२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

कथा : डिजिटल विभेदको पीडा

Nada
विश्वनाथ खरेल
२०८३ जेठ ३० गते ०६:१०
Shares
कथा : डिजिटल विभेदको पीडा

फूलबारी नामको एउटा सानो गाउँ थियो, नामजस्तै सुन्दर त्यहाँ आधुनिकताको किरण पुगेको थिएन । ढुंगेधारामा कलकल बग्ने पानी र हरियो डाँडाकाँडाले घेरिएको यो गाउँमा जीवन सरल थियो, तर प्रविधिको संसारबाट टाढा ।

ncell

त्यही गाउँकी एउटा जिज्ञासु बालिका थिइन्– जुनकिरी । उनी कक्षा सातमा पढ्ने १३ वर्षीया बालिका थिइन्, जसको आँखामा सधैं नयाँ कुरा सिक्ने चमक हुन्थ्यो । उनका कापी सधैं सफा र अक्षरहरू मोतीजस्तै देखिन्थे । उनलाई लाग्थ्यो, पढाइ नै त्यो सिँढी हो जसले उनलाई फूलबारी गाउँबाट बाहिरको विशाल संसार देखाउनेछ ।

उनका बुबा रामबहादुर एक सोझा किसान थिए । दिनभरि हलो जोतेर र खेतमा पसिना बगाएर उनले परिवारको गुजारा चलाउँथे । रामबहादुरका लागि ‘डिजिटल’ वा ‘इन्टरनेट’जस्ता शब्दहरू आकाशका ताराजस्तै टाढा र बुझ्न कठिन थिए । उनको संसार माटो र धानको बालामै सीमित थियो ।

सबै कुरा सामान्य चलिरहेको थियो, जबसम्म अभूतपूर्व विपत्ति (कोरोना महामारी) आएको थिएन । एक दिन विद्यालयकी शिक्षिका सपना मिसले गाउँका अभिभावकहरूलाई भेला पारेर भन्नुभयो, ‘अब सबै पढाइ अनलाइन हुनेछ । हामीले भर्चुअल कक्षा सञ्चालन गर्नुपर्छ । सबै बालबालिकालाई अनिवार्य रूपमा स्मार्टफोन वा ल्यापटप र इन्टरनेटको व्यवस्था गरिदिनुहोस् ।’
यो खबर जुनकिरीका लागि उत्साह र डरको मिश्रित अनुभव थियो । उत्साह यसकारण कि उनी अब संसारका जुनसुकै ज्ञानको ढोका खोल्न सक्ने थिइन्, डर यसकारण कि उनको घरमा एउटा सानो रेडियोबाहेक कुनै डिजिटल उपकरण थिएन ।

अनलाइन कक्षा सुरु भयो । सहरका साथीहरूले जुम मिटिङ र गुगल क्लासरुमको कुरा गर्थे । तर, जुनकिरीको मनमा असह्य पीडा हुन्थ्यो ।

गाउँमा उनका केही साथीहरूको बुबाआमा विदेशमा थिए, जसले महँगा फोन पठाएका थिए । उनीहरू सहजै कक्षामा जोडिन्थे । तर जुनकिरी र उनका अरू धेरै साथीहरूका लागि अनलाइन शिक्षा नजिक आएर पनि छुन नसकिने सपनाजस्तो भयो । एक साँझ जुनकिरीले हिम्मत गरेर बुबालाई भनिन्, ‘बुबा, मलाई एउटा स्मार्टफोन चाहियो, नत्र मेरो पढाइ छुट्छ । मिसले भन्नुभयो, अब पुरानो तरिकाले पढेर हुँदैन ।’

रामबहादुरको अनुहार अँध्यारो भयो । उनले जुनकिरीको हात समाउँदै भने, ‘नानी, तेरो पढाइको माया मलाई थाहा छ । तर मसँग अहिले एउटा राम्रो मोबाइल किन्ने पैसा छैन । हजारौं रुपैयाँ लाग्छ रे ! म कहाँबाट ल्याऊँँ ?’

उनले आफ्नो पुरानो फुटेको हात देखाउँदै भने, ‘यो हातले माटो खनेर रोटी जुटाउँछ, तर त्यो चम्किलो बाकस मोबाइल कसरी किन्ने ?’

जुनकिरीले बुबाको पीडा महसुस गरिन् । त्यो पीडा केवल पैसाको अभावको थिएन, यो पीडा आफ्नो सन्तानको शिक्षाको अधिकारमाथि आएको डिजिटल विभेदको तीतो सत्य थियो । उनको मनमा प्रश्न उठ्यो– के सहरमा जन्मिनु र धनी हुनु मात्र राम्रो शिक्षाको आधार हो ? के गरिब भएकै कारण आफ्नो सपनालाई मार्नुपर्छ ?

