
शिक्षा केवल पाठ्यपुस्तक पढाउने वा गृहकार्य गराउने प्रक्रिया होइन, यो बालबालिकाको ज्ञान, सीप, सोच, व्यवहार र व्यक्तित्वको समग्र विकास गर्ने प्रक्रिया हो । यो प्रक्रिया प्रभावकारी हुनका लागि शिक्षकले शिक्षण–सिकाइका आधारभूत सिद्धान्तहरूको ज्ञान राख्नुपर्छ । त्यति मात्र होइन, घरमा बालबालिकाको अध्ययनमा सहयोग गर्ने अभिभावकले पनि यी सिद्धान्तहरू बुझ्नु आवश्यक छ । दुर्भाग्यवश, आज विद्यालयहरूमा कार्यरत कतिपय अप्रशिक्षित शिक्षकहरूलाई शिक्षणका यस्ता आधारभूत सिद्धान्तबारे पर्याप्त जानकारी नहुँदा सिकाइको गुणस्तर अपेक्षित स्तरमा पुग्न सकेको छैन ।
शास्त्रीय पक्षबाट प्रभावकारी शिक्षणका केही सर्वमान्य सिद्धान्त छन् । तीमध्ये प्रमुख ६ वटा सिद्धान्त हुन्– सरलबाट कठिनतिर, ज्ञातबाट अज्ञाततिर, स्थूलबाट सूक्ष्मतिर, विशेषबाट सामान्यतिर, विश्लेषणबाट संश्लेषणतिर र पूर्णबाट अंशतिर । यी सिद्धान्त केवल परीक्षा उत्तीर्ण गर्नका लागि होइनन्, बरु बालबालिकाले सहज, दिगो र अर्थपूर्ण रूपमा सिकून् भन्ने उद्देश्यले विकसित भएका हुन् ।
पहिलो सिद्धान्त– सरलबाट कठिनतिर : कुनै पनि विद्यार्थीलाई एकैचोटि जटिल विषय सिकाउन खोजियो भने उसले विषयवस्तु बुझ्न कठिन हुन्छ । त्यसैले शिक्षण सधैं सजिला अवधारणाबाट सुरु गरी क्रमशः जटिल विषयतर्फ लैजानुपर्छ । उदाहरणका लागि, गणितमा जोड सिकेपछि मात्र गुणा र भाग सिकाउनु उपयुक्त हुन्छ । भाषामा अक्षर सिकेपछि शब्द, शब्दपछि वाक्य र त्यसपछि अनुच्छेद सिकाइन्छ ।
दोस्रो सिद्धान्त– ज्ञातबाट अज्ञाततिर : बालबालिकाले पहिले नै जानेका अनुभव र ज्ञानलाई आधार बनाएर नयाँ विषय सिकाउँदा सिकाइ प्रभावकारी हुन्छ । गाउँमा हुर्किएको बालकलाई कृषि, पशुपालन वा स्थानीय वातावरणका उदाहरणबाट विज्ञान बुझाउन सकिन्छ । यसरी नयाँ ज्ञानलाई पुरानो अनुभवसँग जोड्दा सिकाइ जीवनसँग सम्बन्धित र अर्थपूर्ण बन्छ ।
तेस्रो सिद्धान्त– स्थूलबाट सूक्ष्मतिर : बालबालिकाले पहिले देख्न, छुन र अनुभव गर्न सकिने वस्तुबाट सिक्छन् । त्यसपछि मात्र अमूर्त अवधारणा सजिलै बुझ्न सक्छन् । उदाहरणका लागि, वास्तविक फलफूल, नक्सा, चित्र, नमुना वा प्रयोगका माध्यमबाट सिकाइ गर्दा उनीहरूले पुस्तकमा लेखिएका अवधारणालाई सजिलै आत्मसात् गर्न सक्छन् । विशेषगरी प्राथमिक तहमा यो सिद्धान्त अत्यन्त महत्वपूर्ण मानिन्छ ।
चौथो सिद्धान्त– विशेषबाट सामान्यतिर : कुनै सामान्य नियम वा परिभाषा सुनाउनुभन्दा पहिले विभिन्न उदाहरण प्रस्तुत गर्दा विद्यार्थी आफैंले निष्कर्ष निकाल्न सिक्छ । यसले उनीहरूको विश्लेषणात्मक क्षमता र तार्किक सोचको विकास गर्छ । विज्ञान, सामाजिक शिक्षा र भाषाका धेरै विषयमा यो विधि अत्यन्त उपयोगी हुन्छ ।
पाँचौं सिद्धान्त– विश्लेषणबाट संश्लेषणतिर : कुनै विषयलाई साना–साना भागमा विभाजन गरेर बुझेपछि ती सबैलाई पुनः एकीकृत गरी समग्र रूपमा बुझाउने प्रक्रिया नै विश्लेषणबाट संश्लेषणतिर जाने शिक्षण हो । यसले विद्यार्थीलाई विषयको गहिरो समझ विकसित गर्न मद्दत गर्छ । जटिल समस्याको समाधान गर्न पनि यही सोच आवश्यक हुन्छ ।
