२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

नयाँ तिज गीत ‘नाच्न गाउँन हो’ सार्वजनिक (भिडियोसहित)

Nada
तिलु शर्मा पौडेल
२०८३ साउन ६ गते १८:३२
Shares
नयाँ तिज गीत ‘नाच्न गाउँन हो’ सार्वजनिक (भिडियोसहित)

दोहा, कतार : नेपाली महिलाहरूको महान् पर्व हरितालिका तिज नजिकिँदै जाँदा तिजको मौलिक संस्कृति, परम्परा र नेपाली समाजको जीवनशैली झल्काउने गीतहरू सार्वजनिक हुने क्रम जारी छ । यही क्रममा नेपाली लोकदोहोरी क्षेत्रका चर्चित तथा लोकप्रिय युगल कलाकार अस्मिता डल्लाकोटी र शक्तिकुमार गोदारले आफ्नो नयाँ तिज गीत ‘नाच्न गाउँन हो’ सार्वजनिक गरेका छन् ।

ncell

मंगलबार अस्मिता डल्लाकोटीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा डल्लाकोटी, गोदार सहित हरिगिरी बिमर्सीको सुमधुर आवाज सुन्न सकिन्छ l  गीतका शब्द डल्लाकोटीले सिर्जना गरेकी हुन् भने बिमर्सीले आकर्षक संगीत भरेका छन् । गीतको संगीत संयोजन राजु सुनामले गरेका हुन् ।

गीतको भिडियोको निर्देशन तथा कोरियोग्राफी जेरी भण्डारीले गरेका छन् । भिडियोमा गोदार, डल्लाकोटी र जुना विश्वकर्माको आकर्षक अभिनय तथा प्रस्तुति देख्न सकिन्छ । दुर्गा पौडेलको छायांकन र मनोज कार्कीको सम्पादनले भिडियोलाई अझ जीवन्त बनाएको छ ।

‘नाच्न गाउँन हो’ले एउटा कलाकारको संघर्ष, मिहिनेत र सफलताको यात्रालाई भावपूर्ण रूपमा प्रस्तुत गरेको छ । कलाकारितामै समर्पित भएर आफ्नो जीवन निर्माण गर्ने, मिहिनेतबाट सम्मान, सफलता, आर्थिक समृद्धि र देश–विदेशसम्म पुग्ने अवसर प्राप्त गर्ने कलाकारको वास्तविक कथालाई गीतले सरल र मनोरञ्जनात्मक शैलीमा व्यक्त गरेको छ । सफल कलाकार बन्ने यात्रामा लुकेका अनेक चुनौती र त्यसपछि प्राप्त हुने उपलब्धिको सन्देश पनि गीतले प्रभावकारी रूपमा बोकेको छ ।

यो तिज गीत सार्वजनिक हुनुभन्दा करिब एक महिनाअघि यही सफल जोडीको अर्को उत्कृष्ट लोकदोहोरी गीत पनि सार्वजनिक भएको थियो, जसले दर्शक–श्रोताबाट उल्लेखनीय माया पाएको थियो । निरन्तर गुणस्तरीय सिर्जना प्रस्तुत गर्दै आएका यो जोडी नेपाली लोकदोहोरी क्षेत्रका सबैभन्दा प्रिय र सफल युगल जोडीमध्ये एक मानिन्छन् ।

उनीहरू स्टुडियोमा रेकर्ड हुने आधिकारिक गीतमा मात्र सीमित छैनन्, प्रत्यक्ष लाइभ दोहोरी मञ्चमा समेत उत्तिकै लोकप्रिय र रुचाइएका कलाकार हुन् । आफ्नो मौलिक गायन, सहज प्रस्तुति र दर्शकसँगको आत्मीय सम्बन्धका बनाउँदै आएका जोडीले यस वर्षको तिजमा दर्शक–स्रोताको मन जित्ने र उल्लेखनीय माया पाउने अपेक्षा गरेको मध्यान्ह दैनिकसँगको कुराकानीमा बताए ।

ताजा खबर

सम्बन्धित खबर