२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

नेपालसहित ४० देशका नागरिकलाई श्रीलंकामा ३० दिने नि:शुल्क पर्यटक भिसा सुविधा

Nada
२०८३ जेठ १३ गते १४:५९
Shares
नेपालसहित ४० देशका नागरिकलाई श्रीलंकामा ३० दिने नि:शुल्क पर्यटक भिसा सुविधा

काठमाडौँ : श्रीलंकाले नेपालसहित ४० देशका नागरिकका लागि ३० दिन अवधिको नि:शुल्क पर्यटक भिसा सुविधा लागू गरेको छ। श्रीलंकाको अध्यागमन निकायले जारी गरेको नयाँ व्यवस्थाअनुसार यो प्रावधान सन् २०२६ मे २५ देखि कार्यान्वयनमा आएको हो ।

ncell

काठमाडौँस्थित श्रीलंकाली दूतावासले सार्वजनिक गरेको जानकारी अनुसार नयाँ नियम लागू भएसँगै नेपाली नागरिकले श्रीलंका भ्रमणका लागि अब भिसा शुल्क तिर्नु नपर्ने भएको छ । यद्यपि यात्रा अघि अनिवार्य रूपमा अनलाइनमार्फत ‘इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन’ (ईटीए) स्वीकृति लिनुपर्ने व्यवस्था कायम रहनेछ ।

दूतावासका अनुसार भिसा नि:शुल्क भए पनि श्रीलंका प्रवेश गर्नुअघि ईटीए प्रणालीबाट आवेदन दिएर स्वीकृति प्राप्त गर्नु अनिवार्य हुनेछ । यो सुविधा अन्तर्गत पर्यटकले पहिलो प्रवेश मितिबाट ३० दिनभित्र दुई पटकसम्म आवतजावत गर्न पाउने व्यवस्था गरिएको छ ।

साधारण, कूटनीतिक तथा सरकारी सबै प्रकारका राहदानी धारकहरू यो नि:शुल्क ईटीए सुविधाका लागि योग्य हुनेछन् । ३० दिनभन्दा बढी बस्न चाहने पर्यटकले भने प्रचलित नियमअनुसार भिसा शुल्क तिरेर अवधि विस्तार गर्न सक्ने व्यवस्था गरिएको छ ।

नयाँ नियम लागू हुनु अघि अर्थात् २०२६ मे २५ भन्दा पहिले ईटीए शुल्क तिरेका आवेदकको रकम फिर्ता नहुने स्पष्ट गरिएको दूतावासले जनाएको छ ।

यो सूचीमा नेपालसँगै भारत, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, बेलायत, जापान, चीन, मलेसिया लगायत ४० देश समावेश छन् । साथै माल्दिभ्सका नागरिकले पारस्परिक सम्झौताअनुसार ९० दिनसम्म नि:शुल्क पर्यटक भिसा सुविधा पाउने व्यवस्था रहेको छ ।

दूतावासका अनुसार इच्छुक यात्रुले अनलाइन प्रणालीका साथै प्रत्यक्ष रूपमा दूतावासमार्फत समेत ईटीए आवेदन प्रक्रिया पूरा गर्न सक्नेछन् ।

ताजा खबर

सम्बन्धित खबर