
अर्घाखाँची : अर्घाखाँचीको नरपानीमा अन्तरजिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजनामा बिहीबार सम्पन्न बैठकमा लुम्बिनी प्रदेशका अर्घाखाँची र कपिलवस्तु जिल्लाका सुरक्षा तथा प्रशासनिक प्रमुखहरूको सहभागिता रहेको थियो ।
बैठकमा दुवै जिल्लाले अपनाएका असल अभ्यासहरूको आदानप्रदान गर्नुका साथै साझा समस्या र चुनौतीहरूबारे विस्तृत छलफल गरिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले दुई जिल्लाबीचको समन्वयलाई व्यवहारमै उतार्न आवश्यक रहेको उल्लेख गर्दै शान्ति–सुरक्षा सुदृढ गर्न सूचना आदानप्रदान र संयुक्त कार्यलाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले सीमावर्ती तथा संवेदनशील क्षेत्रमा देखिने सुरक्षा चुनौती समाधानका लागि साझा रणनीति आवश्यक रहेको धारणा राखे ।
त्यस्तै, अर्घाखाँचीका प्रजिअ सुवेदीले अन्तरजिल्ला सहकार्यले सुरक्षा व्यवस्थापनसँगै विकास निर्माण, विपद् व्यवस्थापन र प्रशासनिक कार्यसम्पादनलाई समेत सहज बनाउने बताए । नागरिकलाई सुरक्षित र सहज सेवा प्रवाह सुनिश्चित गर्न सम्बन्धित निकायबीच निरन्तर समन्वय अपरिहार्य रहेको उनको भनाइ थियो ।
बैठकमा अन्तरजिल्ला शान्ति–सुरक्षा, अपराध नियन्त्रण, खुला सिमाना व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, राजमार्ग सञ्चालन, अवैध हातहतियार तथा लागूऔषध नियन्त्रण, सार्वजनिक सवारी साधन व्यवस्थापन, प्रविधिको प्रयोगमार्फत सुरक्षा चुनौती सामना, सुशासन प्रवर्द्धन लगायतका विषयमा छलफल भएको जनाइएको छ ।
कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रतिनिधिहरूसहित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको थियो । साथै शितगंगा नगरपालिका र सन्धिखर्क नगरपालिकाका प्रशासनिक नेतृत्वसहित कर्मचारीहरूको उपस्थिति रहेको बैठकले अन्तरजिल्ला सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।