२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

चिया बजारको समस्या

Nada
अच्युतप्रसाद पौडेल 'चिन्तन'
२०८३ असार २१ गते ०६:००
Shares
चिया बजारको समस्या

नेपालको पूर्वी क्षेत्रमा केही समय बन्द भएका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन् । नेपाली निकासी वस्तुमध्ये चिया र अलैंचीले महत्वपूर्ण स्थान ओगटेका छन् । पछिल्लो समय संसद्मा पनि चियाको बजार र निर्यातका विषयमा छलफल भएको छ । विशेषतः भारतले गुणस्तर परीक्षणका नाममा नेपाली चियाको निकासीमा अवरोध सिर्जना गरेको गुनासो उठ्दै आएको छ । यो नयाँ समस्या भने होइन । त्यसैले यसको दीर्घकालीन समाधानका लागि प्रभावकारी कूटनीतिक पहल आवश्यक देखिन्छ ।

ncell

केही वर्षअघिसम्म चिया निर्यातमा प्रतिकिलो पाँच रुपैयाँ अनुदान दिइन्थ्यो, तर अहिले त्यो व्यवस्था छैन । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार चालु आर्थिक वर्षको चैतसम्म ९ लाख ४३ हजार ७९४ केजी चिया निर्यात भएको छ । वि.सं. १९२० मा कर्णेल गजराज सिंहबाट सुरु भएको नेपाली चिया खेती अहिले २० हजार ६०३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वार्षिक करिब २ करोड ६१ लाख केजी चिया उत्पादन हुने र यस क्षेत्रबाट ६० हजारभन्दा बढीले रोजगारी पाएका छन् । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १ करोड ५६ लाख केजी चिया निर्यातबाट ४ अर्ब ५९ करोड रुपैयाँ आम्दानी भएको थियो । बोर्डका अनुसार वार्षिक करिब १५ हजार ६ सय मेट्रिक टन चिया निर्यात हुनेमध्ये ८६ प्रतिशत भारतमै जाने गरेको छ ।

चिया विश्वमै पानीपछि सबैभन्दा बढी उपभोग हुने पेय पदार्थमध्ये एक मानिन्छ । यसको उत्पत्ति चीनमा भएको विश्वास गरिन्छ । किंवदन्तीअनुसार ईसापूर्व दशौँ शताब्दीका चिनियाँ सम्राट सुन नुङले उमालेको पानीमा संयोगवश चियाको पात खसेपछि त्यसको स्वाद र सुगन्ध मन परेपछि यसको प्रयोग सुरु गरेका थिए । यही घटनापछि चियाको लोकप्रियता क्रमशः बढ्दै गएको मानिन्छ ।

चिया चीनबाट सुरु भएर पछि कोरिया, जापान तथा अन्य एसियाली मुलुकमा फैलियो । १६औँ शताब्दीदेखि यसको व्यावसायिक खेती सुरु भयो भने पोर्चुगिज व्यापारीहरूले यसलाई युरोपसम्म पुर्‍याए । सुरुमा चीनमा महिलाहरूले चियामा चिनी वा अन्य गुलियो पदार्थ मिसाएर पिउने चलन थियो । अहिले भने फिक्का चिया, दूध चिया, हरियो चिया, हर्बल चिया आदि विभिन्न स्वाद र शैलीमा विश्वभर पिइन्छ । सानो र कोमल पातबाट बनेको चियाको मूल्य बढी हुन्छ । हरियो चिया स्वास्थ्यका दृष्टिले लाभदायक मानिन्छ ।

विश्वका विभिन्न मुलुकमा चिया पिउने आफ्नै संस्कृति छ । आयरल्यान्डका मानिसले प्रतिदिन सबैभन्दा बढी चिया पिउने गरेका छन् भने भारत विश्वकै ठूलो चिया उपभोक्ता राष्ट्रमध्ये एक हो । अमेरिका र क्यानडामा भने तातोभन्दा चिसो ‘आइस टी’ लोकप्रिय छ । म्यानमारमा चियाको अचार खाने चलन छ भने हिमाली क्षेत्रमा चौँरीको घिउ र नुन मिसाएर चिया पिइन्छ । बेलायत र अमेरिकामा अलैंची, दालचिनी, सुकुमेलजस्ता मसला मिसाएर चिया पिउने परम्परा पुरानै हो । उत्तर अफ्रिकाका केही मुलुकमा भने माथिबाट चिया खन्याएर फिँज आउने गरी पिउने चलन आज पनि कायम छ ।

