२०८३ असोज २४ गते शनिवार / Oct 10 , 2026 , Saturday
२०८३ असोज २४ गते शनिवार

हराएको बाख्रा खोज्दा भेटियो सुन, हल्ला फैलिएपछि सुन खोज्न लाग्यो हजारौंको भिड

Nada
२०८३ भदौ ७ गते १८:४२
Shares
हराएको बाख्रा खोज्दा भेटियो सुन, हल्ला फैलिएपछि सुन खोज्न लाग्यो हजारौंको भिड

एजेन्सी : केन्याको दुर्गम पश्चिमी क्षेत्रमा एक बाख्रा गोठालाले अचानक फेला पारेको सुनको सानो टुक्राले ठुलो सुनको खोजी निम्त्याएको छ । बाख्रा खोज्ने क्रममा भेटिएको करिब २८० अमेरिकी डलर मूल्यको सुनको खबर फैलिएपछि हजारौंको संख्यामा मानिसहरू उक्त गाउँमा ओइरिएका छन्, जसका कारण शान्त ग्रामीण क्षेत्र एकाएक व्यस्त र भिडभाडयुक्त खानी क्षेत्रमा परिणत भएको छ ।

ncell

३३ वर्षीय बाख्रा गोठाला मनासे लोमाचार केही हप्ता अघि आफ्नो हराएको बाख्रा खोज्दै हिँडेका थिए । सोही क्रममा उनले एउटा मौसमी खहरे खोलाको किनारमा केही स्थानीय महिलाहरूलाई बालुवा चालेर सुन खोजिरहेको अवस्थामा भेटे । उनी पनि त्यसमा सामेल भए र अचानक उनले तीन ग्राम तौल भएको सुनको एउटा टुक्रा फेला पारे ।

लोमाचारले उक्त सुन ३६ हजार केन्याली शिलिङ (करिब २८० अमेरिकी डलर)मा बिक्री गरे । दुर्गम चेपोरोर गाउँका एक गोठालाले यति ठुलो रकम कमाएको खबर डढेलो जस्तै फैलियो र यसले गाउँकै रूपरेखा बदल्यो । लोमाचार भन्छन्, 'म उनीहरूसँग मिसिएँ र यसरी नै यो क्षेत्रमा सुन भएको कुरा गाउँलेले थाहा पाए ।'

केही हप्ता अघिसम्म झाडी र चौपाया चर्ने सुक्खा जमिन रहेको चेपोरोर अहिले ठुला-ठुला खाडल, माटोका थुप्राहरू र अस्थायी टेन्टहरूले भरिएको छ । स्थानीय अधिकारीहरूका अनुसार सुनको हल्ला फैलिएपछि त्यहाँ करिब १० हजार मानिस जम्मा भएका थिए । खेतीपातीको अनिश्चित आम्दानीमा गुजारा गरिरहेका केन्या र छिमेकी मुलुक युगान्डाका विपन्न मानिसहरूका लागि यो सुनको खोजी जीवन बदल्ने ठुलो अवसर बनेको छ ।

यद्यपि, प्रारम्भिक उत्साह सेलाउँदै जाँदा र सोचेजस्तो सुन फेला पार्न नसकेपछि हाल खानी खन्नेहरूको संख्या घटेर करिब २५ सयमा सीमित भएको छ ।

छिमेकी देश युगान्डाको बुसियाबाट आएका कालिगड खानी कामदार मुगिस गडफ्रे आफ्ना साथीबाट समाचार सुनेर २७ डलर खर्च गरी त्यहाँ पुगेका छन् । उनी भन्छन्, 'हामी रुखमुनि सुत्छौं र बिहान भएपछि काममा लाग्छौं । कहिलेकाहीँ त दिनरात नभनी काम गर्छौं ।' उनले अहिलेसम्म केही भेट्टाएका छैनन्, तर खाली हात घर नफर्कने उनको अठोट छ ।

यस स्वर्ण दौडमा सामेल हुनेहरूका आ-आफ्नै बाध्यता र सपनाहरू छन् ।

छिमेकी नापावोइ गाउँका किसान तथा गोठाला प्याट्रिक लोकोलियो आफ्ना छोराछोरीको स्कुलको शुल्क तिर्ने आशामा त्यहाँ पुगेका छन् । उनी भन्छन्, 'मेरा छोराछोरीहरू स्कुल पढ्छन् र उनीहरूको शुल्क तिर्नु मेरा लागि ठुलो समस्या रहँदै आएको छ ।'

