
जीवनमा कहिल्यै नसुसेल्ने कोही हुन्नन् । अनि कहिल्यै सुस्केरा नहाल्ने पनि कोही हुन्नन् । त्यही सुसेली र सुस्केरा नै गीत सिर्जनाका मुख्य स्रोत हुन्, आधार हुन् । सुसेलीबाट माया र प्रेम अनि त्यही माया र प्रेमबाट प्राप्त हुने खुसी, सुख, हाँसो र उमंगका गीत सिर्जना हुन्छन् । अनि सुस्केराबाट चाहिँ माया र प्रेममा विछोड हुँदा मनमा लागेको चोटका कारण हुने पीडा, विरह र आहका गीत सिर्जना हुन्छन्, जसमा दुःख, पीडा, आँसु, वेदना र निराशाका भाव प्रकट भएका हुन्छन् ।
जीवनमा माया र प्रेमका कारण प्राप्त हुने खुसी, सुख, हाँसो र उमंग अनि दुःख, पीडा, आँसु, वेदना र निराशा नै गीत सिर्जनाका मुख्य भाव हुन् र यिनै भावलाई समेटेर बढी गीत लेखिएका छन् । यसबाहेक जीवन र जगतको यथार्थलाई लिएर निकै गम्भीर गीत पनि लेखिएका छन् । राष्ट्रिय भावका गीत पनि लेखिएका छन् । जुनसुकै भावमा लेखिएका गीतका शब्दले पाठक र श्रोताका हृदयमा स्पर्श गर्छन् । पाठक र श्रोताका हृदयमा स्पर्श गर्ने गीत नै लोकप्रिय र कालजयी बन्दछन् । अझ गीतका शब्दमा संगीत भरेर कर्णप्रिय आवाज दिएपछि त्यस्ता गीत अझ बढी लोकप्रिय र कालजयी बन्दछन् । त्यसैले गीत पढ्नका लागि भन्दा गाउनका लागि लेखिन्छ अथवा लेखिनुपर्छ भन्ने मान्यताले प्रश्रय पाउँदै आएको हो ।
गीतको स्वरूप र स्वतन्त्रता
सुसेली अथवा सुस्केराको माध्यमबाट जोकोहीले जीवनमा एकपटक गुनगुनाएकै हुन्छन् । सुसेली र सुस्केरा शब्दबिनाका गीत हुन् । कोही–कोहीले आफ्नै मनको भावलाई व्यक्त गर्दै अथवा सर्जक अथवा गायक÷गायिकाद्वारा स्वरबद्ध गीतलाई गुनगुनाएर पनि आफ्नो भाव अथवा आशय व्यक्त गर्ने अथवा गीतको आनन्द लिने गर्दछन् । कुरा यत्ति हो, गीत गुनगुनाउनेहरू सबै गायक अथवा गायिका हुँदैनन् । नलेखिएका सुसेली र सुस्केरालाई गीत होइन भन्न सकिन्न र गीत भनेर लेखिएका सबै शब्दहरू गीत बन्न पनि सक्दैनन् । गीत भनेर लेखिएका कतिपय गीत कविता बनेका छन् भने कवितामा संगीत र स्वर भरेपछि ती गीत पनि बनेका छन् ।
सर्जकको निजी स्वतन्त्रतामा गीत लेखन निर्भर छ । गीतकारले गीतको सिद्धान्त अथवा संरचनालाई ध्यान नदिई स्वतन्त्रतापूर्वक लेखेका गीतहरू पनि गीतै हुन् । यद्यपि त्यसमा भावको गहनता र थोरै भए पनि गेयात्मकता चाहिँ हुनैपर्छ । जसलाई गीत भनेर लेखिएको छ र गीतको संरचनामा अटाएको छ भने त्यस्तो गीत सुनमा सुगन्धसहितको गीत बन्दछ ।
मात्रा, छन्द र तुकबन्दी नमिलेका गीत पनि प्रशस्तै लेखिएका छन् र गाइएका पनि छन् । मात्रा, छन्द र तुकबन्दी नमिलेका गीत पढ्दा गद्य कविताजस्तो लागे पनि संगीतबद्ध गरी गाइसकेपछि भने गीतकै आनन्द प्राप्त गर्न सकिन्छ । धेरै वटा कवितालाई पनि संगीतबद्ध गरी गाइएका छन् र त्यस्ता कविता गीतका रूपमा लोकप्रिय र कालजयी पनि बनेका छन्, जस्तै : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ कविता र युगकवि सिद्धिचरण श्रेष्ठको ‘मेरो प्यारो ओखलढुंगा’ कविता ।
नवोदित गीतकार
राजेन्द्र चित्रकार नवोदित गीतकार हुन् । यसो त गीतसंग्रह प्रकाशनका दृष्टिले उनी नवोदित गीतकार भए पनि गीत लेखनका दृष्टिले चाहिँ उनी पुराना गीतकार हुन् । उनी गीतकार मात्रै होइनन्, स्वयं संगीतकार र गायक पनि हुन् । कलेज पढ्दादेखि नै उनले गीत लेख्ने, त्यसमा संगीत भर्ने र विभिन्न कार्यक्रमहरूमा गाउने पनि गर्दै आएका हुन् । समयक्रममा कार्यव्यस्तताको कारण गीत लेखन र गायनको क्रम टुटे पनि लामो समयको अन्तरालपछि उनी गीत लेखनमा फर्केका छन् र गीतसंग्रह नै लिएर पाठकसमक्ष आएका छन् ।
पाठकीय मूल्यांकन
राजेन्द्र चित्रकारले गीत लेखनको प्रारम्भदेखि हालसम्म लेखिएका एक सय एक गीतहरूलाई संग्रह गरी ‘एक सय एक गीत’ नामक संग्रह प्रकाशनमा ल्याएका छन् । यो संग्रहलाई सिर्जना अभियान समाज भक्तपुरले प्रकाशन गरेको छ । यसअघिका उनका गीतिसिर्जनाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशन हुँदै आएको पाइन्छ । केही समयअघि सिर्जना अभियान समाजले नै भक्तपुरमा रहेबसेका २१ जना गीतकारका गीत समेटेर प्रकाशन गरेको ‘लयको तरेलीमा’ नामक गीतसंग्रहमा राजेन्द्र चित्रकारका पनि पाँचवटा गीत समावेश थिए । राजेन्द्र गीतबाहेक कथा, लघुकथा र अन्य समसामयिक विषयमा लेख, निबन्ध पनि लेख्छन् । यद्यपि, उनको रुचिको विषय भने गीत नै हो भन्ने प्रमाण हो, उनको गीतसंग्रह ‘एक सय एक गीत’ ।
यसो त ‘एक सय एक गीत’ संग्रहभित्रका सबै गीत एकसे एक राम्रा छन् भन्न सकिने अवस्था छैन । गीति सिद्धान्त र संरचनालाई ध्यान नदिई स्वतन्त्र रूपमा लेखिएका उनका अधिकांश गीतमा मात्रा, छन्द र तुकबन्दीको संगीत छैन । गीतको स्थायी र अन्तरालाई मिलाउने कोसिस गरिएको भए तापनि त्यसमा पनि एकरूपता भने छैन । गीतमा हुनैपर्ने गेयात्मकताको पनि कमी छ, जसले गर्दा सामान्य रूपमा गीत पठन गर्दैगर्दा कविता पठनको अनुभूति हुन्छ । गीतकै रूपमा गाउन अथवा गुनगुनाउन अलिकति असहजता महसुस हुन्छ । गीतको सिद्धान्तलाई पछ्याउनेहरूले ‘यस्तो पनि गीत हुन्छ ?’ भन्न सक्ने सम्भावना पनि छ ।
गीतकार राजेन्द्र चित्रकारले गीतिसिद्धान्त र संरचनालाई अपनाएर गीत नलेखे पनि त्यसैका कारणले मात्र निराश भने हुनुपर्दैन । किनभने स्वतन्त्र रूपमा गीत लेख्ने निजी स्वतन्त्रता उनलाई प्राप्त छ । स्वतन्त्र रूपमा पनि गीत लेख्न सकिन्छ र अरूले पनि लेखेका छन् । गीतमा भाव अथवा भावनाचाहिँ हुनुपर्छ, जुन राजेन्द्रका गीतहरूमा यथेष्ट छन् । शब्द, मात्रा, छन्द र तुकबन्दीले भन्दा भावले नै हो गीतलाई गहन र ओजपूर्ण बनाउने । यस दृष्टिकोणले हेर्दा राजेन्द्रका गीतहरू गहन र ओजपूर्ण नै लाग्छन् । जस्तैः
सुनसान नभएर नि एक्लोजस्तो
नदेखिएको कस्तो घाउजस्तो
जिन्दगी कस्तो मरुभूमि भएछ
बाँचेर पनि लासजस्तो । (पृष्ठ ५१)
धुवाँले नै लखेटेको यो जिन्दगी
