
अर्घाखाँची : लुम्बिनी प्रदेशको पहाडी भेगमा अवस्थित शितगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९६ करोड १ लाख ९५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभाको १९औं अधिवेशन अन्तर्गत सम्पन्न दोस्रो बैठकमा उपप्रमुख गीता भाटले बजेट प्रस्तुत गर्दै कृषि, पर्यटन, पूर्वाधार विकास र सुशासनलाई प्रमुख प्राथमिकतामा राखिएको जानकारी दिइन् ।
‘आधुनिक कृषि र पर्यटकीय क्षेत्रको स्थापना, समुन्नत शितगंगा हाम्रो चाहना’भन्ने मूल नारासहित ल्याइएको बजेटले उत्पादन वृद्धि, रोजगारी सिर्जना, सामाजिक न्याय तथा आर्थिक समृद्धिलाई केन्द्रमा राखेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सडक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै नगर गौरव तथा वडा गौरवका सडक आयोजना निर्माण, स्तरोन्नति र मर्मतका लागि १५ करोड ७९ लाख ३५ हजार रुपैयाँ विनियोजन गरेको छ । योजना शाखा प्रमुख नुमलाल खनालका अनुसार सडक पहुँच विस्तारसँगै कृषि उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य तथा पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्ने योजनाले दुर्गम क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने बताए ।
कृषि तथा पशु विकास कार्यक्रमका लागि १ करोड ३० लाख ७७ हजार रुपैयाँ विनियोजन गरिएको नगर प्रमुख छविलाल पौडेलले जानकारी दिए। बजेटमा मौसमी तथा बेमौसमी तरकारी खेती, मौरीपालन, कफी, अदुवा, बेसार तथा केरा जस्ता नगदे बालीको व्यवसायिक उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम समावेश गरिएको छ ।
नगर प्रवक्ता दामोदर न्यौपानेका अनुसार कृषि उत्पादनलाई बजारसँग जोड्ने, आधुनिक प्रविधि भित्र्याउने तथा युवालाई कृषि उद्यमतर्फ आकर्षित गर्ने योजनाले ग्रामीण अर्थतन्त्रलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ ।
पर्यटन क्षेत्रको विकासका लागि नगरपालिकाले १ करोड १० लाख २५ हजार रुपैयाँ विनियोजन गरेको छ । सुपा देउराली, डमरुदह, बाणगंगा धाम, अमिता पार्क तथा शिव महादेव गुफा लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारलाई प्राथमिकता दिइएको छ ।
खानेपानी तथा सिंचाइ क्षेत्रलाई समेत विशेष महत्व दिँदै सुरक्षित खानेपानी पहुँच विस्तारका लागि २ करोड १० लाख ६० हजार रुपैयाँ तथा सिंचाइ योजनाका लागि ३ करोड ४३ लाख ४५ हजार रुपैयाँ बजेट छुट्याइएको छ । यसबाट स्वास्थ्य सुधारसँगै कृषि उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ ।
शिक्षातर्फ नगरपालिकाले कक्षा १२ सम्मको निःशुल्क शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको छ । स्थानीय पाठ्यक्रमका पाठ्यपुस्तक निःशुल्क वितरण, विद्यालय कर्मचारी तथा बालविकास सहजकर्ताको तलब वृद्धि जस्ता कार्यक्रमलाई पनि बजेटमा समेटिएको छ ।
स्वास्थ्य क्षेत्रमा आधारभूत सेवा विस्तार, मातृ तथा शिशु स्वास्थ्य सुधार, पोषण कार्यक्रम तथा स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धिलाई निरन्तरता दिइने भएको छ ।
सामाजिक विकासतर्फ महिला, दलित, आदिवासी जनजाति, अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमका लागि ८५ लाख ५९ हजार रुपैयाँ विनियोजन गरिएको छ । युवाको उद्यमशीलता विकास, सीपमूलक तालिम, स्वरोजगार तथा खेलकुद गतिविधिका लागि ५८ लाख १५ हजार रुपैयाँ छुट्याइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सेवा प्रवाहलाई छिटो, पारदर्शी र नागरिकमैत्री बनाउन डिजिटल प्रणाली विस्तार, अनलाइन सेवा प्रवाह तथा प्रशासनिक सुधारका कार्यक्रमलाई समेत प्राथमिकता दिएको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण तथा उत्तरदायी प्रशासनमार्फत सुशासन प्रवर्धन गर्ने प्रतिबद्धता बजेटमा उल्लेख गरिएको छ ।
यस्तै भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र वितरण र सुरक्षित आवास कार्यक्रमलाई निरन्तरता दिने व्यवस्था पनि गरिएको छ ।
नगर प्रमुख छविलाल पौडेलको नेतृत्वमा सार्वजनिक गरिएको बजेटलाई शितगंगाको दीर्घकालीन विकास दृष्टिकोणको दस्तावेजका रूपमा हेरिएको छ । कृषि उत्पादन, पर्यटन प्रवर्धन, सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक समावेशीकरण र सुशासनलाई एकसाथ अघि बढाउने रणनीतिले नगरपालिकालाई विकासको नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।