२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

प्रचण्डको दौडधुप

ADV
दिवाकर अधिकारी
२०८१ साउन ३२ गते ०६:५०
प्रचण्डको दौडधुप

काठमाडौं : बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भए । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले भ्रष्टाचार आरोपमा मुद्दा दर्ता हुने वित्तिकै सार्वजनिक पद धारण गरेका व्यक्ति निलम्बनमा पर्ने व्यवस्थामा पुनरावलोक आवश्यक रहेको बताए ।

संसदीय समितिको बैठक अगाडि प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्दसँग भेटेका थिए ।  समाजवादी मोर्चामा रहेका यी दुवै दलसँग एकता गर्ने प्रयासमा रहेका प्रचण्ड बीचमा समय मिलाएर संसदीय समितिको बैठकमा छिरेका हुन् ।  

संसदीय समितिको बैठकमा केहीबेर बसेर प्रचण्ड पार्टीको स्थायी कमिटीको बैठकमा सहभागी हुन पुगे । जहाँ प्रचण्डल यसअघि स्थायी समितिको बैठकमा उठेका प्रश्नहरूको सम्बोधन गरे । 

त्यसक्रममा उनले प्रदेशस्तरमा पार्टीको कार्यक्रम लैजाने घोषणा गरे । नेतृत्व हस्तान्तरणको बहस चलाएका जनार्दन शर्मालाई समेत चिढाएनन् । जनार्दनले पार्टीलाई बलियो नै बनाउन खोजेको भन्दै नेतृत्व हस्तान्तरणको विषय केन्द्रिय समितिको बैठकमा लैजाने बताए ।

नेताहरूका अनुसार एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टीसँग एकताको प्रयासमा रहेका प्रचण्ड पार्टीभित्रको अन्तरविरोध मिलाउन उत्तिकै सक्रिय भएको बिहीबारको अभिव्यक्तिमा झकिन्थ्यो । सरकारको कामकारबाहीमा निरन्तर चासो राखिरहेका छन् । 

केही दिनभित्र सरकारको कामकारबाहीबारे संसदमा बोल्न तयारी उनको छ । 

यसका साथमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितको समाजवादी मोर्चाको गतिविधि पनि भित्रि रुपमा चलिरहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत असार २८ गते सत्ताच्युत भएलगत्तै साउन १ गते मोर्चाको बैठक बसेको थियो ।

साउन १ गते एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको समाजवादी मोर्चाको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गरी आगामी योजना तयार गर्न कार्यदल नै बनाएको थियो । कार्यदललाई १५ दिनको समय दिइएको थियो । 

नेताहरूका अनुसार प्रतिवेदन तयार पार्ने कार्य अगाडि बढेका छन । कांग्रेस–एमाले गठबन्धनले संविधान संशोधनसहितको सहमति गरेपछि झस्किएका समाजादी मोर्चामा आबद्ध दलहरूले सरकारविरुद्ध सदन र सडकबाट सशक्त प्रतिकार गर्ने गरी कार्यक्रम बनाउन लागेका छन् । 

समाजवादी मोर्चामा उपेन्द्र नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले रहन विगतमा अरुची देखाएको थियो । तर, पछिल्लो समय उनी प्रचण्डसँग निरन्तर संवादमा रहेका छन् । 

मोर्चामा महिन्द्र राय यदाव नेतृत्वको नेसपा समूह भित्रिएको छ । कार्यदलमा माओवादीबाट देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल, नेकपाबाट खड्गबहादुर विश्वकर्मा र नेसपाबाट गंगानारायण श्रेष्ठ रहेका छन् ।

विगतमा मोर्चाले प्रदेशस्तरमा कार्यक्रम नै गरेको थियो । त्यही रुपमा माओवादीले कार्यक्रम गर्न लागेको छ । पार्टीको पदाधिकारी, स्थायी समितिको बैठक सकाएर माओवादी प्रदेश केन्द्रित कार्यक्रममा सरिक हुँदैछ । 

पार्टीका सचिव दीनानाथ शर्माका अनुसार प्रत्येक प्रदेशस्तरमा अध्यक्ष, उपाध्यक्ष लगायत पदाधिकारी जानेछन् । उनीहरूको सल्लाह र सुझाव अनुसार केन्द्रीय समितिको पूर्ण बैठकमा छलफल हुनेछ ।

बिहीबारको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको वैचारिक र राजनीतिक मतभेदलाई अन्त्य गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता जनाएका थिए ।

पार्टीको राजनीतिक मतभेदलाई अन्त्य गर्ने, सके पार्टी एकता नसके समाजवादी मोर्चालाई बलियो बनाउने नीति लिइएको माओवादी नेताहरू बताउँछन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise