२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले माग्यो गजेन्द्रनारायण सिंह अस्पतालसँग स्पष्टीकरण

Nada
२०८३ भदौ २५ गते १७:२४
Shares
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले माग्यो गजेन्द्रनारायण सिंह अस्पतालसँग स्पष्टीकरण

काठमाडौँ: राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पताल प्रशासनसँग स्पष्टीकरण मागेको छ ।

ncell

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएकी हुन् । घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन टोली राजविराज पठाइएको र अस्पतालसँग स्पष्टीकरण माग गरिएको उनले उल्लेख गरेकी छन् ।

मन्त्री मेहताका अनुसार छानबिनबाट घटनाको वास्तविक अवस्था स्पष्ट पारिनेछ । छानबिनका क्रममा अस्पताल वा सम्बन्धित पक्षबाट गल्ती तथा लापरबाही भएको देखिएमा प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्रालयको भनाइ छ ।

स्वास्थ्य संस्थामा पुग्ने प्रत्येक नागरिकले समयमै उपचारसँगै सम्मानजनक र मानवीय व्यवहार पाउनुपर्ने मन्त्री मेहताले बताएकी छन्। सोही मान्यताअनुसार घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको उनको भनाइ छ।

अस्पताल परिसरबाहिरै सुत्केरी हुनुपरेको घटनाको छानबिनका लागि पठाइएको टोलीले घटनाको तथ्यगत अवस्था अध्ययन गर्नेछ। छानबिनबाट प्राप्त विवरणका आधारमा आवश्यक निर्णय लिइने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सेवामा नागरिकको अधिकार र स्वास्थ्य संस्थाप्रतिको विश्वासप्रति मन्त्रालय संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री मेहताले सेवा प्रवाहमा कुनै कमजोरी देखिए त्यसलाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

सम्बन्धित खबर