आधुनिक टी–ब्यागको विकास पनि चियाको इतिहाससँग जोडिएको छ । सन् १९०३ मा अमेरिकी व्यापारीहरूले रेशमी साना थैलीमा चिया बिक्री गर्न थालेका थिए । पछि यसको आधुनिक रूप विकास भयो । दोस्रो विश्वयुद्धपछि सन् १९५३ मा बेलायती कम्पनी टेट्लेले व्यावसायिक रूपमा टी–ब्याग बजारमा ल्यायो । त्यसपछि बोतलमा चिसो चिया, तयारी चिया लगायतका उत्पादनले पनि विश्व बजारमा लोकप्रियता हासिल गरे ।

नेपालमा चियाको व्यावसायिक खेती सन् १९६० पछि विस्तार भएको हो । वि.सं. २००७ पछि नेपाली समाजमा चिया संस्कृतिले व्यापक स्थान पाउन थाल्यो । इलामबाट सुरु भएको खेती झापा, पाँचथर, धनकुटा, तेह्रथुमलगायत जिल्लामा फैलियो । चियाको सम्भावना देखेर तत्कालीन राजा वीरेन्द्रले सन् १९८० मा इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुमलाई चिया क्षेत्र घोषणा गरेका थिए । अहिले नेपालमा थुप्रै चिया बगान र प्रशोधन उद्योग सञ्चालनमा छन् । अर्थोडक्स र सिटिसी दुवै प्रकारका चिया उत्पादन गरिन्छ । नेपाली चियाको गुणस्तर उत्कृष्ट मानिए पनि अन्तर्राष्ट्रिय बजारमा अपेक्षित पहिचान र मूल्य अझै प्राप्त हुन सकेको छैन ।

इलामको कन्याम, फिक्कल, श्रीअन्तु, सोक्तिम, जसबीरे, पानीटार, पाँचथरको कञ्चनजङ्घा क्षेत्र, पाथीभरा तथा झापाको बुधबारे, बर्ने र टोक्लालगायतका चिया बगानले जो–कोहीलाई आकर्षित गर्छन् । हरिया चिया बगानका मनोरम दृश्यले पर्यटक मात्र होइन, स्वदेशी आगन्तुकलाई पनि लोभ्याउँछन् । गुणस्तरीय चिया उत्पादनका लागि उपयुक्त हावापानी, माटो र करिब ७ हजार २०० फिटसम्मको उचाइ उपयुक्त मानिन्छ । कोमल दुई पात र एक सुइरो टिपेर प्रशोधन गरिन्छ । रोलिङ, सुकाउने र ग्रेडिङपछि सिटिसी वा अर्थोडक्स चिया तयार हुन्छ । हरियो चियाका लागि पातलाई विशेष विधिबाट प्रशोधन गरिन्छ, जसलाई स्वास्थ्यका दृष्टिले लाभदायक मानिन्छ ।

पूर्वका पहाडबाट सूर्योदयसँगै नेपाली घर–घरमा चियाको सुवास फैलिन थाल्छ । इलाम, फिक्कल, श्रीअन्तु र कन्यामका चिया बगानले केवल उत्पादन मात्र होइन, नेपाली पहिचान, पर्यटन र अर्थतन्त्रलाई पनि समृद्ध बनाएका छन् । गुणस्तरीय उत्पादन, प्रभावकारी बजार व्यवस्थापन र अन्तर्राष्ट्रिय कूटनीतिक पहलमार्फत नेपाली चियाले विश्व बजारमा अझ सशक्त स्थान बनाउन सक्ने पर्याप्त सम्भावना रहेको छ ।

सम्बन्धित खबर