२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

सन्धिखर्क नगरपालिकाको ८६ करोड ४५ लाखको बजेट पारित

कृषि र पर्यटनलाई उच्च प्राथमिकता

Nada
सूर्यप्रसाद भुसाल
२०८३ असार १३ गते २०:५८
Shares
सन्धिखर्क नगरपालिकाको ८६ करोड ४५ लाखको बजेट पारित

सन्धिखर्क : सन्धिखर्क नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण संरक्षण तथा सुशासनलाई प्राथमिकतामा राख्दै ८६ करोड ४५ लाख २५ हजार रुपैयाँको बजेटसहित वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।

ncell

पर्यटकीय स्थल अर्घाको मसुरेपाटामा शनिबार सम्पन्न नगरसभाको २०औं अधिवेशनमा नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । ‘सबै नगरबासीको रहर, सुन्दर र समृद्ध सन्धिखर्क नगर’ भन्ने नारालाई कार्यान्वयन गर्ने लक्ष्यसहित प्रस्तुत नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको हो । 

नगरपालिकाले वित्तीय अनुशासन, पारदर्शिता, सुशासन, करदाता मैत्री राजस्व प्रशासन तथा शून्य बेरुजु अभियानलाई कडाइका साथ लागू गर्ने जनाएको छ । राजस्व प्रणालीलाई सूचना प्रविधिमा आधारित बनाउँदै कर प्रशासनलाई थप पारदर्शी र प्रभावकारी बनाइने नीति लिइएको छ ।

पर्यटन प्रवद्र्धनतर्फ सुपादेउराली, खाँची दरबार, अर्घा भगवती, मथुराधाम र रक गार्डेनलाई जोडेर ‘पर्यटन सर्किट’ निर्माण गरिने भएको छ । सुपादेउराली मन्दिर क्षेत्रको सौन्दर्यीकरण, पार्किङ व्यवस्थापन तथा पूर्वाधार विकास गरिनेछ। साथै नरपानी र पोखेडाँडा होमस्टेको स्तर उन्नति, ट्रेकिङ रुटको विकास, जीपीएस ट्र्याकिङ तथा गुगल म्यापमा पर्यटन गन्तव्य समावेश गर्ने योजना पनि अघि सारिएको छ ।

कृषि तथा पशुपालनलाई व्यवसायीकरण गर्ने लक्ष्यसहित जैविक खेती प्रवद्र्धन, कृषि मेसिनरीको प्रयोग विस्तार, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई कृषिमा आकर्षित गर्ने, कृषक परिचयपत्र वितरण, अकबरे खुर्सानी खेती, मौरीपालन, तरकारी पकेट क्षेत्र विकास तथा कृषि पर्यटन र फार्मस्टे कार्यक्रमलाई प्राथमिकता दिइएको छ । निर्माण सम्पन्न शीतभण्डार आगामी वर्षदेखि सञ्चालनमा ल्याइने र स्थानीय हाटबजारलाई व्यवस्थित बनाइने नीति पनि पारित भएको छ ।

पशुपालन क्षेत्रअन्तर्गत कृत्रिम गर्भाधान मिसन, पशु बिमा, महामारी नियन्त्रणका लागि खोप अभियान तथा आधुनिक पशु प्रयोगशाला सञ्चालन गरिने भएको छ ।

शिक्षा क्षेत्रमा विद्यालयको गुणस्तर सुधार, उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीलाई सम्मान गर्ने व्यवस्था, ‘जहाँ विद्यार्थी, त्यहीँ शिक्षक’ नीतिअनुसार दरबन्दी मिलान र विद्यालय समायोजन गरिने नीति लिइएको छ ।

स्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइने, सुत्केरी महिलालाई घरमै पुगेर पीएनसी सेवा प्रदान गरिने, आकस्मिक प्रसूति यातायात खर्च उपलब्ध गराइने, महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बिमा, कुपोषण न्यूनीकरण, डेंगु नियन्त्रण, पूर्ण खोप अभियान तथा एचआईभी संक्रमितलाई पोषण खर्च उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

पूर्वाधार विकासअन्तर्गत ‘सन्धिखर्कको रहर, स्मार्ट सहर’ अभियानलाई अघि बढाउँदै मुख्य सडकको स्तरोन्नति तथा कालोपत्रे, वडा कार्यालयलाई सुविधा सम्पन्न बनाउने, नदी किनारलाई करिडोरका रूपमा विकास गर्ने, बजार क्षेत्रमा नाली, ढल निकास र फुटपाथ निर्माणलाई प्राथमिकता दिइनेछ। साथै सडक, पुल, कल्भर्ट, खानेपानी विस्तार तथा ‘एक घर, एक धारा’ अभियानलाई पनि निरन्तरता दिइनेछ ।

सार्वजनिक जग्गा संरक्षण, भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण, बजार व्यवस्थापन र ट्राफिक पूर्वाधार विकासका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

वातावरण संरक्षणतर्फ ‘फोहोरबाट मोहोर’ अभियान सञ्चालन गर्दै फोहोरको स्रोतमै वर्गीकरण, पुनःप्रयोग तथा जैविक मल उत्पादनमा जोड दिइनेछ। वन संरक्षण, वन डढेलो नियन्त्रण, पानीका मुहान संरक्षण तथा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण अभियानलाई पनि प्राथमिकता दिइएको छ ।

विपद् व्यवस्थापनका लागि स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना, विपद् प्रतिकार्य योजना कार्यान्वयन तथा उच्च जोखिममा रहेका बस्ती स्थानान्तरणका लागि पहल गरिने नीति रहेको छ ।

नगरपालिकाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै ९० लाख रुपैयाँभन्दा माथिका सबै योजनाको ठेक्का विद्युतीय खरिद प्रणालीमार्फत गर्ने जनाएको छ । डिजिटल घरनक्सा पास, विद्युतीय भुक्तानी, ई–हाजिरी तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत सेवा प्रवाहलाई आधुनिक बनाइनेछ । ‘हातहातमा स्मार्टफोन, घरघरमा डिजिटल सेवा’ अभियान पनि सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

नगर उपप्रमुख मिश्रा आचार्यले आगामी आर्थिक वर्षका लागि ८६ करोड ४५ लाख २५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए भने प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल र योजना शाखा प्रमुख दिलीप केसीले नीति तथा कार्यक्रमका विभिन्न पक्षबारे जानकारी दिएका थिए ।

ताजा खबर

सम्बन्धित खबर