
पंक्तिकार हिन्दु धर्मालम्बी भए पनि बौद्ध धर्मप्रति उत्तिकै आकर्षित र आस्थावान् छ । २०५८ सालदेखि प्रातःकालमै स्वयम्भू बुद्ध भगवान्को नित्य एवं निरन्तर दर्शन गर्दै आएकाले पंक्तिकारद्वारा यस बीचमा कैयौंपटक भगवान् बुद्धसँग प्रत्यक्ष जोडिएका स्थान लुम्बिनी, बोधगया, कुशिनगर अनि बुद्धमार्गीका मुख्य तीर्थस्थल एवं धार्मिकथलो सारनाथ, वैशाली, नालान्दा, राजगिरलगायत अन्यत्रका थुप्रै बौद्ध मन्दिर अर्थात् गुम्बाको पनि दर्शन एवं पूजाआजा भए/गरिएका छन् । २०७१ सालमा बोधगयामा कडा सुरक्षाघेरामा रहनुभएका सत्रौं अवतारी कर्माप्पाको दर्शन पाएयता बुद्ध धर्मप्रति अझै धार्मिक आस्था जागेको महसुस भएको छ ।
हालै, छिमेकी चिनको तिब्बत प्रान्तमा रहेका विशेष महत्वका ऐतिहासिक एवं पुरातात्विक सम्पदाका रूपमा कहलिएका विशाल बौद्ध धर्म मन्दिर अर्थात् गुम्बाहरूको दर्शन, पूजाआजा एवं अवलोकन गर्ने अवसर मिल्यो । करिब १८ दिन लगाएर साना–ठुला गरी झन्डै दुई दर्जनभन्दा बढी गुम्बाको दर्शन एवम् अवलोकन गरिसकेपछि लाग्यो, साँच्चै बुद्ध दया, करुणा अनि शान्तिका परमपूज्य महामानव हुनुहुन्थ्यो, हुनुहुन्छ र पृथ्वीमा मानवजाति रहँदासम्म बुद्ध सबैको मनमा रहिरहनुहुनेछ । र न भगवान् कहलिनुभएको हो ।
बुद्धभक्ति अनि स्वयम्भू दर्शनकै चर्चा गर्दा छुटाउनै नहुने मेरो चट्टानी अडान कोरोनोकालको लकडाउनमा समेत घरपरिवारको कचकच अनि ठाउँठाउँमा सुरक्षाकर्मीको गस्ती एवं कडा पहराको घेरा तोडेरसमेत प्रत्येक बिहान बुद्ध दर्शनका लागि स्वयम्भू पुग्ने म त्यहाँ आरती एवं प्रार्थनामा सहभागी भएर मात्रै फर्कने गरेको मिठो अनुभव अझै ताजा छ ।
हुन त बुद्धलाई हिन्दु धर्मालम्बीले पनि आफ्ना परमपूज्य भगवान् विष्णु अर्थात् नारायणको नवौं अवतारका रूपमा पुज्ने र मान्ने गर्छन् । त्यसो हुँदा बुद्ध पनि हिन्दु धर्मालम्बीहरूको आस्थाको एक अंश हो भन्दा फरक परेन । यहाँ हिन्दु र बौद्ध धर्मको फरक वा एकताबारे बहस गर्नभन्दा पनि बुद्ध धर्मको ज्ञान अनि प्रचार, आस्था अनि भक्तिका बारेका केही विषयवस्तु प्रस्तुत गर्न खोजिएको हो ।
बौद्ध धर्मको स्थापना सिद्धार्थ गौतमले गर्नुभएको हो । उहाँको जन्म लुम्बिनीमा करिब २५७० वर्षअघि भएको मानिन्छ । बोधगयामा ज्ञान प्राप्त गरेपछि बुद्धले सारनाथमा पहिलो धर्मचक्र प्रवर्तन गर्नुभयो र बौद्ध धर्मको औपचारिक रूपमा प्रचार सुरु भएको मानिन्छ । बुद्धले करिब ४५ वर्षसम्म भारतका विभिन्न स्थानमा भ्रमण गर्दै धर्मको उपदेश दिनुभयो । उहाँका शिष्यहरूले पनि बौद्ध धर्मलाई व्यापक रूपमा फैलाए ।
सम्राट अशोकले इसापूर्व तेस्रो शताब्दीमा बौद्ध धर्मलाई राज्यको संरक्षण दिएपछि यसको प्रचार तीव्र रूपमा बढ्यो । अशोकले धर्मदूतहरूलाई श्रीलंका, म्यानमार, थाइल्यान्ड, चीन, तिब्बत, जापानलगायत स्थानमा पठाएर धर्म प्रचार गराए । आज बौद्ध धर्म विश्वका प्रमुख धर्महरूमध्ये एक हो र एसियाका धेरै देशमा यसको गहिरो प्रभाव छ ।