कहाँ गएर बिसाउने यो जिन्दगी
त्रासै त्रासमा भागी हिँड्नुपर्ने
कहिले के हुने बेठेगान यो जिन्दगी । (पृष्ठ ३९)
गीतकार राजेन्द्रको गीतसंग्रह ‘एक सय एक गीत’भित्र यस्ता भावपूर्ण, गहन र ओजपूर्ण गीतहरू धेरै छन् । उनले सबै प्रकारका गीत लेखेका छन् । मायाप्रेमदेखि देशभक्ति र पर्यावरणसम्मका गीत लेखेका छन् । अझ गहिरिएर भन्नुपर्दा प्रेम र प्रणयका, जीवन र जगतका, भूगोल र खगोलका, देश र देशभक्तिका, प्रकृति र पर्यावरणका अनि समाज र संस्कृतिका गीत पनि उनले लेखेका छन् ।
विषयवस्तुको विविधता र भावभूमि
गीतकार राजेन्द्र स्वयंले आफूले लेखेका गीतहरूलाई मुख्य पाँचवटा विषयमा विभाजन गरी संग्रहमा समावेश गरेका छन्, जसले गर्दा पाठकलाई गीत पठन गर्न र गीतको भाव तथा सन्देश बुझ्न सहज बनाइदिएको छ । उनले एक सय एक गीतलाई राष्ट्रियता र देशप्रेम, विश्वशान्ति र वातावरणीय चेतना, जीवनबोध र दर्शन, एड्स र लागुपदार्थ तथा मायाप्रेम र वियोग गरी पाँच विषयमा विभाजन गरेका छन् । विषय विभाजनले गर्दा उनका गीतका पाठकले गीतहरूका भाव राष्ट्रियता र देशप्रेम, विश्वशान्ति र वातावरणीय चेतना, जीवनबोध र दर्शन, एड्स र लागुपदार्थ तथा मायाप्रेम र वियोगसम्बन्धी छन् भनेर सहजै बुझ्न सक्छन् । उनका गीतले राष्ट्रियता र देशप्रेम जगाउँछन् । विश्वशान्ति र वातावरणीय चेतना दिन्छन् । जीवन र दर्शनको बोध गराउँछन् । एड्स र लागुपदार्थविरुद्ध सचेतना जगाउँछन् र मायाप्रेम र वियोगका भावले हृदयलाई तरंगित गराउँछन् ।
जीवन जिउने क्रममा मान्छेको मनोभावना र जिन्दगीको रङ सधैं एकनासको हुँदैन । फरक समय, फरक परिवेश र फरक परिस्थितिमा मान्छेको विचार, मनोभाव र संवेगमा पनि फरक तरंग उत्पन्न हुन्छन् । गीतकार राजेन्द्रले फरक समय, फरक परिवेश र फरक परिस्थितिमा उत्पन्न भएका आफ्नो मनका फरक–फरक मनोभाव र संवेगका तरंगहरूलाई गीतमार्फत अभिव्यक्त गरेका छन् । त्यसैले फरक–फरक गीतहरूमा फरक–फरक स्वाद पाउन सकिन्छ ।
फुल्दै गरेका फूल
गीतकार राजेन्द्रले मस्तिष्कले भन्दा हृदयले बढी गीत लेखेका छन् । त्यसकारणका उनका गीतहरूमा हार्दिकता र कोमलता छ । सहभाव र संवेदना छ । यही हार्दिकता, कोमलता, सहभाव र संवेदनाले उनका गीतहरू हृदयस्पर्शी छन् र पठनीय छन् । ती गीतहरूले लय र आवाजको साथ पाउने हो भने अझ बढी हृदयस्पर्शी र प्रभावशाली बन्नेछन् । कर्णप्रिय र कालजयी बन्नेछन् ।
राजेन्द्र चित्रकार अब नेपाली साहित्यमा गीतकारको रूपमा चिनिएका छन् । अब उनका सामु चुनौती पनि खडा छ । किनभने अब उनले आफ्नो त्यो परिचयलाई कायम राख्ने र अघिल्लाभन्दा स्तरीय गीत लेखने प्रयास गर्नुपर्नेछ । गीतिसिद्धान्त र संरचनामा पनि ध्यान दिनुपर्नेछ । उनको ‘एक सय एक गीत’ संग्रहका गीतहरू फुल्दै गरेका फूलका सुवासजस्ता छन् । तिनलाई फुल्न दिऊँ । फुलेपछि तिनले अझ बढी मिठो सुवास छर्नेछन् ।