२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

विपद्को घडीमा आरोप-प्रत्यारोप होइन, तथ्यमा आधारित समीक्षा र रचनात्मक सहकार्य आवश्यक : गणेश पराजुली

Nada
२०८३ असोज १५ गते १३:४१
Shares
विपद्को घडीमा आरोप-प्रत्यारोप होइन, तथ्यमा आधारित समीक्षा र रचनात्मक सहकार्य आवश्यक : गणेश पराजुली

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले विपद् व्यवस्थापनमा आरोप-प्रत्यारोपभन्दा माथि उठेर रचनात्मक सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

ncell

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रभावित नागरिकको घाउमा मलम लगाउन र पुनर्निर्माणलाई तीव्रता दिन तीनै तहका सरकारका साथै प्रतिपक्ष दल र नागरिक समाजको एकीकृत प्रयास आवश्यक रहेको बताएका हुन् ।

नेता पराजुलीले पछिल्लो समय जलवायु परिवर्तनका कारण आएको बाढी, पहिरो र डुबानले सिर्जना गरेको त्रासदीपूर्ण अवस्थाको समीक्षा गर्दै यसलाई केवल मौसमी घटनाका रूपमा मात्र लिन नहुने बताए । उनले हिमालय क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै यसको संरक्षणलाई साझा अन्तर्राष्ट्रिय जिम्मेवारीको रूपमा स्थापित गर्न नेपालले निरन्तर पहल गर्नुपर्ने बताए । प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघीय महासभाको सम्बोधनले जलवायु न्यायका पक्षमा नेपालको अडानलाई विश्वमञ्चमा बलियो बनाएको भन्दै उहाँले अब त्यसलाई ठोस साझेदारी र प्रविधि हस्तान्तरणमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।

संसदीय विशेष समितिको जिम्मेवारी सम्हालेका पराजुलीले विपद्को वैज्ञानिक अध्ययन गर्दै पूर्वाग्रहविना परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाए ।

सुशासनका सम्बन्धमा रास्वपाको अडान प्रष्ट पार्दै नेता पराजुलीले विगतमा दलीय हस्तक्षेप र भागबण्डाले कमजोर बनाएको प्रशासनिक प्रणालीलाई विधि र निष्पक्षताको बाटोमा ल्याउन समय लाग्ने भए पनि सरकार सही मार्गमा रहेको दाबी गरे । उनले कर्मचारी सरुवामा डिजिटल प्रणाली, अनलाइन सेवा र सार्वजनिक जग्गा संरक्षणजस्ता कदमहरू सुशासनका सुरुवात भएको बताउँदै घुस खोरीको अन्त्यका लागि नागरिकको सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।

उनले चाडपर्व नजिकिँदै गर्दा विपद्मा परेका नागरिकहरूको दुःखमा साथ दिन सबै नेपालीलाई आग्रह गरे ।

ताजा खबर

सम्बन्धित खबर