
समयले ओठमा रंग पोतेर
टाँसेको मौनताको
पोस्टर हो यो मुहार ।
भित्र हजारौं
मौसम बग्छन्,
बाहिर एउटै
ऋतुको नाटक ।
प्रत्येक हाँसो एक चिहान हो,
जहाँ गाडिन्छन्
बेनामी पीडा ।
र सबै कुरा हराउँदै जाँदा पनि
बाँकी रहन्छ केवल
मान्छे हँसिलो मुहारमा ।
एउटा सहरजस्तो छ
यो अनुहार ।
बिहान चिया पसलको कोलाहल,
दिउँसो कार्यालयको सन्नाटा,
साँझ घरको उज्यालो ।
सबै आफ्नै बाटो हिँड्छन् ।
कोही भित्र पसेर सोध्दैनन्
यो सहरको बिजुली किन
पटक–पटक जान्छ ?
दर्पण अगाडि उभिएर मान्छे
आफैंलाई अभिनय सिकाउँछ ।
बायाँ कुनाबाट
उदासी ओर्लन्छ भने,
दायाँ कुनाबाट
मुस्कान उक्लिन्छ ।
र दुवैको बीचमा
एउटा मान्छे हराउँछ ।
न सुनिन्छ रोदन,
न देखिन्छ छाया,
न छवि कतै– मान्छे हँसिलो मुहारमा ।
शब्दहरू थाकेर बसेको ठाउँमा
जन्मिन्छ हाँसो ।
अवर्णनीय कुरालाई ओठले टाल्छ ।
बुझ्न नसकिने भावलाई
अभिव्यञ्जनाले ढाक्छ ।
तसर्थ हाँसो भाषा होइन,
विराम चिह्न हो, जहाँ सबै वाक्य
अधुरा छोडिन्छन् ।
उग्र अपेक्षा मडारिइरहन्छ नेपथ्यमा,
करेसाबारीको
बुख्याँचाझैं, ठिंग उभिएझैं छ–
मान्छे हँसिलो मुहारमा ।
जब रात गहिरो हुन्छ
र सबै मुखौटा फुक्लिन्छन्,
तब पनि एउटा मुखौटो
टाँसिइरहेको हुन्छ– घामले पोलिएको,
आँसुले भिजेको ।
त्यही मुखौटाको
दृश्यमान विशेषण अथवा
साक्षात पुत्ला हो,
सायद, मान्छे हँसिलो मुहारमा ।