
अर्घाखाँची : सन्धिखर्क नगरपालिकाले कर प्रशासनसम्बन्धी सेवा नागरिकलाई घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित करदाता सेवा शाखाको औपचारिक उद्घाटन गरेको छ । ‘घरदैलोको सरकार’ अवधारणाअनुसार सेवा विस्तार गर्दै नागरिकलाई सहज, छिटो र प्रभावकारी कर सेवा उपलब्ध गराउने उद्देश्यसहित शाखा सञ्चालनमा ल्याइएको हो ।
नेपाल सरकारको निर्णयअनुसार देशभरका करदाता सेवा कार्यालयहरू खारेज भइ ती कार्यालयबाट प्रवाह हुँदै आएका सेवा सम्बन्धित स्थानीय तहबाटै सञ्चालन गर्ने व्यवस्था भएअनुसार सेवा कार्यान्वयन गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले जानकारी दिए । उनका अनुसार ‘करदाता सेवा कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरू स्थानीय तहबाट प्रवाह गर्ने सम्बन्धी कार्यविधि, २०८२’ बमोजिम नगरपालिका ले औपचारिक रूपमा करदाता सेवा शाखा सञ्चालनमा ल्याएको हो ।
उद्घाटन समारोहकै अवसरमा कस्तुरी एग्रो रिसोर्ट एण्ड इभेन्ट्स प्रा.लि.का सञ्चालक राजन आचार्यलाई स्थायी लेखा नम्बर (प्यान) दर्ता प्रमाणपत्र हस्तान्तरण गर्दै सेवा औपचारिक रूपमा सुरु गरिएको घोषणा गरिएको थियो । नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ र उपप्रमुख मिश्रा आचार्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
उद्घाटन कार्यक्रममा आन्तरिक राजस्व कार्यालय कृष्णनगरका कर अधिकृत, उद्योग वाणिज्य संघका प्रतिनिधि, चेम्बर अफ कमर्सका पदाधिकारी तथा पत्रकार महासंघका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । उपस्थित सरोकारवालाहरूले स्थानीय तहबाट कर सेवा सुरु भएकोमा नगरपालिकालाई सफलताको शुभकामना दिएका थिए ।
नगर प्रमुख श्रेष्ठले कर सेवा सञ्चालनपछि नागरिकले अब सामान्य करसम्बन्धी सेवा लिन टाढा धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए । उनले भने, ‘स्थानीय सरकारको मुख्य दायित्व नागरिकलाई सहज सेवा उपलब्ध गराउनु हो, त्यसैअनुसार हामीले कर सेवा नगरपालिकाबाटै सुरु गरेका छौं । आगामी दिनमा अझ प्रविधिमैत्री, छिटो र प्रभावकारी सेवा विस्तार गरिनेछ ।’ उनले स्थानीय सरकारमार्फत नागरिकलाई ‘सिंहदरबारको अनुभूति’ दिलाउने लक्ष्य रहेको पनि उल्लेख गरे ।
आन्तरिक राजस्व कार्यालयका कर अधिकृतले कर सेवा अब प्रविधिमार्फत अझ सरल, पारदर्शी र प्रभावकारी बनाइने बताए। प्रमुख प्रशासकीय अधिकृत खनालले स्थानीय तहबाट कर सेवा सुरु भएसँगै नगरपालिकाप्रति नागरिकको विश्वास अझ मजबुत बन्ने विश्वास व्यक्त गरे ।
यसअघि झण्डै पाँच वर्षसम्म सन्धिखर्कबासीले सदरमुकामस्थित करदाता सेवा कार्यालयबाट सेवा लिँदै आएका थिए । तर पछिल्ला सरकारी निर्णयपछि सेवा बन्द भएसँगै सेवाग्राहीलाई कपिलवस्तुको कृष्णनगरसम्म पुग्नुपर्ने बाध्यता रहेको थियो। स्थानीय तहबाटै सेवा सुरु भएपछि उक्त समस्या समाधान भएको स्थानीय व्यवसायीहरूले बताएका छन् ।
हाल सन्धिखर्क नगरपालिकामा चार हजारभन्दा बढी व्यवसायी करदाता सेवामा आबद्ध रहेका छन् । उद्योग वाणिज्य संघका अध्यक्षले कर चुक्ता प्रमाणपत्र लिन टाढा जानुपर्ने बाध्यता अन्त्य भएकोमा स्थानीय सरकारलाई धन्यवाद दिएका छन् ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रतिनिधि, नगरपालिका प्रशासकीय अधिकृत, प्रवक्ता, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, कर्मचारी, पत्रकार तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन सूचना प्रविधि अधिकृत विशाल महतले गरेका थिए ।