प्रत्येक दिन शिक्षकहरूको आवाज र साथीहरूको हाँसो उनको कानमा गुन्जिन्थ्यो । जुन उनी प्रत्यक्ष सुन्न सक्दिनथिन् । उनका कापीका पन्नाहरू खाली हुन्थे, किनभने कक्षामा के पढाइ भइरहेको छ भन्ने उनलाई थाहा थिएन । यही नै डिजिटल विभेदको सबैभन्दा ठुलो पीडा थियो । पहुँचको अभावले सिर्जित अवसरको हत्या भयो । तर जुनकिरीको जिज्ञासु आत्मा मरेन । उनले आफ्नो समस्या सपना मिसलाई सुनाइन् ।

सपना मिसले जुनकिरीको मात्र होइन, गाउँका धेरै बालबालिकाको पीडा बुझेकी थिइन् । उनीहरू प्रविधिबाट वञ्चित थिए र यसको प्रत्यक्ष असर उनीहरूको भविष्यमा पर्न लागेको थियो । सपना मिसले सोचिन्, ‘यदि बालबालिका डिजिटल संसारमा जान सक्दैनन् भने हामीले डिजिटल संसारलाई बालबालिकाको नजिक ल्याइदिनुपर्छ ।’

उनले एउटा साहसी योजना बनाइन्– सामुदायिक सिकाइ केन्द्र । सपना मिसले गाउँलेहरूलाई भेला गरेर भनिन्, ‘हाम्रा बालबालिकाको पढाइ रोकिएको छ । उनीहरूलाई डिजिटल पहुँच छैन । मैले मेरो तलबबाट एउटा पुरानो ल्यापटप किनेकी छु । यदि तपाईंहरू सबैले सहयोग गर्नुभयो भने, हामी गाउँको पुरानो चौतारीमा एउटा सानो सिक्ने ठाउँ बनाउन सक्छौं ।’

तर गाउँलेहरू उदासीन थिए । कसैले भन्यो, ‘यो त सहरियाको कुरा हो । हाम्रो पालामा पढाइबिना पनि जीवन चल्यो ।’

कसैले इन्टरनेटको बिल कसले तिर्छ भनेर प्रश्न उठायो । यस्तो अवस्थामा रामबहादुर जुनकिरीको सपनाका लागि खडा भए । उनले भने, ‘मिस, तपाईंले यति ठुलो मन गरेर हाम्रा नानीहरूको लागि सोच्नुभएको छ । म दिनभरि काम गर्छु । मेरो नानीको पढाइको लागि के–के गर्नुपर्छ गर्छु । जुनकिरी, तिमी अब हारेस नखाऊ ।’

जुनकिरीको सफलताले फूलबारी गाउँमा ठुलो परिवर्तन ल्यायो । गाउँलेहरूले बुझ्न थाले कि डिजिटल पहुँच केवल विलासिताको साधन मात्र नभएर, २१ औँ शताब्दीमा बाँच्नको लागि आधारभूत आवश्यकता पनि हो ।

जुनकिरीले जितेको पुरस्कार राशि आफ्नै लागि खर्च गरिनन् । उनले बुबा र सपना मिसको सहयोगमा त्यो पैसा ‘सामुदायिक सिकाइ केन्द्र’लाई अझ व्यवस्थित बनाउन प्रयोग गरिन् । अब त्यहाँ दुईवटा कम्प्युटर, छिटो चल्ने इन्टरनेट र बिजुलीका लागि सोलार प्यानल पनि थियो ।

जुनकिरी अब केवल एक विद्यार्थी मात्र थिइन्, उनी फूलबारी गाउँको आशाको किरण बनिन् । उनी आफ्नो बुबालाई भनिन्, ‘बुबा, अब म ठुलो भएर यो डिजिटल विभेद हटाउने काम गर्नेछु । कसैको सपना केवल एउटा स्मार्टफोनको अभावले मर्न दिनुहुँदैन ।’

उनको कुरा सुनेर गाउँलेहरूलाई बोध भयो– इन्टरनेटले जीवन सजिलो मात्र बनाउँदैन, बाहिरी संसारसँग जोड्छ, अवसर दिन्छ र समाजलाई अगाडि बढाउँछ । जुनकिरीको कथा यहीँ समाप्त हुन्छ । तर यसले स्पष्ट देखाउँछ कि डिजिटल पहुँच अब सुविधा मात्र होइन, आवश्यकता बनेको छ । यसले शिक्षा दिन्छ, रोजगारी सिर्जना गर्छ र जीवनलाई समृद्ध बनाउँछ ।

सम्बन्धित खबर