
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका आज मनाेनयन दर्ता हुँदैछ । संघको निर्वाचन समितिले दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ।
नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल संघका पूर्वप्रथम उपाध्यक्ष डिकबहादुर खत्री ‘कुमार’को नेतृत्वमा प्यानल नै प्रतिस्पर्धामा उत्रिने भएको छ ।
प्रगतिशील मञ्चका तर्फबाट अध्यक्षका उम्मेदवार खत्रीले वैदेशिक रोजगार क्षेत्रका चुनौती, अवसर र आवश्यक सुधारका विषयमा सबैसँग सहकार्य गर्दै व्यवसायको गरिमा, व्यवसायीहरूको हकहित तथा संस्थागत सुदृढीकरणका लागि समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले एकता र पारदर्शिताका माध्यमबाट व्यवसाय तथा व्यवसायीको सम्मान बढाउने बताए । उनले २०४८ सालदेखि लोकप्रिय नारा र अवैधानिक निर्णयका कारण गिजोलिएको वैदेशिक रोजगार क्षेत्र सुधार गर्न २०७२ सालमा ल्याइएको फ्रि भिसा, फ्रि टिकट निर्णय, २०७५ सालको धरौटी र बैंक ग्यारेन्टी बढाउने निर्णयदेखि वैदेशिक रोजगार ऐन, २०६४ का दफा १५ देखि १९ सम्मका व्यवसायीविरोधी प्रावधानहरूमा सुधार गरिनुपर्ने बताए ।