न हुने ऐतिहासिक प्रक्रियाका रूपमा बुझेर विपन्न नागरिकको सम्मानजनक आवास सुनिश्चित गर्दै दिगो समाधान खोज्नु नै संविधान र समावेशी लोकतन्त्रको मर्म भएको भट्टराईको धारणा छ । 

laxmi recruitement

सम्बन्धित खबर