छैटौं सिद्धान्त– पूर्णबाट अंशतिर : विद्यार्थीलाई कुनै विषयको समग्र चित्र पहिला देखाएर त्यसका विभिन्न भागहरूको अध्ययन गराउँदा सिकाइ अझ स्पष्ट हुन्छ । उदाहरणका लागि, एउटा सम्पूर्ण नक्सा देखाएर त्यसपछि प्रदेश, जिल्ला वा स्थानीय तहको अध्ययन गराउनु वा पूरा कविता सुनाएर त्यसका प्रत्येक हरफको व्याख्या गर्नु यस सिद्धान्तका उदाहरण हुन् ।
यी सिद्धान्त विद्यालयका शिक्षकका लागि मात्र होइनन्, अभिभावकका लागि पनि उत्तिकै उपयोगी छन् । धेरै अभिभावकले बालबालिकालाई एकैपटक धेरै कुरा सिकाउन खोज्छन्, गल्ती गरेपछि हप्काउँछन् वा आफ्नो अपेक्षाअनुसार तुरुन्तै परिणाम खोज्छन् । तर, बालबालिकाको सिकाइ क्रमिक प्रक्रिया हो भन्ने बुझेमा उनीहरूलाई उमेर र क्षमताअनुसार सहयोग गर्न सकिन्छ । घरमा पनि सजिलोबाट गाह्रोतर्फ, परिचितबाट अपरिचिततर्फ र अनुभवबाट ज्ञानतर्फ लैजाने वातावरण बनेमा विद्यालयको सिकाइ अझ प्रभावकारी हुन्छ ।
नेपालको वर्तमान सन्दर्भमा एउटा गम्भीर चुनौती भनेको सबै शिक्षकले आवश्यक पेसागत तालिम प्राप्त नगर्नु हो । विशेषगरी निजी विद्यालय र दुर्गम क्षेत्रका कतिपय विद्यालयमा विषयगत ज्ञान भएका, तर शिक्षण–सिकाइका सिद्धान्तमा प्रशिक्षित नभएका शिक्षकहरू कार्यरत छन् । परिणामस्वरूप विद्यार्थीले विषय कण्ठ त पार्छन्, तर बुझ्दैनन्; परीक्षा त उत्तीर्ण गर्छन्, तर व्यवहारमा ज्ञान प्रयोग गर्न सक्दैनन् ।
यसका अतिरिक्त, आजको शिक्षण प्रविधिमैत्री, विद्यार्थी–केन्द्रित र सहभागितामूलक हुनुपर्ने आवश्यकता छ । यस्ता आधुनिक अभ्यासको आधार पनि यही शिक्षण सिद्धान्तहरू हुन् । डिजिटल सामग्री, प्रयोगात्मक शिक्षण, परियोजना कार्य, समूहगत छलफल र समस्या समाधानमा आधारित सिकाइको सफल प्रयोगका लागि शिक्षकले शिक्षणका आधारभूत सिद्धान्तहरू बुझेकै हुनुपर्छ ।
शिक्षाको गुणस्तर सुधार्ने हो भने नयाँ पाठ्यक्रम, आधुनिक भवन वा प्रविधि मात्र पर्याप्त हुँदैन । सबैभन्दा महत्वपूर्ण पक्ष भनेको दक्ष, प्रशिक्षित र शिक्षाशास्त्र बुझेको शिक्षक हो । साथै, अभिभावक पनि बालबालिकाको सिकाइ प्रक्रियाका सहयात्री हुन् । विद्यालय र घर दुवै स्थानमा एउटै शिक्षण दृष्टिकोण अपनाउन सके मात्र विद्यार्थीको सिकाइ दिगो, सिर्जनात्मक र जीवनोपयोगी बन्न सक्छ ।
अन्त्यमा, शिक्षण–सिकाइका यी आधारभूत सिद्धान्तहरू कुनै वैकल्पिक विषय होइनन्, यी प्रभावकारी शिक्षाका मेरुदण्ड हुन् । शिक्षक, विद्यालय व्यवस्थापन, अभिभावक र शिक्षा नीति निर्माण गर्ने निकाय सबैले यिनको महत्व बुझ्न आवश्यक छ । प्रत्येक शिक्षकलाई नियमित पेसागत तालिम, प्रत्येक विद्यालयमा शिक्षण–सिकाइको गुणस्तर अनुगमन र प्रत्येक अभिभावकलाई बालमनोविज्ञान तथा सिकाइ प्रक्रियाबारे सामान्य अभिमुखीकरण गराउन सकियो भने नेपालको विद्यालय शिक्षामा गुणात्मक सुधार ल्याउन सकिन्छ ।