
कस्तो होला त्यो दिन, सोच्दा पनि आत्तिन्छ मन,
यदि यो धर्तीबाट अचानक सुकिगयो भने सबै जल !
नदीका छातीहरू फुट्नेछन्, तिर्खाउनेछन् छालहरू,
भक्कानिएर रुनेछन् हिमालका ती गालाहरू ।
सधैं कलकल बग्ने खोला बगर मात्र बन्नेछ,
हरियो यो सुन्दर धर्ती मरुभूमि भइदिनेछ ।
तिर्खाले व्याकुल भई चराहरू गुँडमै ढल्नेछन्,
पानीबिनाका ती माछाहरू छटपटिँदै मर्नेछन् ।
भोकाउनेछन् यी खेतबारी, अन्नको गेडा फल्ने छैन,
तिर्खाएका ओठहरूमा मुस्कान कहिल्यै भरिने छैन ।
दूध खाने त्यो सानो नानी प्यासले रोइरहनेछ,
आमाको मुख हेरेर रुनेछ ।
आमाको त्यो आँसु त्यतिखेर भन त कसले धुनेछ ?
पसिना सुक्नेछ मजदुरको, घाँटी फुट्नेछ प्यासले,
कोही बाँच्ने छैन यहाँ, मर्नेछ केवल छटपटी र निराशाले ।
पैसा र सुनका महलहरू कौडीको भाउमा बिक्नेछन्,
एक थोपा पानीका लागि राजा पनि यहाँ झुक्नेछन् ।
समुद्रको त्यो गहिराइ रित्तो खाडल बन्नेछ,
वायुमण्डलको तातो रापले यो सृष्टि नै जलाइदिनेछ ।
रुख–बिरुवाका पातहरू पहेँला भई खस्नेछन्,
विनाशका ती काला दिन धर्तीमा आई बस्नेछन् ।
न त बादल बन्नेछ नीलो, न त वर्षा नै हुनेछ धरतीमा,
प्रकृतिको यो सुन्दर काख श्मशान हुनेछ मात्र केही दिनमा ।
जल नै हो जीवन हाम्रो, जल नै हो सृष्टिको सार,
यसलाई जोगाउन सकिएन भने बुझौं निश्चित छ हाम्रो संहार ।
त्यसैले चेतौं है मानव, समय छँदै ब्युँझौं अब,
पानीका यी मुहानहरू जतन गरी राखौं सब ।
जल सुक्यो भने यहाँ जीवनको अन्त्य हुनेछ,
यो सुन्दर र हरियो धर्ती रित्तो खरानी बन्नेछ ।