
नेपालका धार्मिक तथा सांस्कृतिक निधिहरूले यहाँको सामाजिक जीवनलाई जीवन्तता प्रदान गरिरहेका हुन्छन् । पूर्वजहरूले धरोहरका रूपमा छोडेर गएका अनेकौं पावन पर्वहरूमध्ये जनैपूर्णिमा पनि एक प्रमुख पर्व हो । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई ‘श्रावणी पूर्णिमा’ वा ‘ऋषितर्पणी’ पनि भनिन्छ । हिन्दु धर्मावलम्बीहरूको जीवनमा अध्यात्म, कर्तव्य र आत्मनियन्त्रणको बाटो देखाउने यो दिन धार्मिक तथा सामाजिक दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ ।
वेदजयन्ती र पौराणिक पृष्ठभूमि
वैदिक सनातन मान्यताअनुसार श्रावण शुक्ल पूर्णिमाकै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म (सूर्य)बाट वेद प्राप्त गरेका थिए । यसै ऐतिहासिक तथा धार्मिक घटनाको स्मरण गर्दै जनैपूर्णिमाका दिनलाई ‘वेदजयन्ती’का रूपमा पनि मनाउने परम्परा रहेको छ । यस दिन गरिने यज्ञोपाकर्म, वेदोपाकर्म वा वेदारम्भ कर्मले मानव जीवनमा नयाँ ज्ञान र साधनाको अध्याय थालनी भएको संकेत गर्दछ ।
पौराणिक कथाहरू अनुसार भगवान् विष्णुले वामन अवतार लिएर दैत्यराज बलिलाई पाताल पठाउनुअघि रक्षासूत्र बाँधिदिएर विश्व विजय गरेको प्रसंग पनि यसै पर्वसँग जोडिएको छ । यही पौराणिक मान्यताका आधारमा जनैपूर्णिमाका दिन रक्षासूत्र बाँध्ने वैदिक विधान आरम्भ भएको मानिन्छ ।
जनैको धार्मिक महत्त्व
हिन्दु परम्पराअनुसार विशेष गरी ब्राह्मण र क्षत्रिय पुरुषहरूले बाल्यकालपश्चात् विधिपूर्वक व्रतबन्ध (उपनयन) संस्कार सम्पन्न गर्छन् । व्रतबन्धका क्रममा गुरु–पुरोहितद्वारा कानमा गायत्री मन्त्रको उच्चारण गराई सत्य र निष्ठामय धर्मको बाटो अपनाउने दृढ संकल्पका साथ जनै (यज्ञोपवीत) धारण गराइन्छ ।
जनै केवल एउटा धागो मात्र होइन, यो ब्रह्मसूत्रको प्रतीक र मन्त्रित धागो हो । यसलाई धारण गर्नाले वेद अध्ययन र धार्मिक कर्मकाण्ड गर्ने अधिकार प्राप्त हुने विश्वास गरिन्छ । जनै तयार पार्दा ६ वटा काँचो धागो (६ सूते धागो)लाई दुई बेग्लै–बेग्लै गाँठो पारेर एकै ठाउँमा गाँसिएको हुन्छ । जनैमा रहने दुईवटा शिखामध्ये एउटा शिखाका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरका रूपमा पूजा गरिन्छ भने अर्को शिखाका तीन डोरालाई कर्म, उपासना र ज्ञानको योगका रूपमा लिइन्छ ।
यी तीन डोराले मानिसलाई जीवनभर देवऋण, पितृऋण र ऋषिऋणबाट मुक्त हुनुपर्ने शास्त्रीय दायित्वको निरन्तर स्मरण गराइरहन्छन् । शास्त्रीय विधान अनुसार जुठो वा सूतक परेमा तथा चार महिनाको अवधि बितेपछि पुरानो जनै त्यागेर नयाँ जनै फेर्नुपर्छ ।