बौद्ध धर्म तिब्बतसम्म एकैपटक पुगेको होइन, बरु विभिन्न चरणमा फैलिएको थियो । सातौं शताब्दीमा तिब्बतका राजा सोङत्सेन गाम्पोले नेपाल र चीनका राजकुमारीसँग विवाह गरेपछि बौद्ध धर्मले तिब्बतमा राजकीय संरक्षण पाउन थाल्यो । उनीहरूमार्फत बौद्ध ग्रन्थ, मूर्ति र धार्मिक परम्परा तिब्बतमा पुगे । आठौं शताब्दीमा भारतबाट पद्मसम्भव र शान्तरक्षितलाई तिब्बतमा आमन्त्रण गरियो । उनीहरूले बौद्ध शिक्षाको प्रचार गरे, स्थानीय परम्परासँग समन्वय गरे र पहिलो प्रमुख तिब्बती गुम्बा ‘साम्ये गुम्बा’ स्थापना गर्न महत्वपूर्ण भूमिका खेले ।
त्यसपछि भारतका प्रसिद्ध बौद्ध विश्वविद्यालयहरू, विशेषगरी नालान्दा महाविहार र विक्रमशिला महाविहारबाट धेरै विद्वान् तिब्बत गए । उनीहरूले संस्कृत बौद्ध ग्रन्थहरू तिब्बती भाषामा अनुवाद गरे । एघारौं शताब्दीमा अतीश दीपंकर श्रीज्ञान तिब्बत पुगेपछि बौद्ध धर्मको पुनर्जागरण भयो । उहाँले अनुशासित मठीय परम्परालाई बलियो बनाउन योगदान दिनुभयो ।
तिब्बतमा बौद्ध धर्म बलियो बन्दै गएपछि विभिन्न सम्प्रदायले देशभर गुम्बा स्थापना गर्न थाले । गुम्बाहरू केवल पूजा गर्ने स्थान मात्र नभई धार्मिक शिक्षा दिने विद्यालय, ध्यान र साधना गर्ने केन्द्र, बौद्ध ग्रन्थहरूको संरक्षण र अनुवाद गर्ने स्थल, कला, चित्रकला र मूर्तिकलाको विकास गर्ने केन्द्र बने । यसपछि तिब्बती बौद्ध परम्परा हिमाली क्षेत्रमा फैलियो । नेपालका हिमाली भेग, भुटान, लद्दाख, सिक्किम र अरुणाचल प्रदेशमा पनि गुम्बा स्थापना हुने क्रम बढ्यो ।
यसरी तिब्बतमा बौद्ध धर्मको विस्तारसँगै गुम्बा स्थापनाको लहर चलेको हो । जसले धर्म, शिक्षा, संस्कृति र समाजलाई दीर्घकालीन रूपमा प्रभाव पारेको मानिन्छ । धार्मिक दृष्टिकोणले गुम्बा दर्शनले मनमा शान्ति, करुणा, सहिष्णुता र आत्मचिन्तनको भावना विकास गर्न सहयोग पुर्याउँछ । धेरै श्रद्धालुहरूले गुम्बा भ्रमणलाई आध्यात्मिक उन्नति, मानसिक सन्तुलन तथा सकारात्मक जीवनदृष्टिको माध्यमका रूपमा लिन्छन् । पर्यटकका लागि भने यो हिमाली सभ्यता, इतिहास, कला र जीवनशैली बुझ्ने उत्कृष्ट अवसर हो ।
तिब्बती संस्कृति र समाजमा गुम्बाको प्रभाव निर्विवाद छ । सिकाइ केन्द्रको रूपमा सेवा गरेर, परम्पराहरूको संरक्षण गरेर र समुदायको भावनालाई बढावा दिएर, भिक्षुहरूले समृद्ध सांस्कृतिक सम्पदाको निरन्तरता सुनिश्चित गर्छन् । आवश्यकतामा परेकाहरूको जीवन सुधार गर्न गुम्बाको निरन्तर प्रयासले करुणा र सामाजिक उत्तरदायित्वको आधारशिलाको रूपमा यसको भूमिकालाई अझ बलियो बनाउँछ ।
