
लिस्बन : पोर्चुगलमा चर्चित नेपाली सेफ टंक सापकोटाले रसुवाको भोटेकोसीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ५१ लाख रुपैयाँ भन्दा बढी सहयोग गरेका छन् ।
सापकोटाले बुधबार नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ हजार युरो अर्थात् ५१ लाख ११ हजार एक सय ५१ रुपैयाँ सहयोग गरेका हुन् । सापकोटाले सो बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी दिए ।
सापकोटाको सहयोगको प्रशंसा गर्दै राजदूत पौडेलले प्राकृतिक विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारका लागि उनले गरेको सहयोग प्रशंसनीय र प्रेरणादायी रहेको बताए । 'संकटको समयमा मातृभूमि र विपद्पीडित नागरिकप्रति सापकोटाले देखाउनुभएको परोपकारी भावना र मानवीय सहयोगले सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिएको छ,' राजदूत पौडेलले भने ।
बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा थोरै भए पनि सहयोग पुर्याउने उद्देश्यले आफ्नो परिवारको तर्फबाट उक्त रकम प्रदान गरिएको सापकोटाले बताए । दाजु लक्ष्मीप्रसाद सापकोटा र श्रीमती सीता सापकोटासँग सल्लाह गरेर परिवारको तर्फबाट विपत्तिमा परेका नागरिकलाई सहयोग गर्ने निर्णय गरिएको उनले बताए ।
'प्राकृतिक विपत्तिमा परेका मातृभूमिका नागरिकको पीडा र दुःखमा थोरै भए पनि राहत पुर्याउनुलाई मैले आफ्नो मानवीय तथा सामाजिक उत्तरदायित्वका रूपमा लिएको छु । हामी संसार बदल्न सक्दैनौं, तर संसार बदल्न सहयोग गर्न सक्छौं। विपद्को यो कठिन घडीमा पीडित नागरिकको दुःखमा थोरै भए पनि साथ दिन सक्नु नै हाम्रो लागि ठुलो कुरा हो,' सापकोटाले भने । प्राकृतिक विपद्ले जलवायु परिवर्तन तथा बढ्दो तापक्रमको गम्भीर असरलाई उजागर गरेको उल्लेख गर्दै सापकोटाले यसको असरबाट निर्दोष नागरिक र समुदाय नै सबैभन्दा बढी प्रभावित भएको भन्दै चिन्ता समेत व्यक्त गरे ।
विगत ३० वर्षदेखि सपरिवार पोर्चुगलमा बस्दै आएका बागलुङ, दमेकका सापकोटाले राजधानी लिस्बनमा तीन इटालियन र एक नेपाली गरी चारवटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । पाककलामा उत्कृष्ट कला–कौशल प्रदर्शन गर्दै आएका सापकोटाले दर्जनौं ‘अवार्ड’ तथा पुरस्कारसमेत प्राप्त गरिसकेका छन् ।
यसअघि पनि सापकोटाले विभिन्न प्राकृतिक विपत्ति तथा मानवीय संकटका समयमा सहयोग गर्दै आएका छन् । कोरोना महामारीका समयमा उनले राजधानी लिस्बनका करिब १० हजार जनालाई निःशुल्क खाना समेत खुवाएका थिए ।