
दोहा, कतार : रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नेपालीहरूको सम्झनामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतारले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । विनाशकारी बाढी आएको १३औं दिन सोमबार साँझ आयोजित श्रद्धाञ्जली सभामा विपद्मा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले प्रभावित परिवारको सहयोग, बेपत्ता नागरिकको खोजी तथा राहत–उद्धारका कार्यमा नेपाली समुदाय एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । वक्ताहरूले देश विपद्मा परेका बेला संसारभर रहेका नेपालीले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताएका थिए ।
कतारको मुन्तजास्थित गोरखाली रेस्टुरेन्टको सभा हलमा एनआरएनए एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली नियोग कतारका प्रथम सचिव जितेन्द्र गिरी, एनआरएनए आइसिसीका पूर्वअध्यक्ष आरके शर्मा तथा आइसिसी र एनसिसी कतारका विभिन्न पदाधिकारीहरूको उपस्थिति थियो । कतारमा स्थापित विभिन्न नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसहित उल्लेख्य नेपाली समुदायको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाली नियोग कतारका प्रथम सचिव जितेन्द्र गिरीले जन्मभूमिबाट टाढा रहे पनि विपद्को समयमा कतारमा रहेका नेपालीहरू एकसाथ उभिएको बताए । उनले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरे ।
गिरीले विपद्को सुरुवाती दिनदेखि विभिन्न संघसंस्थाले गरेको सहयोग, पहल र समन्वय प्रशंसनीय रहेको उल्लेख गर्दै नेपाली नियोग कतार आवश्यक सहयोग, सहजीकरण र समन्वयका लागि प्रतिबद्ध रहेको बताए । उनले प्रभावितहरूको दुःखमा मलम लगाउने कार्यमा सबै पक्ष मिलेर थप सक्रिय हुनुपर्नेमा जोड दिँदै बेपत्ता नागरिकको सकुशल खोजीको कामना गरे ।
सभाध्यक्ष कृष्ण पन्थीले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारको उद्धार, राहत र सहयोगलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले विपद् सुरु भएलगत्तै एनआरएनए एनसिसी कतारले आकस्मिक बैठकमार्फत उद्धार तथा राहतका काम अघि बढाएको जानकारी दिँदै नेपाली दूतावास, एनआरएनए आइसिसी तथा विभिन्न संघसंस्थासँगको समन्वयमा आगामी दिनमा पनि सहयोगलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
पन्थीले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिँदै जलवायु न्यायका लागि नेपालको आवाज विश्व मञ्चसम्म पुर्याउन नेपाली समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता नागरिकको सकुशल खोजी र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
कार्यक्रमको सहजीकरण एनआरएनए एनसिसी कतारका महासचिव शिव भुजेलले गरेका थिए ।