
दोहा, कतार : चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरी सांगीतिक कार्यक्रमका लागि बिहीबार कतार आइपुगेका छन् । कतारमा आयोजना हुन लागेको ‘माइती र चेली तीज सांगीतिक दर कार्यक्रम–२०२६’ मा सांगीतिक प्रस्तुति दिन सेन्चुरी कतार आएका हुन् ।
सेन्चुरीलाई कार्यक्रम आयोजकका तर्फबाट आयुषा श्रेष्ठ खड्का, मोहन खड्का लगायत कार्यक्रमका सहयोगी नेपाली फिटनेस टिमका प्रतिनिधिहरूले कतार विमानस्थलमा भव्य स्वागत गरेका छन् । आयुषा मेकअप, अल दाना सलुन कतार तथा आयुषा सलून एन्ड एकेडेमी प्रा.लि. काठमाडौंको चौथो प्रस्तुतिका रूपमा आयोजना हुन लागेको कार्यक्रम शुक्रवार साँझ पाँच बजेदेखि राति ११ बजेसम्म कतारको पुरानो रमादा होटेल, हालको रेडिसन ब्लु होटेलमा हुनेछ ।
कार्यक्रममा सेन्चुरीका साथै वीरेन्द्र कुमार श्रेष्ठ लगायत अन्य कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ । लोक तथा दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सेन्चुरीका ‘सोचेझैं जिन्दगी रैनछ’, ‘मायालाई पानको पात’, ‘म त ढलें ढलें’, ‘झ्यालमा पर्दा छ’, ‘उखु गुलियो’ लगायतका कयौं गीत लोकप्रिय छन् । कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ भने महिलाहरूलाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ । कार्यक्रमको तयारीसमेत अन्तिम चरणमा पुगेको छ ।
सलुनले विगत तीन वर्षदेखि निरन्तर रूपमा आफूलाई ‘माइती’का रूपमा प्रस्तुत गर्दै कतारमा रहेका नेपाली चेलीबेटीलाई निमन्त्रणा गरी सामूहिक दर खुवाउने तथा सांगीतिक मनोरञ्जन प्रदान गर्दै आएको छ । सोही निरन्तरताअन्तर्गत यस वर्ष पनि ‘माइती र चेली’ कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा नेपाली फिटनेस टिम कतार विशेष सहयोगी संस्थाका रूपमा रहेको छ भने मध्यान्ह राष्ट्रिय दैनिक सञ्चार सहयोगीका रूपमा जोडिएको छ ।
कतार आइपुगेका गायक सेन्चुरीले पनि आफ्ना दर्शक तथा प्रशंसकलाई भिडियोमार्फत शुक्रवारको कार्यक्रममा सहभागी भएर कार्यक्रमलाई सफल बनाउन आग्रह गरेका छन् । आयोजकले कार्यक्रमका लागि प्रवेश पास लिइसकेका सबैलाई शुक्रवार साँझ ५ बजे नै हलमा उपस्थित हुन आग्रह गरेको छ । विशेषगरी कतारमा रहेका नेपाली चेलीबेटीलाई कार्यक्रममा सहभागी भई तीजको सांस्कृतिक उल्लासमा रमाउन आयोजकले आह्वान गरेको छ ।
नेपाली कला, संस्कृति, संगीत तथा चेली–माइतीको आत्मीय सम्बन्धलाई जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको कार्यक्रम कतारमा रहेका नेपालीका लागि विशेष सांगीतिक जमघटका रूपमा रहने अपेक्षा गरिएको छ ।
