
अर्घाखाँची : सन्धिखर्क नगरपालिकाभित्र रहेका करिब १५ सय कच्ची घरको बीमा गर्ने तयारी नगरपालिकाले गरेको छ । नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले आगामी आर्थिक वर्षभित्र जोखिम न्यूनीकरणका लागि घर बीमा कार्यक्रम अघि बढाइने जानकारी दिएका छन् ।
सन्धिखर्क नगरपालिकामा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको सहकार्यमा आयोजित बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा किसानहरूले बीमा कम्पनीप्रति असन्तुष्टि जनाउँदै दाबी भुक्तानी प्रक्रियालाई सरल बनाउन माग गरेका थिए ।
कार्यक्रममा कृषि, पशुपन्छी, वैदेशिक रोजगार, जीवन तथा तेस्रो पक्ष बीमासम्बन्धी समस्या र व्यवहारिक कठिनाइबारे सहभागीहरूले खुलेर गुनासो राखेका थिए । किसानहरूले बीमा गर्न सजिलो भए पनि क्षति भएपछि दाबी भुक्तानीमा झन्झट हुने, पशुपन्छी हराएमा बीमाले कभर नगर्ने, कृषि तथा जडीबुटी बीमामा कम्पनीहरूको अनिच्छा, तथा कोरोना बीमाको रकम अझै नपाएको जस्ता समस्या दोहोर्याएका थिए ।
वैदेशिक रोजगार बीमामा मृत्यु दाबी भुक्तानी प्रक्रियामा समेत पीडित परिवारले पर्याप्त सहयोग नपाएको गुनासोसमेत कार्यक्रममा उठाइएको थियो । सहभागीहरूले बीमालाई नागरिकमैत्री बनाउन दाबी प्रक्रिया छिटो र सहज बनाउनुपर्ने माग गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले नगरपालिकाले बीमा क्षेत्रसँग सहकार्य गरेर नागरिकको जोखिम न्यूनीकरणमा काम गरिरहेको बताए। उनले गत वर्ष नगरभित्र करिब १५ सय कच्ची घरको बीमा गर्न बजेट विनियोजन गरिए पनि कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै अब सबै नगरवासीलाई बीमाको पहुँचमा ल्याउने लक्ष्य रहेको जानकारी दिए ।
नगरप्रमुख श्रेष्ठले बीमा कम्पनीहरूले नागरिकको विश्वास जित्ने गरी सरल र पारदर्शी सेवा दिनुपर्नेमा जोड दिए । उनले न्यून आय भएका नागरिक र जोखिमयुक्त क्षेत्रलाई प्राथमिकतामा राखेर नगरपालिका बीमा नीति तयार गरिने र आगामी बजेटमा बीमालाई विशेष प्राथमिकता दिइने बताए ।
नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय प्रमुख जमुना अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल, प्रवक्ता मोतिजंग रायमाझी, वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य तथा विभिन्न बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।