गुम्बा शताब्दीयौंदेखिको संस्कृति र आध्यात्मिक अभ्यासको प्रमाण हो । यद्यपि, यस वास्तुकला र आध्यात्मिक सम्पदाको संरक्षण गर्न निरन्तर प्रयासहरू आवश्यक पर्दछ । गुम्बाको महत्वलाई बुझ्दै हालैका वर्षहरूमा चिनियाँ अधिकारीहरूले गुम्बाको संरचनात्मक अखण्डता जोगाउन पुनस्र्थापना परियोजना सञ्चालन गरेका छन्, यी परियोजना क्षतिग्रस्त भवनको मर्मत, पुराना संरचनालाई सुदृढ पार्न केन्द्रित रहेको पाइन्छ । तिब्बतको कठोर हावापानी, यसको तेज हावा र अत्यधिक तापक्रमले गुम्बाको संरचनाहरूलाई निरन्तर खतरामा पार्दै गरेको छ । दीर्घकालीन संरक्षणका लागि यी तत्वहरूबाट भवनहरूलाई जोगाउन प्रभावकारी उपाय महत्वपूर्ण देखिन्छ र ती उपाय अवलम्बन पनि भएको पाइन्छ ।
जसरी काठमाडौं उपत्यकालाई मन्दिर नै मन्दिरको सहरका रूपमा हेरिन्छ, त्यसैगरी तिब्बती प्रान्त त्यसमा पनि खासगरी ल्हासा सहरवरपर विशाल क्षेत्रफल ओगटेका भीमकाय त्यसमा पनि आश्चर्यजनक, पुरातात्विक महत्वका ऐतिहासिक गुम्बा नै गुम्बा (विशेष महत्वका बौद्ध मन्दिर) देख्न पाइन्छ ।
कैलाश–मानसरोवर परिक्रमाका लागि गएका हामीले नेपालको सीमा टिमुरेबाट अघि बढ्दै चिनियाँ क्षेत्र केरुङ प्रवेश गरेसँगै केरुङ बजारमै रहेको गुम्बा दर्शनबाट हाम्रो धार्मिक एवं तीर्थाटन यात्रा थालेका थियौं । केरुङबाट २५–३० किमि पर ‘टाकाटासा गुम्बा’ दर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो, तर तत्कालका लागि बाह्य पर्यटकलाई दर्शन एवम् अवलोकनमा रोक लगाइएको जानकारी मिल्यो । तसर्थ, सो दिन केरुङमै वास बस्ने योजनामुताविक सयम घर्काउन पनि उक्त गुम्बानजिकैको अर्को ‘क्वाइनजेन जु लाकान गुम्बा’ दर्शन गरियो । देख्नमा सामान्य लागे पनि दर्शन गर्नैपर्ने यस गुम्बामा जीवनको अन्त्यपछि आत्मा स्वर्ग वा नर्क जाने क्रमको अनुभव लिने मान्यताका साथ गुम्बाभित्र निर्माण गरीएको साँघुरो, अन्धकार, जिकज्याक हल्का उकालो–ओरालोमा एक्लाएक्लै आफैंले भित्ता छामछुम गर्दै हिँड्नुपर्ने गरी बनाइएको सुरुङजस्तो गल्लीमा जो नडराई गुम्बा परिक्रमा गर्छ, उसको मृत्युपछिको आत्मा सहजै स्वर्ग जान्छ, जो डराएर अघि बढ्न सक्दैन, त्यसको आत्मा तर्दैन भन्ने अन्धविश्वास रहेछ । सदिऔं पुरानो उक्त गुम्बा निर्माण गर्ने अवधारणा कसरी आयो होला ? कसको सोच होला ? त्यो पनि आश्चर्यलाग्दो छ ।
त्यस्तै, कैलाश–मानसरोवर धार्मिक यात्राका क्रममा बीच बाटोमा पर्ने थुप्रै गुम्बा दर्शन गरियो, खासगरी कैलाश परिक्रमाबाट फर्कने क्रममा साँगाबाट सिगात्से हुँदै ल्हासासम्मका थुप्रै प्रख्यात ऐतिहासिक, पुरातात्विक महत्वका आश्चर्यजनक विशाल विशेष महत्वका गुम्बाहरू दर्शन एवं पूजाआजा गर्ने अवसर मिल्यो । ढाकर गुम्बा, यार्लुङ याम्बु गुम्बा, शाक्य गुम्बा, टासीथुम्पो गुम्बा, ग्यान्त्से गुम्बा, पोतला दरबार, नोर्बुलिङ गुम्बा, देपुङ गुम्बा, सेरा गुम्बा, गान्डेन गुम्बा, छुर्पु गुम्बा, द्रोल्मा गुम्बा, जोखाङ पाको गुम्बा, छिउ गुम्बा, साम्य गुम्बा, युम्बु लेखाङजस्ता अन्य थुप्रै ऐतिहासिक एवम् आश्चर्यजनक पुरातात्विक महत्वका विशाल बौद्ध मन्दिर दर्शन गरियो । यी बौद्ध मन्दिरमा बनाइएका कलात्मक एवं रोमाञ्चक आश्चर्यजनक विशाल भगवान् बुद्धका प्रतिमा, गुरु रिम्पोछे (पद्मसम्भव)का प्रतिमा, अन्य बौद्ध धर्मगुरुहरूका प्रतिमा, महांकाल, भैरवहरूका थरीथरीका प्रतिमा, सदिऔं पुराना भीमकाय गुम्बाको निर्माणशैली, निर्माणमा प्रयोग भएका निर्माण सामग्री देख्दा अचम्म त लाग्छ नै, त्यो बेला यस्तो निर्माण कसरी सम्भव भयो होला जस्तो लाग्ने ? तिब्बतवरपर रहेका ती विशाल गुम्बाको निर्माण सन्दर्भ, गुम्बाको आकर्षण, अनि महत्व तथा ऐतिहासिक मान्यताका सन्दर्भमा लेखिसाध्य छैन ।
माथि उल्लेखित गुम्बामध्ये केही प्रख्यात गुम्बामा काठमाडौंबाट नेवार जातिका कलाकारलाई लगेर नेपाली शैलीमै प्रतिमा एवं गुम्बा निर्माण पनि गरिएको पाइयो । हजारौं रोपनी क्षेत्रफल ओगटेर बनाइएका विशाल गुम्बा दर्शन गर्न फटाफट अघि बढ्दा पनि दर्शनका लागि घन्टौं लाग्ने गुम्बामा सयौंको संख्यामा अलग–अलग कोठा, अनि ती कोठामा छुट्टाछुट्टै केही फरकशैलीका भगवान् बुद्ध, भैरव, महांकाल, विभिन्न धर्मगुरुहरूका प्रतिमामा पूजाआजा भइरहेको देख्न पाउँदा मन आनन्दित हुँदोरहेछ ।
केही गुम्बा दर्शनका लागि अग्रिम अनुमति लिनुपर्ने, केही गुम्बा दर्शनका लागि निश्चित मूल्यको टिकट काट्नुपर्ने अनि केही गुम्बाको अवलोकन एवं दर्शन निःशुल्क व्यवस्था गरिएको रहेछ । प्रख्यात ती गुम्बाको दर्शन एवम् अवलोकनका लागि स्थानीय, स्वदेशी, अनि बौद्ध धर्मभिरू मात्रै नभएर विश्वभरबाट पर्यटकको आगमन हुँदोरहेछ । ‘जुनसुकै धर्म अनि उक्त धर्मले प्रतिपादन गरेको दर्शन आखिर एक हो, ईश्वर एक छ’ भन्ने सन्देश के हिन्दु, के बौद्ध के अन्य धर्म ? त्यहाँ पुग्ने जो–कोही धार्मिक यात्रुको व्यवहारले दर्शाउँथ्यो ।
भ्रमणका क्रममा हामीलाई जानकारी गराउने तथा हाम्रो भ्रमणप्रति रेखदेख एवं चासो राख्नका लागि खटिएका गाइडका अनुसार विगतमा केरुङदेखि तिब्बत क्षेत्रमा राक्षसी व्यवहार भएकाहरूको बसोवास थियो । अर्काको ज्यान लिएर आफू बाँच्ने उक्त राक्षसी प्रवृत्तिलाई भारतीय धर्मगुरु पद्मसम्भवले आफ्नो शक्ति प्रयोग गरेर कतै त्यस्ता राक्षसी व्यवहार भएकाहरूको अन्त्य त कतै उनीहरूलाई सम्झाई–बुझाई बसमा पारेर शान्तिमार्गमा ल्याउँदै भगवान्को ‘प्रोटेक्टर’का रूपमा उनीहरूलाई पनि गुम्बामा पूजाआजा गरेर राख्ने गरिएको बुझियो । कतिपय गुम्बामा त्यस्ता ‘प्रोटेक्टर’को दर्शन एवं पूजाआजामा महिलालाई रोक पनि लगाइएको छ ।
तिब्बतको ल्हासा सहर बौद्ध धर्म र तिब्बती संस्कृतिको केन्द्रविन्दु हो, जहाँ विश्व सम्पदासूचीमा परेकासहित थुप्रै ऐतिहासिक गुम्बा छन् ।