२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

शितगंगा नगरपालिकाको नीति तथा कार्यक्रम : कृषि, पर्यटन र सुशासनमा जोड

Nada
सूर्यप्रसाद भुसाल
२०८३ जेठ ३ गते १६:३५
Shares
शितगंगा नगरपालिकाको नीति तथा कार्यक्रम : कृषि, पर्यटन र सुशासनमा जोड

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ का लागि १९औं बजेट अधिवेशन सुरु भएको छ । अधिवेशनमा नगर प्रमुख छविलाल पौडेलले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

ncell

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाका अनुसार प्रस्तुत नीति तथा कार्यक्रममा समग्र विकासलाई केन्द्रमा राख्दै कृषि आधुनिकीकरण, पशुपालन, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, आन्तरिक तथा धार्मिक पर्यटन प्रवर्द्धन, कर्मचारी क्षमता विकास, राजस्व संकलन र सुशासनलाई प्राथमिकता दिइएको छ । “भ्रष्टाचारमुक्त नगरपालिका” निर्माण गर्ने लक्ष्य पनि कार्यक्रममा समेटिएको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख पौडेलले चालु आर्थिक वर्षमा अघि सारिएका अधिकांश योजना कार्यान्वयनको चरणमा रहेको बताए । विगतका वर्षमा सुरु गरिएका गौरवका सडक योजना, ग्राभेल तथा कालोपत्रे, ढलान, विद्युत् आपूर्ति, सिँचाइ र खानेपानीका आयोजना अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

भौगोलिक रूपमा विकट क्षेत्रलाई प्राथमिकतामा राख्दै वडा कार्यालय, स्वास्थ्य संस्था र सार्वजनिक भवन निर्माण सम्पन्न भएको नगरपालिकाका प्रशासकीय अधिकृत नुमलाल खनाल ले बताए ।

नगरपालिकाले वडा नम्बर १ देखि १४ सम्मका विकट बस्तीमा “एकीकृत घुम्ती शिविर” मार्फत सेवा प्रवाह सुरु गरेको छ । कृषि तथा पशुपालन प्रवर्द्धन, निःशुल्क खोप, औषधि वितरण, अल्ट्रासाउन्ड सेवा, शिक्षा सुधार, ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन तथा सीप विकास तालिमलाई प्राथमिकताका साथ अघि बढाइने जनाइएको छ ।

कृषि उत्पादन वृद्धि गर्न नमुना कृषि फार्म स्थापना गरी कृषक पाठशालाका रूपमा विकास गरिएको छ । साथै, स्थानीय कच्चा पदार्थ प्रयोग गरी घरेलु हस्तकला उत्पादनमार्फत महिलालाई रोजगारी सिर्जना गरिएको दाबी नगर प्रमुखले गरेका छन् ।

आगामी वर्षका लागि कृषि उत्पादन वृद्धि मुख्य प्राथमिकतामा राखिएको छ । शीतभण्डार सञ्चालन, कृषि तथा पशु सेवा केन्द्रमार्फत प्रयोगशाला सेवा, उत्पादनमा अनुदान तथा पशुपालन प्रवर्द्धन कार्यक्रम अघि सारिएका छन् ।

नगरपालिकालाई दूध र मासुमा आत्मनिर्भर बनाउने लक्ष्यसहित निःशुल्क खोप तथा पशु उपचार शिविर सञ्चालन गरिनेछ । गोठ सुधार, नश्ल सुधार र भकारो सुधार कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रलाई संघ र प्रदेश सरकारसँग समन्वय गरी विकास गर्ने योजना अघि सारिएको छ । कक्षा १२ सम्मको निःशुल्क शिक्षालाई थप प्रभावकारी बनाउने, शिक्षा क्षेत्रमा बजेट वृद्धि गर्ने तथा बाँझो जमिन लिजमा लिएर खेती गर्ने कार्यक्रम पनि समेटिएको छ ।

पूर्ण खोप, सुरक्षित मातृत्व, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको घरमै स्वास्थ्य परीक्षण, निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिइनेछ । विकट बस्तीमा आधारभूत स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने योजना नगरपालिकाले अघि बढाएको छ ।

लिफ्ट खानेपानी योजनाको मोटर मर्मतमा ५० प्रतिशत र विद्युत् महसुलमा ७५ प्रतिशत अनुदानलाई निरन्तरता दिइनेछ । चार वटा गौरवका आयोजनालाई प्राथमिकता दिँदै थप बजेटका लागि संघ र प्रदेश सरकारसँग पहल गरिने जनाइएको छ ।

नगरपालिकाले पहिलो पटक कर्मचारी कार्यसम्पादन मूल्यांकनका आधारमा दण्ड–पुरस्कार प्रणाली लागू गर्ने भएको छ । जनगुनासो छिटो समाधान गर्न द्रुत गुनासो सुनुवाइ प्रणाली स्थापना गरिने प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिए ।

चालु आर्थिक वर्षमा “खरको छानोमुक्त कार्यक्रम” अन्तर्गत १७९ घरधुरीलाई प्रतिघर ४० हजार रुपैयाँका दरले अनुदान वितरण गरिएको विवरण पनि सभामा प्रस्तुत गरिएको थियो ।

यसैबीच, उपप्रमुख गीता भाट ले वर्षाका कारण अवरुद्ध सडक मर्मत तथा पहिरो हटाउन गरिएको खर्च भुक्तानीसम्बन्धी प्रस्ताव सभामा पेस गरेकी थिइन् ।

सम्बन्धित खबर