–सुमित्रा भूर्तेल
समाज परिवर्तनशील छ । परितर्वत स्वभाविक पनि हो । परिवर्तन हुँदै विकासको मुहार फेर्न जरुरी पनि छ । तर, समाज विकासको नाममा पुरानो परम्परा, रितिरिवाज, सांस्कृतिक सहिष्णूता र मेलमिलापलाई भुलेर अगाडि बढ्नु भनेको नयाँ पुस्तालाई त्यसबारे अनभिज्ञ बनाउनु हो । पहिला–पहिलाका आमा, हजुरआमा, बुढी हजुरआमाहरुले जसरी मेलापात, अर्म–पर्म, सामान साटासाट गनुहुन्थ्यो । ती कुराहरु अहिलेका बालबालिकाले देख्न र भोग्नबाट बञ्चित छन् । घरमा कोही बिरामी भएर छिमेकीको सहयोग मागेर अस्पताल गएको÷लगेको, घरमा पाहुना आउँदा चियाका लागि चिनी सकिँदा दौडिँदै छिमेकीबाट ल्याएर काम चलाउनेलगायतका चलनले पनि छिमेकको महत्व बढी हुन्थ्यो ।
आज बालबालिकाहरु बढी प्रविधि चलाउने गर्छन् । उनीहरु प्रविधिमा के सिक्नेभन्दा पनि रमाइलोसँगै अनावश्यक कुरामा घोत्लिने र समय बिताउने गरेका छन् । अभिभावकहरु सामाजिक सञ्जालमा दिनरात बिताउने, बजारिया खाना–खाजामा दिन टार्ने चलन बढेको छ । यस्तै हामी ज्यादा आत्ममूखी, असामाजिक त बन्दै गइरहेका छैनौँ ? विकास र समृद्धिको नाममा आजका अभिभावकसँगै बालबालिकामा प्रविधिको प्रभाव बढेको पाइन्छ । परिवार, आफन्त, साथीभाई, घरको खाना, आफ्ना मिल्ने साथीभन्दा पनि बढी प्रविधिलाई प्राथमिकता दिने गरेको पाइन्छ ।
२०/२५ वर्ष पहिलेका बालबालिका ढिँडो कसरी ओडाल्ने आमा भनेर सोध्ने र गर्थे । आजका बालबालिकालाई ढिँडो ओडाल्ने कुरा त के ढिँडो भन्नेसम्म सुन्न पाउँदैनन् । आजभोली युट्युब हेरेर मैंले यस्तो खाना बनाए वा बनाउछु भनेको पाउँछौं । हाम्रा आमा, हजुरआमाले आगोमा फुँ फुँ गरेर बनाएको खानाको स्वाद र बनाउने तरिका हाम्रा बालबालिकालाई थाहा छैन । यो कुरा सुनाउँदा उनीहरुलाई एकादेशको कथा जस्तो लाग्छ । आमा वा हजुरआमाले हामीलाई ढिँडो ओडाल्न सिकाउँदै गर्दा पाइने आमा छोरीको साथ, सामिप्यता, माधुर्यता, एक्लोपनको बोझबाट छुटकारा अनि आमा पुस्ताले पाउने खुसी र सन्तुष्टि आदि कुराहरु गुमाउँदै गर्दा हामी कम सामाजिक, कम पारिवारिक, कम मायालु, कम मृदुभाषि अनि कम खुसी बन्दै गएका छौं ।
अभिभावकले समाजमा जे जति गर्न सकिन्छ, त्यति समाजलाई आफ्नो तर्फबाट गरौं अनि बालबालिकालाई समाज र छिमेकमा कसरी भिज्ने भन्ने कुरा सिकाउनुका साथै के कसरी पुराना कुराहरु (इतिहास) जानकारी गराउन सकिन्छ भन्ने सोच्न जरुरी छ ।
पुराना कुरा धेरै त अन्धविश्वास र रुढिवादी हुन्छन् भन्ने सोच बालबालिकामा पर्न गएको छ । यस्ता कुरामा अभिभावक चिन्तित हुन जरुरी छ । अभिभावकले पनि समयको सदुपयोग गर्दै अर्काको गफ सुनेर, सामाजिक संजालमा झुण्डिएर बस्नुको साटो बालबालिकालाई हिँजोका कुराका बारेमा भन्न जरुरी छ । यदि यसो गर्न सकेनौ र छोरीछोरी प्रविधिको मात्र भरमा बस्न थाले भने छिमेक, समाज र देशका बारेमा उनीहरुलाई बुझाउन बाबुआमाको लागि चुनौती र चिन्ताको विषय बन्छ भन्नेमा दुईमत नहोला । आजभोली प्रविधिका कारण एउटै घरमा बस्ने तर, परिवार, परिवार जस्तो नदेखिने वातावरण बन्दै गएको स्थिति छ । धेरै परिवारमा आत्मियतासमेत छैन ।
समय परिवर्तनशील छ, भन्ने कुरा थाहा हुँदाहुँदै पनि परिवर्तनको बाटोमा लाग्नुभन्दा मनोरञ्जनको बाटोमा लागेर अभिभावकले आफ्ना बच्चालाई समय कम दिएको पाइन्छ । हो, समयको मागसगैँ परिवर्तनको बाटो रोजी विकासको खोजिमा लाग्न जरुरी अथवा आवश्यकता देखिन्छ । प्रविधिको आवश्यकता भन्दा पनि मनोरञ्जनले अभिभावकसगैँ बालबालिकालाई बढी नै प्रभाव पारेको पाइन्छ । खानेकुरा मात्र कुलत होइन भन्ने कुरा बुझ्न र बुझाउन अति नै जरुरी देखिन्छ । जाँडरक्सी, चुरोट, खैनी र मदिराजन्यकुरा मात्र बालबालिकाको मनस्थितिमा कुलत हो भन्ने पारेका तपाइँ–हामी नै हौँ । मूख्य त समाजिक संजालका फाईदा बेफाइदा अभिभावकहरुले बालबालिकालाई बुझ्ने र बालबालिकालाई बुझाउन जरुरी छ । यसलाई पनि सहित तरिकाले चलाउन नजाने चुरोट रक्सी भन्दा बढी खतरानक लत प्रविधि हुन्छ भन्ने अभिभावकले बुझन् जरुरी छ । समाजको विकास गर्ने मानिसहरु हामीहरु नै हौँ र हामीनै यसमा अगाडि बढ्न जरुरी छ । प्रविधिको सही प्रयोग गरौं ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies