
कुनै पुस्तकको बारेमा केही लेख्नु मेरो क्षमताभन्दा बाहिरको कुरा हो भन्ने मलाई लाग्दछ । कविता पढ्न गहिराइ र बुझाइ चाहिन्छ । केवल शब्दहरू पढेर मात्र पुग्दैन । शब्दहरूको बीचमा पढ्न सक्नुपर्दछ, तिनका बीचको भाव र कविको विचारलाई चिन्न सक्नुपर्दछ । भनिन्छ नि, असल पाठकले दूधमा हेरेर नै त्यसमा भएको घिउ देख्न सक्दछ । आफूसँग त्यो क्षमता नभएकाले सायद म कविता पढ्न र त्यसको बारेमा लेख्न योग्य मान्छे होइन किजस्तो लाग्छ । सामान्यतया कविता सरल, जीवित, चेतनाशील तथा कलात्मक हुनुपर्दछ भन्नेमा म विश्वास गर्दछु ।
आक्रोशको आँधी
यो खण्डका आठ कविताबाट नै पुस्तकको सुरुवात हुन्छ । यहाँ सरकार कमजोर र डरपोक छ । धाक देखाउन तथा निर्धालाई दबाउन यसले खोक्रा नंग्र्रा र सिङ पालेको छ । गरिबको सपनामाथि बुट बजार्ने यो सत्ता कायरहरूको हो भन्दै कवि आक्रोशित हुन्छन् । कवि सत्ताको खोक्रो उचाइको आदर्शदेखि क्रुद्ध छन् । उनलाई उचाइमा पुग्दा प्रयोग गरिएका भुइँमान्छेहरूप्रतिको बेवास्तामा ठुलो गुनासो छ ।
यसरी अक्सर उचाइदेखि हेर्दा आफ्नै इतिहासका अक्षरहरू नदेखिन सक्छन् ।
सुन्दर सपना देखाई हतियार उठाउन लगाएर तिनै सपनामाथि घात गर्नु सामान्य कुरा पक्कै होइन । सत्ताले देखाएका कोरा सपनाहरू अझै बाँकी नै छन् । विद्रोह र क्रान्तिपछिको इतिहासमा छापामार योद्धाहरूको सपनामाथि भएको प्रतिगमनको जवाफ उनी खोज्छन् । खुट्टा गुमाएका छापामारहरूले वैशाखी नपाउँदै शक्तिको पाउमुनि रातो कार्पेट ओछ्याइएको दृश्य सहनीय छैन कवि यसको पनि जवाफ माग्छन् ।
भोकभोकै सुत्न नसक्ने र अन्याय सहन नसक्ने आगोका झिल्काहरू विद्रोहमा छन् । औषधि उद्योग बेचेर जंगलमा भ्यु–टावर बनाउने नीतिका विरुद्ध ती झिल्का आगो बनिसकेका छैनन्, तर विद्रोहमा छन् । तिनलाई कमजोर सम्झनु राज्यको ठुलो भूल हुनेछ ।
उनका कविता आगोका झिल्का हुन् । रामको भेषमा आएका रावणहरूका माझ सत्यको पक्षमा उभिएर असत्य के हो भनी पहिल्याउने प्रयास यहाँ छ । पहिलो खण्डका कवितामा आक्रोश, विद्रोह, वर्गसंघर्ष र सत्ताप्रतिको असहमति छ । जनयुद्ध तथा आन्दोलनका आडमा मौलाएको भ्रष्टाचार र बेथितिसँग कवि सजग छन् । उनी अन्यायविरुद्ध उभिएका छन् । तर, कवितामा कलात्मक पक्ष केही कमजोर देखिन्छ । पात्रहरू भेटिँदैनन्, समाजको स्पष्ट चित्र आउँदैन र कविको एकोहोरो असहमति मात्र धेरै सुनिन्छ ।
विचारहरूको कारखाना
१३ कविता समेटिएको दोस्रो खण्डको सुरुवात बाँसुरीको विम्बमा विद्रोहको आवाजबाट हुन्छ । जहाँ रुवाइ, शोक र भोकको आवाज छ । यसमा आकाश झुकाउने र खिया लागेको इतिहासको पाना च्यातेर फाल्न सक्ने सामथ्र्य छ । तर, इतिहास त समयको सबैभन्दा बलियो हिस्सा होइन र ? के इतिहासको पाना च्यात्ने सम्भावना हुन्छ, वा इतिहास दोहोरिन नदिन सकिन्छ ?
चारो खोज्दै हिँडेका चराहरूको कथा हो– पलायन १ र २ । चराहरू बालुवाको सागरमा जिन्दगी बिताइरहेका छन्, तर तिनको गुँडमा यादहरू बाँकी नै छन् ।
पलायन जीवनको यात्रा हो कि विसर्जन हो ?
यो वर्गसंघर्ष र पसिनाको कथा हो । पुस्तकमा नलेखिएको, केवल किसानको ओठमा बाँचेको खडेरीको इतिहास, मानवजातिको चिहानमुनिको श्रमिकको इतिहास । यदि अहिले सबैभन्दा छिटो केही लोप हुँदै छ भने त्यो हो गाउँ । सिसाको संग्र्रहालयमा हलो राखेर ऋणको सूचना बोकिरहेका किसानहरू, सहरीकरणले विषाक्त बनेका नदीहरू र पर्खालले छोपिएका बस्तीहरू बीच गाउँ र सभ्यताको लोप हुँदै छ । तर, धुलोभित्रको क्रान्तिको बीउ जुनसुकै बेला पनि उम्रन सक्छ । आँसु पानी मात्र होइन, पृथ्वीको गहिरो नसाबाट बगेको रगत पो हो !
देश भनेको के हो ? सिमाना, नक्सा कि अन्य केही ? हिमाल र चराहरूका लागि के देश र सिमाना हुन्छ ? बुद्ध देशमा जन्मिए कि उनी जन्मिएपछि देश बन्यो ? के देशको परिभाषा बन्दुकले मात्र लेख्न सक्छ ?
पहाडमा उसको सहनशीलता र अठोटको विम्ब छ । पहाडले हरेक पीडा सहन सक्छ र मान्छेको मन पनि त पहाड नै हो । लेख्न छाड्नु, बोल्न छाड्नु होइन र बोल्न छाड्नु, सोच्न छाड्नु पनि होइन । मानिसको चेतना लेखाइ र बोली मात्र होइन, यी त चेतनाका अभिव्यक्ति मात्र हुन् । कवि आत्मविजयको नयाँ परिभाषा खोज्नुहुन्छ, आफूभित्रको निराशा चिर्नु नै आत्मविजय हो । समाजमा शताब्दीऔंदेखि थुप्रिएको फोहोरमा अत्तर छरेर मात्र पुग्दैन । डस्टबिनको अन्धकार छाड्नु भनेको अन्धविश्वास छाडेर ज्ञान उठाउनु हो ।
मानिसलाई दास पालेर मालिक बन्ने अधिकार छैन ।
समग्रमा, दोस्रो खण्ड क्रान्तिकारी भावनाबाट सुरु हुन्छ । यहाँ समाज, देशको परिभाषा, नयाँ तर्क र दर्शन भेटिन्छ । तर कविताहरू अगाडि बढ्दै जाँदा आफ्नो बाटो बिराएझैं लाग्छ, क्रान्ति विस्तारै कम हुँदै जान्छ । कविताहरू माक्र्सवादबाट प्रेरित भए पनि नारा बनेका छैनन् । यद्यपि, अघिल्लो खण्डजस्तै यहाँ पनि पात्रहरू र विम्बको प्रयोग कमै देखिन्छ ।
स्मृतिका जलकुम्भीहरू
तेस्रो खण्डमा कवि ११ कवितामार्फत आफ्ना यादहरू र परिवारतिर फर्किएका छन् । यहाँ जीवन भेटिन्छ । पहिलो कवितामा कवि स्वयं कुनै क्याफेको कुनामा कफी पिउँदै जीवनलाई कफीजस्तै तितो तर त्याग्न नमिल्ने नसाका रूपमा हेर्छन् ।
अगाडि बढ्दा छोरीसँग भेट हुन्छ । कवि आफू माटो बनेर छोरीलाई हुर्कन सिकाउँछन् । देवीजस्तै शान्त हुने, तर देवी नबन्ने चेतना जगाउँछन् । त्यसैगरी, बुढो भएको छोरो भेटिन्छ जसले बाबुको अगाडि आफूलाई छोरो मान्न भुलिसकेको छ । परदेशबाट फर्किएको लोग्ने भिडमा आफ्नी सहयात्री खोजिरहेछ । आमाको डोको बोकेको छोरो र पिँढीमा बसेर बाटो भुलेकी आमालाई कुरिरहेको छोरोको गुनासो यहाँ मार्मिक छ ।
कविको भेट आमाका अनेक रूपसँग हुन्छ, जसले एकै समयमा बिन लादेन र जर्ज बुसहरूलाई जन्माएका छन् । तर, के आमाहरूले बिन लादेन नै जन्माएका हुन् र ? उनीहरू त बालक जन्माउँछन्, पछि आफ्ना बाटो रोज्ने तिनै बालक हुन् । आमा केवल साइनो मात्र होइन, इतिहासमा नलेखिएको त्यो नाम हो जसले अस्तित्व बचाएकी छिन् ।
कवि पुनः स्मृतिमा फर्केर आफूलाई परेवाझैं आकाशमा उडाएको कल्पना गर्छन् । अन्त्यमा भेट ‘म’सँग हुन्छ, जसले आफू आत्मा वा शरीर नभई समाज र श्रमको परिणाम भएको स्वघोषणा गर्दछ । के ‘म’ कवि हुन् ? यो निर्णय पाठकको हो । यस खण्डमा पात्र, दर्शन र समाज सबै भेटिन्छन् ।
अन्त्यमा, पुस्तकका लागि केशव नीमेषजीलाई धेरै–धेरै बधाई । कविताहरू सरल छन् र चेतनाले भरिएका छन् । नदी निस्किएपछि समुद्र पुग्नुमा सन्देह गर्नु मूर्खता हो । यो पुस्तकले तपाईंलाई पक्कै एक सफल कविका रूपमा उभ्याउनेछ ।