पूजाविधि र ऋषितर्पणी
जनैपूर्णिमाका दिन सबेरै उठेर नदी, तलाव, कुवा वा धारामा गएर स्नान गर्ने विधान छ । स्नान गर्दा अंगमा दतिवन, सेतो माटो, गोबर र खरानी दलेर शरीर शुद्ध पारिन्छ । तत्पश्चात् वैदिक मन्त्रोच्चारणका साथ कश्यप, भरद्वाज, गौतम, अत्रि, जमदग्नि, वसिष्ठ र विश्वामित्र गरी सप्तऋषिहरूको पूजाआजा गरिन्छ ।
ऋषिहरूको पूजापछि वैकुण्ठवासी गुरु, पितृ र ऋषिहरूप्रति सश्रद्धा स्मरण गर्दै तर्पण दिइन्छ, जसलाई ‘ऋषितर्पणी’ भनिन्छ । तर्पण सकिएपछि गुरु–पुरोहितले मन्त्रेको नयाँ जनै पुरानो फेरेर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर धारण गरिन्छ ।
रक्षाबन्धन र भ्यागुता पूजाको सांस्कृतिक विविधता
जनैपूर्णिमाका दिन रक्षाबन्धन पर्व पनि सँगै पर्दछ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दाहिने हातको नाडीमा पवित्र धागो अर्थात् राखी बाँधेर उनीहरूको दीर्घायु, सुस्वास्थ्य र सुरक्षाको कामना गर्छन् । बदलेमा दाजुभाइले दिदीबहिनीलाई उपहार दिँदै जीवनभर संरक्षण र सहयोग गर्ने वचन दिन्छन् । यसले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ र मधुर बनाउँछ ।
यो पर्व केवल तागाधारीहरूमा मात्र सीमित छैन । अतागाधारीहरूले पनि यस दिन मन्त्रित रक्षासूत्र बाँध्ने र स्नान, दान तथा ऋषिपूजन गर्ने परम्परा भविष्यपुराणमा उल्लेख छ । यस दिन गुरु–पुरोहितले यजमानको नाडीमा रक्षासूत्र बाँधिदिँदै निम्न मन्त्र उच्चारण गर्छन् ।
येन बद्धो बली राजा दानवेन्द्रो महाबलः ।
तेन त्वामपि बध्नामि रक्षे मा चल मा चल ।।
नेपालको सांस्कृतिक विविधता अनुसार नेवार समुदायमा जनैपूर्णिमालाई ‘गुन्हुपुन्ही’का रूपमा मनाइन्छ । यस दिन किसानहरूले खेतमा गएर भ्यागुतालाई पूजा गरी क्वाँटी खुवाउने गर्छन् । वर्षा गराउन र खेतीपातीमा सहयोग पुर्याउन भ्यागुताको महत्त्वपूर्ण भूमिका हुने भएकाले प्रकृतिको सम्मानस्वरूप यो परम्परा चलाइएको हो । साथै यस दिन नौ प्रकारका गेडागुडी भिजाएर टुसा उमारेर बनाइएको ‘क्वाँटी’ खाने विशेष परम्परा छ, जसले स्वास्थ्यमा तागत र तातोपन दिन्छ ।
मूलतः जनैपूर्णिमा वा श्रावणी पूर्णिमाले हिन्दु समाजमा धार्मिक अनुशासन, आत्मशुद्धि र सांस्कृतिक निरन्तरताको सन्देश दिन्छ । वेद अध्ययनको सुरुवात, नित्य स्नान, ऋषिहरूप्रतिको तर्पण, जनै फेर्ने संस्कार र रक्षाबन्धनजस्ता विधिहरूले मानव जीवनलाई अध्यात्म र नैतिक कर्तव्यसँग जोड्छन् । यस पर्वले व्यक्तिगत शुद्धताका साथै पारिवारिक सद्भाव, भाइचारा र सामाजिक एकतालाई सुदृढ बनाउन अतुलनीय योगदान पुर्याउँदै आएको छ ।