मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : निर्वाचन आयोगले असोज १४ गतेभित्र समानुपातिक तर्फको बन्द सूची सच्याइ सक्न दलहरूलाई आग्रह गरेको छ । १६ गतेसम्म सच्याउनका लागि प्रयासरत दलहरूलाई आयोगको आग्रहले झस्काएको छ ।
आयोग स्रोतका अनुसार ६ वटा राष्ट्रिय दललाई १४ गतेभित्र समानुपातिक बन्द सूची सच्याइ सक्न भनिएको छ । ६ वटा दलहरूमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी रहेका छन् । यही बाहेकका अन्य दलहरूलाई भने असोज १६ गतेसम्मै समय दिइएको छ । निर्वाचन आयोगका अधिकारीहरूका अनुसार ठूला दलहरुको सूची लामो भएकाले छिटो सक्न भनिएको हो ।
निर्वाचन आयोगमा दर्ता भएका दलहरूले असोज २ र ३ गते समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएका थिए । मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश सभा र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउने व्यवस्था छ । यसअनुसार प्रतिनिधिसभामा ११० र प्रदेश सभामा २२० सांसद समानुपातिकबाट छानिनेछन् ।
प्रदेश र प्रतिनिधिसभाको बन्द सूची सच्याउने दबाबमा रहेका दलहरू प्रत्यक्षतर्फको टिकट वितरणमा पनि उत्तिकै लाग्नु परेको छ । यसबेला टिकट दिने र लिने दुवैमा उस्तै चटारो देखिन्छ ।
निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार आउँदो असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ । असोज २२ गतेसम्म जसैगरी टिकटको विषय दलहरूले टुंगो लगाउनुपर्ने हुन्छ । चुनावी तालमेल गर्न सहमत पाँच दलीय सत्ता गठबन्धन भागबन्डामा केन्द्रित छ । साथसाथै गठबन्धनमा रहेका दलहरुले छुट्टाछुट्टै चुनावी घोषणापत्रको तयारीलाई समेत तिव्र बनाएका छन् । यही बेला शीर्ष नेताहरूको घरमा टिकट बाँड्नेको पनि भीड देखिन्छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि पाँच दलीय गठबन्धनमा रहेका दलहरु बाहेकका दलहरूसँग तालमेल गर्ने नीति लिएको छ । लोकतान्त्रिक समाजवादीसँग नजिकिएको एमालेले तालमेलका लागि वार्ता समिति नै बनाएर छलफल अगाडि बढाएको छ ।
२३ गते उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले पनि दलहरुलाई चटारो छ । २३ गते दर्ता भएको उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरी २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिने छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्नेछ । जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्षतर्फको मतपत्र छाप्न झण्डै एक महिना लाग्ने जनाएको छ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।
असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ । तालिका अनुसार कात्तिक १६ गते मतदान सामग्री ढुवानी र २७ गते मतपत्र ढुवानी गरिने निर्वाचन आयेगले जनाएको छ ।
मंसिर ४ गतेको चुनावका लागि १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । ४ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ भने त्यही दिनदेखि नै समानुपातिक र प्रत्यक्षतर्फको मतगणना सुरु गर्ने आयोगको तयारी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies