२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

जीवन, संस्कृति र आस्थाको विम्ब

Nada
रत्न प्रजापति
२०८३ असार २० गते ०६:०५
Shares
जीवन, संस्कृति र आस्थाको विम्ब

कविका रूपमा नेपाली साहित्यमा पदार्पण गरेर पछिल्लो समय निबन्धकारका रूपमा आफूलाई स्थापित गर्दै आएका प्रतिभाशाली स्रष्टा हुन्, बोधराज पौडेल । नेपाली भाषा र साहित्यमा क्रियाशील पौडेल विशेषगरी निबन्धलेखनमै सक्रिय देखिन्छन् । यसअघि प्रथम कृतिका रूपमा ‘बगर र काँसहरू’ (कवितासंग्रह, २०७५) प्रकाशित गरेका पौडेलका ‘सोकेसमा ऐना’ (निबन्धसंग्रह, २०७८) पनि प्रकाशित छ । उनै निबन्धकारको नवीनतम निबन्धकृति ‘धमिराको देवल’ (२०८२) प्रकाशित भएको छ । यस संग्रहमा २२ वटा निबन्ध संगृहीत छन् । यसलाई परिबोध मिडिया प्रा.लि., चाबहिलले प्रकाशित गरेको हो ।

ncell

सामाजिक जीवनका समसामयिक घटनाक्रमलाई निजात्मक अनुभूतिले सिँगारेर अत्यन्तै कलात्मक निबन्ध लेख्न सिपालु निबन्धकार पौडेलका निबन्धहरूमा समयचेतना र मानवीय संवेदनालाई हार्दिकतापूर्वक अभिव्यक्त गरिएको पाइन्छ । ‘धमिराको देवल’ निबन्धसंग्रहका निबन्धहरूले समयको आवाजलाई पक्रँदै सामाजिक तथा राजनीतिक थिति–बेथितिलाई मार्मिक ढंगले उजागर गरेका छन् ।

धमिरा र छिचिमिरालाई विम्ब तथा प्रतीकका रूपमा प्रयोग गरेर प्रशस्तै साहित्यिक सिर्जना भएका छन् । त्यो परम्परालाई निबन्धकार पौडेलले पनि पछ्याएका छन् । धमिरा र छिचिमिरालाई इमानदारी र आकांक्षाको विम्ब बनाएर धेरै लेखकहरूले साहित्य सिर्जना गरेका छन् । निबन्धकार पौडेलले पनि सोही आशय झल्किने गरी निबन्ध लेखेका छन् ।

‘धमिराको देवल’ सुन्दर प्रतीक हो । यसले धमिरा र देवललाई क्रमशः जीवन र आस्थाका रूपमा प्रस्तुत गरेको छ । धमिरा जीवन हो भने देवल आस्था हो । यी दुवैलाई माटोसँगको सम्बन्धले जोड्ने प्रयास गरिएको छ । संग्रहमा ‘धमिराको गुँडमा छिचिमिराको साम्राज्य’ शीर्षकको एउटा निकै सुन्दर र प्रतीकात्मक निबन्ध छ । यसै निबन्धबाट यस संग्रहको नाम ‘धमिराको देवल’ चयन गरिएको प्रतीत हुन्छ । यस निबन्धमा जीवन, श्रम, संस्कृति र आस्थालाई विम्ब तथा प्रतीकहरूको सहायताले अत्यन्तै सुन्दर ढंगले प्रस्तुत गरिएको छ । धमिराले माटोको ढिस्कोमा प्वालैप्वालसहितको देवल बनाउँछ र छिचिमिराहरूले शरीरमा प्वाँख पलाएपछि उड्ने रहरले आकाश ताक्छन् । उड्दाउड्दै प्वाँख झरेपछि उनीहरू मर्छन् । यसले जीवन, मृत्यु, आकांक्षा र असफलता जीवनसँगै जोडिएका अभिन्न पाटा हुन् भन्ने संकेत गरेको छ । यस निबन्धमा निबन्धकारले जीवनदर्शनको एउटा पाटोलाई सूक्ष्म रूपमा विश्लेषण गरेका छन् ।

यस निबन्धमा विम्ब–प्रतीकका साथै अन्योक्तिको पनि प्रयोग छ । देवलमा बस्ने धमिरा र छिचिमिराले अर्कै तथ्यतर्फ इंगित गरेको महसुस हुन्छ । धमिराको हुन् र छिचिमिरा को हुन् भनेर चिन्न वा अन्दाज गर्न असहज छैन । यस निबन्धले केही सन्देश पनि दिन खोजेको छ । ‘...धमिराहरू कामचोर हुँदैनन् । उनीहरू जिम्मेवारीमा परेको कामलाई पूर्ण गरेर छाड्छन् ।’ (पृष्ठ ३२) भन्ने वाक्यांशले मान्छेलाई धमिराझैं इमानदार र मिहिनेती बन्ने प्रेरणा दिन्छ ।

अर्को उल्लेख्य निबन्ध ‘ग्रहणले लुकाएको सूर्यमा सियोको डोब’ हो । काव्यात्मक रस भएको भावप्रधान यस निबन्धमा एउटा जुत्ता सिउने शिल्पीको जीवनकथालाई निकै भावनात्मक शब्दशिल्पले सजाइएको छ । यसमा जीवनदर्शन र चिन्तनको पनि सुन्दर प्रयोग भएको छ । ‘...जीवनको यात्रा र धागोको गुजुल्टो बराबर छ । यो अल्झियो भने निकाल्न कठिन पर्छ ।’ (पृष्ठ ४१) भन्ने जीवनदर्शन मननीय छ ।

मन मान्छेको निर्देशक हो, चालक हो । मनकै इसारामा मान्छे परिचालित हुन्छ । मनकै इच्छा, चाहना, खोजी र सफलता प्राप्तिका लागि मान्छे सार–निस्सार सबै अवस्थामा दौडिरहन्छ । मनको तृष्णाले ‘मिराज’लाई पानी सम्झेर त्यसलाई भेट्न दौडिरहन्छ, तर कहिल्यै भेट्न सक्दैन, किनकि मिराज भनेकै भ्रम हो । यस्तै भावना समेटिएको ‘लुप्त मनले उघाएको तृष्णा’ अत्यन्तै सुन्दर र पठनीय निबन्ध हो ।

आँधी विनाशको पर्याय मात्र होइन, नवसिर्जनाको विम्ब पनि हो । आँधीले हल्लाउँछ, लछार्छ, पछार्छ, उडाउँछ र सिनित्त पार्छ । अनि फेरि त्यही ठाउँमा नयाँ सिर्जना हुन्छ, नयाँ रूपहरूमा । अन्तरमनको आँधी पनि त्यस्तै हो, जसले जीवनलाई लछार्छ, पछार्छ, उडाउँछ र कहाँकहाँ पु¥याउँछ । सम्बन्धहरूलाई पनि भत्काउँछ । तर आँधी रोकिएपछि सारा रोष, ईष्र्या र द्वेष समाप्त हुन्छन् र नयाँ जीवन तथा नयाँ सम्बन्धको सुरुवात हुन्छ । यस्तै भाव बोकेको ‘अन्तरमनको आँधी’ पनि निकै सुन्दर र पठनीय निबन्ध हो । यसमा मानवीय प्रवृत्तिको सुन्दर चित्रण गरिएको छ ।

यसैगरी, ‘अतृप्त जलको तृष्णा’ निबन्धमा एउटा मातेको अर्थात् जँड्याहा चरित्रको चित्रण छ । तर मातेको मान्छेको चित्रणमा पनि सुन्दर पदावली, आकर्षक विम्ब, कलात्मकता, मननीय जीवनदर्शन र जीवनको यथार्थ छ । निबन्धकार पौडेल लेख्छन्, ‘संसारमा कोही सत्य बोल्ने निर्भीकता प्रकट गर्छ भने त्यो मातेको मान्छे हो । मातेको मान्छेले अरूको कुभलो चिताउँदैन । आफैं एकल स्वर्गको राजा हुन्छ ।’ (पृष्ठ १०४) यति सुन्दर भावना र यति प्रभावशाली अभिव्यक्ति एउटा कुशल शब्दशिल्पी अर्थात् कुशल निबन्धकारले मात्र दिन सक्छ, जुन निबन्धकार बोधराज पौडेलले दिएका छन् । यस्ता सुन्दर भावना र अभिव्यक्ति उनका हरेक निबन्धमा पाइन्छन् । ‘धमिराको देवल’ भित्रका सबै निबन्ध यस्तै सुन्दर भावना र अभिव्यक्तिको समुच्चय हुन् ।

व्यंग्य, कटाक्ष र अन्योक्तिले भरिएको ‘झर्नुस् झर्नुस् चौरासी आइपुग्यो’, जीवनको अर्थबोध गराउने ‘समय चक्र’, जीवन र अध्यात्मबीचको अन्योन्याश्रित सम्बन्ध प्रस्तुत गर्ने ‘भुल्दै गएको तत्वबोध’ तथा जीवन र जगतका शाश्वत सत्य उद्घाटन गर्ने ‘अन्तरदशामा रमाएको मनोदशा’ उल्लेखनीय निबन्धहरू हुन् । आकांक्षा, सपना, प्राप्ति र सफलताका लागि सधैं भागदौड गर्नुमा कति सार र कति निस्सार छ भन्ने आत्मबोध गराउने ‘निस्सार भागदौड’, जीवन, जगत, प्रकृति, पर्यावरण, समाज र संस्कृति एक–अर्काबीचको सम्बन्धमा चलेका र टिकेका छन् भन्ने भाव बोकेको ‘सम्बन्ध’ तथा कपटीहरूको संगतले काम मात्र होइन, ज्ञान पनि बढ्छ भन्ने सन्देश दिने ‘कपटीहरूको संगत’ पनि उत्तिकै प्रभावशाली छन् । यी निबन्धहरूले पठनको आनन्दसँगै मानवीय सचेतनाका सन्देश पनि दिन्छन् ।

निबन्धकारलाई कतै ‘गर्भमा गर्भको बोध’ भएको छ । कतै ‘कोरोना’ कहरले आहत बनाएको छ । कतै उनी ‘समुद्र सगरमाथा संवाद’का दर्शक–श्रोता बनेका छन् । कतै ‘जीवनको भोग’ गर्न पुगेका छन् । कतै जीवनको ‘आदर्श’ बन्ने मार्गको खोजीमा छन् भने कतै ‘भुल्दै गएको तत्वबोध’मा हराएको आत्मसम्मान खोज्न पुगेका छन् । कतै ‘सालिकको बकपत्र’का साक्षी बनेका छन् । वर्तमान समाजमा मानिसहरू नितान्त व्यक्तिवादी र आत्मकेन्द्रित बन्दै गएको देखेर आफैंलाई ‘मान्छे किन आफैंभित्र हराउँछ ?’ भनेर प्रश्न गरेका छन् । पाखनदेवको गुणमा निबन्धको संघर्ष पनि देख्छन् र आफ्नो संगत तथा सम्बन्ध दुवै भएका मित्र कमलप्रति स्मृतिविम्ब पनि कोर्छन् ।

समग्रमा भन्नुपर्दा ‘धमिराको देवल’ निबन्धकार बोधराज पौडेलको गहन विचार र चिन्तनको प्रतिफल हो । यस संग्रहमा विषयविविधता छ । त्यसभित्र निबन्धकारले ज्ञान, विचार, चिन्तन र दर्शनका माध्यमबाट जीवन र जगत्का विविध आयामलाई उजागर गरेका छन् । रचनाविधान, अभिव्यक्ति–कौशल, शब्दचयन, लेखनशिल्प र कलात्मकताका दृष्टिले निबन्धहरू उत्कृष्ट छन् । तिनमा निबन्धकारको अन्तश्चेतना, व्यावहारिक परिपक्वता, जीवनबोध र आत्मानुभूतिको स्पष्ट अभिव्यक्ति पाइन्छ । व्यंग्य, कटाक्ष र अन्योक्तिका माध्यमबाट व्यक्त सचेतनाले समाजका विभिन्न चरित्र र प्रवृत्तिलाई खबरदारी पनि गरेको छ ।

जीवनका भोगाइ, अनुभव, अनुभूति, सामाजिक यथार्थ, राजनीतिक विसंगति, आध्यात्मिक तथा सांस्कृतिक चेतना, समयको पदचाप, मानवीय संवेदना र अस्तित्वबोधलाई विम्ब, प्रतीक तथा अर्थालंकारका माध्यमबाट अत्यन्तै गहन र सुन्दर शिल्प–शैलीमा प्रस्तुत गरिएका यी निबन्धहरू प्रभावशाली र पठनीय छन् । निबन्धहरूमा हार्दिकता, कोमलता, भावुकता र बौद्धिकताको सन्तुलित संयोजन छ, जसले तिनलाई ओजपूर्ण बनाएको छ । पठनको आनन्दले पाठकलाई पुलकित बनाउन सक्नु नै यस निबन्धसंग्रहको सफलताको प्रमुख कसी मान्न सकिन्छ । यद्यपि शब्दार्थको गाम्भीर्यका कारण कतैकतै पाठकलाई पठनमा केही असहजता महसुस हुन सक्छ ।

सम्बन्धित खबर