
काठमाडौं : स्थापनादेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खेप्दै आएको प्रश्न हो– मूल राजनीतिक सिद्धान्त के हो ? प्रथम महाधिवेशनमार्फत रास्वपाले आफ्नो वैचारिक स्थानलाई स्पष्ट बनाउन खोजेको छ । अब रास्वपाको वैचारिक धार ‘सामाजिक लोकतन्त्र’ हुनेछ ।
चितवनमा भएको महाधिवेशनमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गरे । जसलाई महाधिवेशनले सर्वसम्मत रूपमा पारित ग¥यो । उक्त प्रतिवेदनमा भनिएको छ, ‘हामी परम्परागत वामपन्थी वा दक्षिणपन्थी होइनौं र जानी–बुझी त्यो राजनीतिक ध्रुवीकरणमा सीमित छैनौं ।’
पार्टी सभापति लामिछानेले भनेका छन्, ‘कुनै पनि कठोर वैचारिक चौघेरालाई होइन, हामी व्यावहारिक, विवेकसम्मत, आवश्यकता तथा यथार्थतामा आधारित दृष्टिकोणलाई प्राथमिकता दिन्छौं ।’
यसअन्तर्गत रहेर रास्वपाले पुराना वैचारिक ढाँचाहरूले मानव समाजलाई दिएको ऐतिहासिक योगदान, अनुभव र सकारात्मक अभ्यासलाई सम्मान गर्नेछ । तर तिनलाई व्यावहारिक उपयोगिता र सामाजिक न्यायको तुलोमा जोख्नेछ ।
लामिछानेका नजरमा अझै पनि निजी क्षेत्रको प्रोत्साहन, लगानीमैत्री वातावरण र प्रतिस्पर्धाको नीतिमा रास्वपालाई कसैले दक्षिणपन्थी भनिरहन सक्नेछ । आधारभूत स्वास्थ्य सेवा र शिक्षा सबै नागरिकका लागि राज्यले सुनिश्चित गर्नुपर्छ भन्दा वामपन्थी देखाउन सक्नेछ । स्टार्टअप, निजी उद्यम र बजार स्वतन्त्रतालाई प्रोत्साहनले रास्वपालाई नदेखाएको वामपन्थी भन्ने ट्याग श्रमिक अधिकार, न्यूनतम ज्याला र सामाजिक सुरक्षा ग्यारेन्टीले त्यही ट्याग भिराउन सक्छ ।
अर्थात् रास्वपा राइट न लेफ्ट, मध्यमार्गमा अगाडि बढ्न खोज्दै छ । यस निम्ति उसले तय गरेको शब्द हो– सामाजिक लोकतन्त्र ।
परम्परागत रूपमा हेरिने राइट र लेफ्ट दुवै धाराका केही तत्व मिसाएर सामाजिक लोकतन्त्र तय गरेको देखिन्छ । यो मध्यमार्गी धारको अर्थ के हो ? महाधिवेशनबाट पारित दस्तावेजमा छ, ‘हामी लोकतान्त्रिक मूल्य, प्रतिस्पर्धात्मक अर्थतन्त्र, बलिया संस्था, उत्तरदायी शासन र समावेशी समाजलाई एकअर्काका पूरक मान्छौं ।’
आफूहरूको लक्ष्य केवल सरकार बनाउने नभएर राज्यको चरित्र बदल्ने भएको उल्लेख गर्दै लामिछाने थप्छन्, ‘सामाजिक लोकतन्त्र विचारधाराको सैद्धान्तिक अवधारणा भित्र यही स्वतन्त्रता, समृद्धि, सुशासन र सामाजिक न्याय सुनिश्चित हुनेछ ।’
यस वैचारिक धारपछि पनि रास्वपा राइट कि लेफ्ट भन्ने सिधा जवाफ मिल्दैन । एकातर्फ मध्यवामजस्तो देखिन्छ । तर, परम्परागत कम्युनिस्ट दल नेकपा एमाले वा नेपाली कम्युनिस्ट पार्टीजस्तो वामपन्थी ऊ होइन । प्रतिवेदनमै भनिएको छ, ‘हामी परम्परागत वामपन्थी वा दक्षिणपन्थी होइनौं ।’
बरु राइटतर्फ झुक्ने पक्ष तुलनात्मक रूपमा ज्यादा देखिन्छ । प्रतिस्पर्धात्मक उदार अर्थतन्त्रको नीति यसको उदाहरण हो । यसमै लोककल्याणकारी राज्यको अवधारणा छ । यसअन्तर्गत शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पेन्सन, न्यूनतम जीवनस्तरमा राज्यले ध्यान दिने भनिएको छ ।
अर्थात्, रास्वपाले अंगीकार गरेको वैचारिक धार सामाजिक लोकतन्त्र जर्मनीलगायत युरोपेली मुलुकमा अभ्यासमा रहेको धार हो । यसमा लोककल्याणकारी राज्य र खुला अर्थतन्त्रको परिकल्पना गरिएको छ । सभापति लामिछानेले सबै वैचारिक धारको पनि नेतृत्व रास्वपाले गर्ने महत्वाकांक्षासहित नेपालमा भएका सबै राजनीतिक संघर्षहरूको स्वामित्व लिने प्रयास गरेका छन् । प्रतिवेदनमा लेखेका छन्, ‘आजको उपलब्धि, चेतना र परिवर्तनको आधार तयार गरेका हिजोका त्याग, संघर्ष र योगदानलाई उच्च सम्मान गर्दै हामी यो संकल्प गर्दछौं कि, कुनै बलिदान खेर जाने छैन ।’
नेपालमा २००७, २०४६ साल र २०६२/०६३ सालको राजनीतिक क्रान्तिसँगै मधेश आन्दोलन, जनजाति, मधेशी, दलित, महिला सबै आन्दोलनको योगदानलाई प्रतिवेदनमा स्मरण गरिएको छ । ‘केही महिनाअघि मात्र युवाको आह्वानमा भएको ऐतिहासिक जेनजी विद्रोहको चेतना र ऊर्जासमेत हाम्रो आगामी यात्राको मार्गदर्शक बन्नेछ,’ प्रतिवेदनमा जेनजी आन्दोलनलाई थप महत्व दिइएको छ ।
सभापति लामिछानेले कार्यकर्तालाई बुझाउनेगरी विगतका संघर्ष र ती संघर्षका लिगेसी बोक्ने दलहरूबारे उल्लेख गरेका हुन् । विगतका सबै संघर्षको स्वामित्व लिएर लामिछानेले रास्वपालाई छुट्टै राजनीतिक संस्कृति बोक्ने शक्तिको परिचय दिन खोजेको प्रतिवेदनमा लुक्दैन ।
राजनीतिक धार र लिगेसी बोक्ने दलहरूबाट रास्वपा प्रवेश गरेका नेता–कार्यकर्ता खुसी पार्न लामिछानेले यस्तो शैली प्रस्तुत गरेका हुन् । राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा पनि लामिछानेले सबै पृष्ठभूमिबाट आएकाको विशाल संगम रास्वपा भएको बताएका थिए । ‘हामी जहाँबाट जसरी आएको भए पनि यो नीलो रंगभित्र राष्ट्रका लागि गर्नुपर्ने प्रतिबद्धतासँग मिसिएर आएका छौं,’ सभापति लामिछानेले भनेका छन्, ‘हिजोकै शैली र उही पुरानो तरिकाले फरक परिणाम निकाल्ने दिवास्वप्न कसैले देखेको छ भने त्यो असफलतातर्फ जाने बाटो हो ।’
हट्यो संवैधानिक समाजवाद
वैचारिक धारमा स्पष्टता गर्दै गर्दा रास्वपा संवैधानिक समाजवादबाट पछि हटेको छ । पार्टी स्थापनाको घोषणा गर्दा रास्वपाले संवैधानिक समाजवादलाई पार्टीको सिद्धान्त बनाउने निधो गरेको थियो । यसलाई त्यसबेला कतिपयले समाजवाद शब्द राखेका कारण ‘लेफ्ट’ ढल्किएको भनेर टिप्पणीसमेत गरेका थिए ।
पछि जलेश्वर बैठकले पारित गरेको प्रस्तावनामा शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्य संविधानमा निर्दिष्ट गरी तदनुकूल राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादको रूपमा व्याख्या गरेको थियो । त्यसबाट फर्किएको रास्वपाले प्रथम महाधिवेशनमै संवैधानिक समाजवाद छाड्यो र सामाजिक लोकतन्त्र भनेर दक्षिणपन्थतर्फ ढल्किएको देखिन्छ ।
पार्टी सभापति लामिछानेको प्रतिवेदनमा यसअघिका दस्तावेजमा रहेको संवैधानिक समाजवाद भन्ने ठाउँमा सामाजिक लोकतन्त्र राखिएको छ । यसको अर्थ अब रास्वपाले भन्नेछ, ‘राज्यले उद्योग चलाउने समाजवाद होइन । निजी क्षेत्रविरोधी अर्थतन्त्र पनि होइन । वर्ग संघर्षको राजनीति गर्दैनौं । तर बजारलाई पूर्ण स्वतन्त्र छोड्ने नवउदारवाद पनि होइन ।’
प्रतिवेदनका आधारमा हेर्दा रास्वपा एमालेभन्दा आर्थिक रूपमा बढी बजारमुखी हुनेछ । नेपाली कांग्रेसभन्दा सुशासन र संस्थागत सुधारमा बढी जोड दिनेछ ।
नेपाली कम्युनिस्ट पार्टीभन्दा धेरै उदार अर्थतन्त्रवादी नीति लिनेछ । राष्ट्रिय प्रजातन्त्र पार्टीभन्दा सामाजिक मुद्दामा बढी उदार देखिनेछ ।