
काठमाडौं : नेपाली कला, संस्कृति र मौलिक परम्परालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै एभरेस्ट नेपाल कल्चरल ग्रुप फ्रान्सबाट स्वदेश फर्किएको छ । ग्रुपका संस्थापक अध्यक्ष डा. आरसी कोइराला ‘रामचन्द्र’को नेतृत्वमा गएको टोलीले फ्रान्सको सैंट–मैक्सन शहरमा आयोजित ३८औं अन्तर्राष्ट्रिय बाल सांस्कृतिक मेलामा सहभागिता जनाएको हो ।
टोलीमा बागमती बोर्डिङ उच्च माध्यमिक विद्यालय, सुकेधाराका प्रधानाध्यापक श्याम दत्त अधिकारीको संयोजनमा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । सांस्कृतिक टोलीमा एभरेस्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष डा. कोइराला, सदस्य तथा लालिगुराँस नेसनल एकेडेमीकी उपप्रधानाध्यापक सुजिता काफ्ले उदास, बागमती बोर्डिङका प्रधानाध्यापक श्याम दत्त अधिकारी तथा विद्यार्थीहरू सुरभि अर्याल, कसिश भट्टराई, सदिच्छा महत, आहना कार्की, श्रुतिरानी गिरि, शुभान्जली साप्कोटा, शुभम सम्राट घले, आध्या अधिकारी, आर्नबी गौतम, सम्पदा ओली, आयुष मिश्र, समृद्धि पौड्याल, आयुषा मिश्र र सम्बन्ध सिवाकोटी सहभागी थिए ।

मेलामा टोलीले नेपाली मौलिक संस्कृति झल्काउने मारुनी, कौरा, गर्रा, यति, कुमारी, झ्याउरे तथा थाली नृत्य प्रस्तुत गरेको थियो । ती नृत्यहरूको निर्देशन सपना महर्जनले गरेकी थिइन् । फ्रान्स भ्रमणको सम्पूर्ण व्यवस्थापन एभरेस्ट नेपाल कल्चरल ग्रुपकी निर्देशक सीतल आचार्यले संयोजन गरेकी थिइन् ।
भ्रमणका क्रममा विद्यार्थीहरूले विभिन्न विद्यालयको अवलोकन गर्नुका साथै शैक्षिक तथा सांस्कृतिक आदान–प्रदान कार्यक्रममा पनि सहभागिता जनाएका थिए । प्रधानाध्यापक श्याम दत्त अधिकारीले यस्ता अन्तर्राष्ट्रिय शैक्षिक तथा सांस्कृतिक कार्यक्रमलाई भविष्यमा विद्यालय–विद्यालयबीच अझ विस्तार गर्दै लैजाने पहल गरिने जानकारी दिए ।
एभरेस्ट नेपाल कल्चरल ग्रुपले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली संस्कृति, कला र परम्पराको प्रवर्द्धन गर्दै नेपाली मौलिक पहिचानलाई विश्वसामु चिनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

