२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नागरिकता लिनेभन्दा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउने उच्च

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन २३ गते २०:४२
नागरिकता लिनेभन्दा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउने उच्च

अर्घाखाँची : अर्घाखाँचीमा राष्ट्रिय परिचय पत्र र राहदानी बनाउनेको संख्या उच्च रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार १ लाख २३ हजार ४ सय ९५ ले परिचयपत्र र राहदानी लिएका छन् । 

प्रशासन कार्यालयबाट झण्डै ४७ हजार, नगरपालिका, गाउँपालिकाको समन्वयमा वडास्तरको घुम्ती शिविरबाट झण्डै ६७ हजार राष्ट्रिय परिचय पत्रको विवरण संकलन गरिएको प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले जानकारी दिए ।

अर्घाखाँचीमा राष्ट्रिय परिचय पत्र बनेकामध्ये हालसम्म २९ हजार ५ सय ४८ कार्डहरु  जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा आएको प्रशासकीय अधिकृत तथा सूचना अधिकारी नुमलाल पन्थीले बताए ।

त्यसमध्ये विभिन्न व्यक्तिहरुलाई वितरण गरेको संख्या ५ सय ३० रहेको अधिकृत पन्थीको भनाइ छ । घुम्ती शिविरमार्फत वडास्तरको अभियानबाट बनेका परिचय पत्रमा विभिन्न समस्या देखा परेको सेवाग्राहीले गुनासो गर्ने गरेका छन् ।

राष्ट्रिय परिचय पत्र बनेपछि केही समयपछि सम्बन्धित व्यक्तिको मोबाइलमा कोड नम्बर आउँछ। तर उक्त कोड नम्बरको बारेमा आफुहरुलाई कुनै जानकारी नआएको सेवाग्राहीको गुनासो छ ।

परिचय पत्र बनेपछि अनिवार्य त्यो कोड नम्बरसहित आउनुपर्ने र यो समस्या वडास्तरमा अभियानको क्रममा धेरै रहेको सूचना अधिकारी पन्थीले बताए । उनले समस्या समाधान प्रशासन कार्यालयले गर्ने भएपनि समय बढी लाग्न सक्ने बताए । 

यस्तै प्रशासन कार्यालयमा अहिले नागरिकता भन्दा राहदानी बनाउनेको संख्या उच्च देखिएको छ । प्रशासन कार्यालयबाट गत आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार ६ जनाले नागरिकताको प्रमाणपत्र लिँदा ७ हजार ३६३ जनाले राहदानी बनाएको सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए ।

गत आर्थिक वर्षमा नेपाली नागरिकताको प्रमाणपत्र लिनेको तुलनामा राहदानी बनाउनेको संख्या ३ सय ३० ले बढी देखिएको उपाध्याले बताए । 

एक वर्षको अवधिमा १० हजार ८ सय ६१ वटा नागरिकताको प्रतिलिपि दिइएकोमा १८ वटा गैरआवासीय नागरिकता जारी गरिएकोमा ६ वटा वैवाहिक अंगिकृत नयाँ नागरिकता दिएको प्रशासकीय अधिकृत दुर्गा न्यौपानेले बताइन् । 

अर्घाखाँचीमा अहिलेसम्म वैदेशिक रोजगारीमा ठगीका १० वटा उजुरी परेका छन् । जसमध्ये चार वटा उजुरी छिनोफानो भएका छन् भने छ वटा प्रक्रियामा रहेकोले छिटो समस्या समाधान हुने छन् । ठगी गर्नेबाट १० लाख ४६ हजार रुपैयाँ पीडितलाई फिर्ता गरिएको प्रशासकीय अधिकृत न्यौपानेको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise