
अर्घाखाँची : महिलाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै सन्धिखर्क नगरपालिका–१ मा पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ । सन्धिखर्क नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न शिविरमा २ सय १६ जना महिलाले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका छन् ।
नेपालमा महिलामा देखिने प्रमुख क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर एक गम्भीर स्वास्थ्य समस्या मानिन्छ । समयमै परीक्षण र उपचार गर्न सके यस रोगबाट हुने जोखिमलाई धेरै हदसम्म कम गर्न सकिने भएकाले स्थानीय तहले सञ्चालन गरेको यस्तो कार्यक्रमलाई स्वास्थ्य क्षेत्रका जानकारहरूले प्रभावकारी कदमका रूपमा लिएका छन् ।
स्वास्थ्य शाखामा कार्यरत सिएनएमआई निरीक्षक लुमा पराजुलीका अनुसार शिविरमा सहभागी महिलाहरूको स्वास्थ्य अवस्था परीक्षण गरी आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गरिएको थियो । ग्रामीण क्षेत्रका महिलाहरू नियमित स्वास्थ्य परीक्षणबाट टाढा रहने अवस्थालाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको उनले बताइन् ।
शिविरमा डा.नवीन पौडेलको नेतृत्वमा स्वास्थ्यकर्मीहरूको टोलीले सेवा प्रदान गरेको थियो । स्वास्थ्य परीक्षण तथा उपचार प्रक्रियामा स्टाफ नर्स अप्सरा अली, माया घिमिरे र देवका भुसालले सक्रिय सहजीकरण गरेका थिए ।
स्वास्थ्यकर्मीहरूको टोलीले पाठेघरको मुखको क्यान्सरको जोखिम, रोकथामका उपाय, समयमै परीक्षणको महत्व तथा व्यक्तिगत सरसफाइ सम्बन्धी सचेतनामूलक जानकारी समेत प्रदान गरेको थियो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष माधव श्रेष्ठ, वडा सचिव तुल्सा श्रेष्ठ, जनप्रतिनिधिहरू तथा विभिन्न शाखाका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागी महिलाहरूले गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरेका थिए ।
वडाध्यक्ष माधव श्रेष्ठले महिलाको स्वास्थ्य संरक्षण नगरको प्राथमिक जिम्मेवारी भएको बताउँदै यस्ता स्वास्थ्य शिविरले नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराएको उल्लेख गरेका थिए । उनले आगामी दिनमा समेत स्वास्थ्यसम्बन्धी जनचेतनामूलक तथा उपचारात्मक कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
पछिल्लो समय पाठेघरको मुखको क्यान्सरका बिरामी बढ्दै गइरहेका बेला स्थानीय तहको पहलमा सञ्चालन गरिएका यस्ता शिविरले प्रारम्भिक चरणमै रोग पहिचान गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । स्वास्थ्यकर्मीहरूले पनि प्रत्येक महिलाले नियमित स्वास्थ्य परीक्षण गराउनुपर्नेमा जोड दिएका छन् ।
महिलाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्दै समुदायमै पुगेर सेवा दिने उद्देश्यसहित सञ्चालन गरिएको उक्त शिविरले स्थानीय महिलाहरूमा स्वास्थ्यप्रतिको विश्वास र पहुँच दुवै बढाएको सहभागीहरूको भनाइ रहेको छ । स्वास्थ्य सेवालाई नागरिकको घरदैलोमा पुर्याउने सन्धिखर्क नगरपालिकाको प्रयासलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन् ।