
दोहा, कतार : नेपाली महिलाहरूको महान् पर्व हरितालिका तिज नजिकिँदै गर्दा तिज गीतहरूको बजार पनि तातेको छ । सामाजिक विकृति–विसंगति, समसामयिक राजनीतिक घटनाक्रम, देश–विदेशका यथार्थ, वैदेशिक रोजगारीका दुःख–सुख तथा सामाजिक सन्देशलाई समेट्दै हरेक वर्षझैं यस वर्ष पनि नयाँ–नयाँ तिज गीत सार्वजनिक भइरहेका छन् ।
यही क्रममा कतारमा रहेका दर्जनौं नेपाली कलाकारको सामूहिक प्रयासमा तयार पारिएको तिज गीत ‘परदेशैले’ सार्वजनिक गरिएको छ । वैदेशिक रोजगारीका लागि घरपरिवार छाडेर परदेशिनु परेको बाध्यता, श्रमिक जीवनका पीडा, पारिवारिक जिम्मेवारी, घरपरिवारसँगको दूरी तथा स्वदेशमा रोजगारीको अभावका कारण विदेशी भूमिमा संघर्ष गर्नुपरेको यथार्थलाई गीतको मुख्य विषय बनाइएको छ ।
गीतका शब्द तथा संगीत नयन शर्माको रहेको छ भने शर्माकै आधिकारिक युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक भएको केही दिनमै गीतले दर्शक-स्रोताको सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ । विशेषगरी टिकटकमा गीतका अंशहरू व्यापक रूपमा प्रयोग हुन थालेपछि यसको लोकप्रियता बढ्दै गएको देखिन्छ ।
गीतमा कतारमा रहेका आठ जना गायक-गायिकाको सामूहिक स्वर सुन्न सकिन्छ । जसमा नारायण देवकोटा, बाबु कौशल, कृष्ण दर्लामी, नयन शर्मा, रेश्मी सेन्चुरी, गुना मगर, लक्ष्मी कार्की र गंगा बिसी रहेका छन् । भिडियो कतारको अलत्तिया स्थित फूलबारी रेस्टुरेन्ट र सभा हल लगायतका स्थानमा छायांकन गरिएको हो । भिडियोमा रेस्टुरेन्टमा कार्यरत कलाकारहरूको वास्तविक जीवनसँग मेल खाने कथा प्रस्तुत गरिएको छ, जसले वैदेशिक रोजगारीको कठोर यथार्थलाई जीवन्त रूपमा चित्रण गरेको छ ।
भिडियोको मुख्य भूमिकामा कृष्ण ढकाल, करिश्मा बस्ताकोटी दाहाल, पुकार थापा, पूरण सिंह, जमुना बिसी र सुस्मिता विश्वकर्मालाई देख्न सकिन्छ l भिडियोमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, कतार शाखामा आबद्ध वर्तमान तथा भूतपूर्व कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको छ, जसले गीतलाई अझ सामूहिक र जीवन्त बनाएको छ ।
गीतको कोरियोग्राफी जनक लाफा मगरले गरेका हुन् भने छायांकन र सम्पादन सुनिल सुन्दासको रहेको छ । भिडियोमा रङ रबिन विकले भरेका छन् l भिडियो निर्देशन कृष्ण सेन्चुरीले गरेका छन् । वैदेशिक रोजगारीको वास्तविकता, श्रमिक जीवनको संघर्ष र परिवारप्रतिको माया–ममतालाई मार्मिक ढंगले प्रस्तुत गरिएको ‘परदेशैले’ तिज गीतले मनोरञ्जनसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।