२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

समानुपातिक सिटमा नाता र दातालाई ल्याउन हुन्न  : सभापति खतिवडा

ADV
मध्यान्ह
२०८१ साउन ३० गते १५:१८
समानुपातिक सिटमा नाता र दातालाई ल्याउन हुन्न  : सभापति खतिवडा

काठमाडौँ : प्रतिनिधिसभा, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले समानुपातिक तथा समावेशी सिद्धान्तको मर्म र भावना विपरीत भएका अभ्यासमा सुधारको खाँचो औँल्याएका छन् ।

नेपाल मतदाता अधिकार मञ्चले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित विधेयकमाथि सुझावसहितको ध्यानाकर्षण पत्र ग्रहण गर्दै सभापति खतिवडाले समानुपातिक निर्वाचन प्रणाली नेताको विवेकमा नभइ नीति र पद्धतिमा चल्ने प्रणाली स्थापित गर्नु आजको आवश्यकता भएको बताए ।

“समानुपातिक र समावेशीसम्बन्धी विषय अब नेपालबाट टाढा जान सक्दैन । जान पनि हुन्न । राजनीतिलाई स्थिरता दिएर देशलाई बलियो बनाउनेतर्फ लाग्नुपर्छ”, सभापति खतिवडाले भने–“राज्यको मूलधारबाट पछि परेकालाई समेट्नुपर्ने सिटमा नाता र दातालाई ल्याउने काम बन्द गरिनुपर्छ ।”

संविधानले परिकल्पना गरेअनुरुप महिला, पिछडिएका वर्ग र समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिँदै सभापति खतिवडाले पहुँच र प्रभावका  आधारमा एउटै व्यक्तिलाई धेरै पटक समानुपातिक प्रणालीमा ल्याइँदा त्यही समुदायको अर्काे व्यक्ति मारमा पर्ने पक्षलाई हेक्का राख्न जरुरी रहेको बताए ।

निर्वाचनसम्बन्धी प्रस्तावित विधेयक समितिमा आएपछि सरोकारवालासँग गहन र व्यापक छलफल हुने उल्लेख गर्दै सभापति खतिवडाले समानुपातिक प्रणाली वास्तमै राज्यको पहुँच र मूलधारबाट छुटेकालाई समेटने प्रणाली भएको धारणा राखे । नेपालमा हाल अभ्यासमा रहेको निर्वाचन प्रणाली बारेमा विभिन्न पक्षबाट उठाइएका आवाजलाई राजनीतिक दल, जनप्रतिनिधि र सरकारको ध्यानाकर्षण भइरहेको उनको भनाइ थियो । 

त्यस अवसरमा मञ्चलगायत २३ सङ्घ संस्थाका प्रतिनिधिले नेपालमा निर्वाचन सुधार पहलका लागि ‘जसको जति सङ्ख्या भार उसको त्यति उम्मेदवार’ मूल नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्दै आएको जानकारी दिए ।

उनीहरुले महिलाभित्रको अन्तर–सामुदायिक समावेशीतालाई सम्बोधन गर्ने, दलित महिलालाई अल्पसङ्ख्यक महिलाद्वारा प्रतिस्थापन गर्ने प्रस्ताव अस्विकार्य हुने, निर्वाचन क्षेत्र असुरक्षित र संरक्षित गर्ने, समानुपातिक सूचीमा सुधार ल्याउनुपर्नेलगायतका विषयमा सभापति खतिवडाको ध्यानाकर्षण गराए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise