
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका आज मनाेनयन दर्ता हुँदैछ । संघको निर्वाचन समितिले दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ।
संघको चुनावी प्रतिस्पर्धामा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीनिकट स्वतन्त्र व्यवसायी समूहबीच यसपटक त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो ।
स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहले शुक्रबार घोषणासभा गरेर नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष तथा संघका पूर्वप्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीको नेतृत्वमा नयाँ प्यानल घोषणा गरेपछि सहमतिकाे चरण सकिएको हाे ।

स्वतन्त्र समूहको प्यानलको अध्यक्षमा पाण्डे, प्रथम उपाध्यक्षमा सञ्जु गुरुङ, महासचिवमा नूर मोहम्मद मियाँ, सचिवमा नवराज लुईंटेल र कोषाध्यक्षमा विनिता कटुवाल उम्मेदवार बन्ने भएका छन् ।
सो समूहले शिवशंकर यादवलाई पनि शुक्रबारकै घोषणासभामा सदस्यको उम्मेद्वार घोषणा गरेको छ । बाँकी पदाधिकारी र सदस्यहरुको घोषणा शनिबार ११ बजे घोषणासभामै गरिने भएको छ ।

अध्यक्ष पदका लागि सबैभन्दा बढी प्रतिस्पर्धा देखिएको लोकतान्त्रिक वैदेशिक राेजगार व्यवसायी एसोसिएसनबाट संघका पूर्व महासचिव मेघनाथ भुर्तेलले टिकट पाएका छन् ।
एशोशिएशनमा संघका निवर्तमान द्वितीय उपाध्यक्ष देव खोखाली, पूर्वमहासचिव मेघनाथ भुर्तेल र एशोसिएशन कै पूर्वअध्यक्ष प्रज्ञान न्यौपानेको पनि दाबी थियो । सोही कारण शुक्रबार दिनभर र राति १० बजेसम्म छलफल भएर राती ११ बजेपछि भुर्तेलले टिकट पाएका हुन ।
सबै उम्मेदवार तय भएपछि औपचारिक घोषणा हुन बाँकी छ । एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका तर्फबाट संघका पूर्वप्रथम उपाध्यक्ष डिकबहादुर खत्री ‘कुमार’को नेतृत्वमा प्यानल नै प्रतिस्पर्धामा उत्रिने भएको छ ।

अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी संघको कार्यसमितिका १७ पदमा निर्वाचन हुनेछ । एसोसिएसनले पूर्वसचिव कर्णराज कटुवाललाई महासचिव र कार्यवाहक महासचिव तुलसी पुरीलाई द्वितीय उपाध्यक्ष उम्मेदवार बनाउने चर्चा छ ।
सिनामंगल क्युआरटीको तर्फबाट हरि डाँगीले महासचिवमा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । इम्पावर हन्टर एचआर सोलुसनका सञ्चालक युवा व्यवसायी केदारनाथ अधिकारी (दीपेन्द्र)ले सचिव पदमा उम्मेदवारी दिने घोषणा यस अघि नै गरेका छन् ।
विशेष साधारणसभामा भाग लिनका लागि ८ सयभन्दा बढी व्यवसायीले वार्षिक सदस्यता शुल्क लेबी बुझाएका छन् । उनीहरू माथि सनिवार विहान दाबी विरोधको समय रहेको छ।

सेवा शुल्क परिमार्जन मुख्य एजेन्डा : अध्यक्ष उम्मेदवार पाण्डे
शुक्रबार सुकेधारामा आयोजित घोषणासभामा स्वतन्त्र समूहका अध्यक्ष उम्मेदवार पाण्डेले संघ व्यवसायीहरूको साझा संस्था भएको भन्दै विगतका कमजोरी सुधार गरेर व्यवसायीको हकहित तथा व्यवसायको संरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाए ।
संघलाई व्यवसायीका समस्या समाधानका लागि पहल गर्ने, नयाँ श्रम गन्तव्य खोज्ने तथा अनुगमनका नाममा व्यवसायीलाई तर्साउने प्रवृत्तिविरुद्ध सशक्त रूपमा काम गर्ने उनले बताए । अध्यक्ष उम्मेदवार क्षेत्रीले अव्यावहारिक सेवाशुल्क नै हाल देखिएको समस्याको प्रमुख कारण भएको बताए ।
उनले भने, ‘राज्यमन्त्रीले मन्त्रिस्तरीय निर्णयबाट २०७२ सालमा लागू गरेको फ्रि भिसा, फ्रि टिकट र सेवाशुल्क १० हजार रुपैयाँ लिन पाउने अव्यावहारिक निर्णय हामीले कहिल्यै स्वीकार गरेका छैनौं । मोही माग्ने ढुंग्रो लुकाउने कुरा छैन, १० हजार रुपैयाँ लिएर सात समुद्रपारिको मुलुकमा कामदार पठाउन सकिँदैन । राज्य स्वयंले कोरिया जाने कामदारबाट १ लाख २० हजार र इजरायल जाने कामदारबाट १ लाख ६५ हजार रुपैयाँ लिइरहेको छ । सेवाशुल्कलगायतका समस्या समाधान गर्ने हाम्रो प्यानलको मुख्य एजेन्डा हो ।’
उनले वैदेशिक रोजगारीमा कामदार पठाउने छिमेकी मुलुकहरूको अध्ययन गरेर न्यूनतम दुई महिनाको तलब बराबर सेवाशुल्क र रोजगारदाता कम्पनीले हवाई टिकट नदिएको अवस्थामा कामदार स्वयंले हवाई टिकट लिएर जान पाउने व्यवस्था गरिनुपर्ने विषयमा काम गर्ने बताए ।
घोषणासभामा संघका पूर्वअध्यक्ष रोहन गुरुङ, प्रथम उपाध्यक्षका उम्मेदवार सञ्जु गुरुङ, महासचिवका उम्मेदवार नूर मोहम्मद मियाँ, सचिवका उम्मेदवार नवराज लुईंटेल र कोषाध्यक्षकी उम्मेदवार विनिता कटुवालले आ–आफ्नो धारणा राख्दै व्यावसायिक हक हितभन्दा एक इन्च दायाँबायाँ नलाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नीति र कानुनी सुधार प्रमुख एजेन्डा : खत्री
प्रगतिशील मञ्चका तर्फबाट अध्यक्षका उम्मेदवार खत्रीले वैदेशिक रोजगार क्षेत्रका चुनौती, अवसर र आवश्यक सुधारका विषयमा सबैसँग सहकार्य गर्दै व्यवसायको गरिमा, व्यवसायीहरूको हकहित तथा संस्थागत सुदृढीकरणका लागि समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले एकता र पारदर्शिताका माध्यमबाट व्यवसाय तथा व्यवसायीको सम्मान बढाउने बताए । उनले २०४८ सालदेखि लोकप्रिय नारा र अवैधानिक निर्णयका कारण गिजोलिएको वैदेशिक रोजगार क्षेत्र सुधार गर्न २०७२ सालमा ल्याइएको फ्रि भिसा, फ्रि टिकट निर्णय, २०७५ सालको धरौटी र बैंक ग्यारेन्टी बढाउने निर्णयदेखि वैदेशिक रोजगार ऐन, २०६४ का दफा १५ देखि १९ सम्मका व्यवसायीविरोधी प्रावधानहरूमा सुधार गरिनुपर्ने बताए ।
संस्थागत सुधार र पेशागत एकताका पक्षमा काम गर्ने छु : भुर्तेल
एशाेसिएसनका अध्यक्षका उम्मेदवार मेघनाथ भुर्तेलले सबैलाई समेटेर अघि बढ्ने बताएका छन् । यसअघि महासचिव भएर काम गरेकोे अनुभवका आधारमा व्यवसायीहरूको हकहित, संस्थागत सुधार र पेशागत एकताका पक्षमा महत्वपूर्ण काम गर्ने बताएका छन्।
नेपाली कम्युनिस्ट पार्टीनिकट गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन सबै पक्षसँग छलफलमा रहेको बताइएको छ । पार्टी एकीकरण भए पनि मञ्च र संगठन सुविधा र सन्तुलनका आधारमा प्यानल बनाउने तयारीमा छन् ।
उनलेे नीतिगत सुधार अन्तरगत वैदेशिक रोजगार ऐन, नियमावली र निर्देशरियाको समयानुकूल संशोधन , श्रमिक र कामदारमैत्री नीति निर्माणमा छिटो र प्रभावकारी क्रियान्वयन गरी पूर्ण डिजिटल र स्वचालित, छिटो र पारदर्शी डिजिटल प्रणालीको विकास गर्ने प्रतिवद्वता जनाएका छन् ।
त्यसैगरी कामदारको श्रम अनुमतिपत्र, मिसा र अन्य सेवा अनलाईनबाट उपलब्ध गराउने,अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वैदेशिक रोजगार व्यवसायलाई नीतिको स्पटता र कर नीतिमा सहजीकरण र अनुचित प्रतिस्पर्धा, बिचौलिया र कमिशनको अन्त्य गर्ने विषयमा काम गर्ने बताएका छन् ।लयुरोप, जापान, कोरिया, इजरायललगायत उच्च आय भएका देशमा कूटनीतिक पहल र सम्झौता गरअं नयाँ गन्तव्यकाे खाेजी गर्ने बताएका छन् ।