१८ वर्षीया अबीगेल चेलेङ्गातले यसअघि कहिल्यै खानीमा काम गरेकी थिइनन् । उनी पनि आफ्नो पढाइ खर्च जुटाउन र साना भाइबहिनीलाई पढाउन मद्दत पुगोस् भन्ने आशा बोकेर बालुवा र हिलो चाल्न उक्त गाउँ पुगेकी छन् ।

सुनको खोजीले खानी कामदारलाई मात्र होइन, साना व्यवसायीहरूलाई पनि आकर्षित गरेको छ । स्थानीय अधिकारीहरूका अनुसार यस क्षेत्रमा खानेकुरा, पानी र अन्य दैनिक उपभोग्य वस्तुहरू बिक्री गर्ने २०० भन्दा बढी साना व्यवसायहरू स्थापना भएका छन् । छिमेकी बारिङ्गो काउन्टीबाट व्यापारका लागि त्यहाँ पुगेकी आइरिन अमेजा पानी, सफ्ट ड्रिंक र पाउरोटी बेचेर आफ्नो व्यवसाय विस्तार गर्ने सपना देख्छिन् ।

तर, घना जंगल र पहाडको बीचमा अवस्थित यो अस्थायी बस्तीमा आधारभूत सुविधाको चरम अभाव छ । त्यहाँ न त पिउने सफा पानी छ, न त शौचालय र सरसफाइको उचित व्यवस्था नै । अमेजाका अनुसार विशेषगरी महिलाहरूका लागि रात परेपछि त्यहाँ बस्न निकै असुरक्षित छ, किनभने खुला आकाशमुनि रुखमुनि सुत्नेहरूमा अधिकांश पुरुषहरू छन् ।

वेस्ट पोकोट काउन्टीका उप-कमिसनर स्यामुएल कियारीका अनुसार प्रशासनले त्यहाँको खस्कँदो अवस्थालाई ध्यानमा राख्दै सुरक्षा र जनस्वास्थ्य अनुगमन टोली खटाएको छ ।

भिडभाडका कारण महामारी फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै जनस्वास्थ्य अधिकारीहरू परिचालन गरिएको छ भने महिला र बालिकाहरूमाथि हुन सक्ने यौनजन्य हिंसा रोक्न सुरक्षा गस्ती बढाइएको छ ।

यसैगरी, सेप्टेम्बर महिनादेखि नयाँ विद्यालय सत्र सुरु हुन लागेकाले बालबालिकाहरू सुन खन्ने काममा लागेर विद्यालय जानबाट वञ्चित नहोऊन् भन्नका लागि विशेष सचेतना र कडाइका उपायहरू अपनाइँदैछ ।

सो क्षेत्रमा वास्तवमै कति परिमाणमा सुनको भण्डार छ र यसको व्यावसायिक मूल्य कति छ भन्ने अझै वैज्ञानिक रूपमा पुष्टि भइसकेको छैन । हालसम्म त्यहाँ भेटिएका व्यक्तिगत सुनका टुक्राहरू केही सय शिलिङदेखि बढीमा ६०० डलरसम्मका मात्र छन् । खानी कामदारहरूले खनेर निकालेका माटो र ढुंगाका केही ट्रक लोड सामग्रीहरू परीक्षणका लागि नजिकैको ओर्टम सहर पठाइएको छ, जसको नतिजा आउन बाँकी छ ।

पहिलो सुन फेला पार्ने मनासे लोमाचार भने सरकारले यो खानी बन्द गराउनु भन्दा यसलाई व्यवस्थित र सुरक्षित बनाउनुपर्ने माग राख्छन् । उनी सरकारले धातु पत्ता लगाउने आधुनिक मेसिन (मेटल डिटेक्टर) जस्ता उपकरणहरू उपलब्ध गराएर विपन्न स्थानीय समुदायको आर्थिक विकासमा मद्दत गरोस् भन्ने चाहन्छन् । आफ्नो गाउँको गरिबी दर्शाउँदै लोमाचार भन्छन्, 'यदि तपाईंले यहाँ वरिपरि हेर्नुभयो भने, टिनको छाना भएका घरहरू सायदै भेटिन्छन्, अधिकांश फुसका झुपडीहरू मात्र छन् ।'

ताजा खबर

सम्बन्धित खबर