
दुबई, युएई : नेपाली महावाणिज्यदूतावास, दुबईले भिजिट भिसा र व्यक्तिगत रोजगारी भिसाका नाममा भइरहेको ठगीका बारेमा सचेत रहन आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महावाणिज्यदूतावासले संस्थागत रूपमा वैधानिक एवं सुरक्षित माध्यमबाट युएईमा रोजगारीका लागि आउने विकल्प हुँदाहुँदै उल्लेख्य संख्यामा नेपालीहरू असुरक्षित तवरले युएई पुगेको र ठगीमा पर्ने गरेको देखिएको जनाएको छ ।
रोजगार आकांक्षी नेपालीहरू नेपालमा दलाललाई लाखौं रुपैयाँ बुझाई अन्य मुलुकको भिजिट भिसा प्रयोग गरेर काठमाडौंबाट हवाई यात्रा सुरु गर्ने, त्यसपछि शारजाह र दुबई ट्रान्जिट बनाएर ती मुलुकको यात्रा नगरी अलपत्र पर्ने गरेको विज्ञप्तिमा उल्लेख छ । महावाणिज्यदूतावासले नितान्त ठगीको उद्देश्यले निकालिएका व्यक्तिगत श्रम भिसाको प्रयोग गरेर युएई आउने र कम्पनीसँग सम्पर्क हुन नसकी वा कम्पनीले बेवास्ता गरी अलपत्र पर्ने गरेको घटना बढेको बताएको छ ।
नेपालमा ठुलो रकम बुझाई युएईको भिजिट भिसा प्राप्त गर्ने र युएई आएपछि काम खोज्ने सोचका कारण पुनः दलालको फन्दामा परी ठगी एवं कानुनी झमेलामा परेकाहरूबाट उल्लेख्य संख्यामा गुनासो प्राप्त हुने गरेको पनि महावाणिज्यदूतावासले जनाएको छ ।
यस किसिमका ठगीबारे सचेत रहनु र ठगीबाट बच्नुको कुनै विकल्प नभएको भन्दै महावाणिज्यदूतावासले रोजगारीका लागि युएई जान चाहने नेपाली नागरिकहरूलाई भिजिट भिसाबाट नभई संस्थागत रोजगार भिसाको सुरक्षित बाटो अपनाउन अनुरोध गरेको छ ।
स्थापित र भरपर्दो रोजगारदाता कम्पनीमा आफ्नो योग्यता र अनुभव मिल्ने उच्च सीपयुक्त काम, आफूले यसअघि रोजगारी गरिसकेको भरपर्दो कम्पनीको काम र युएईमा रहेका आफ्नै परिवारका सदस्यले पहल गरी खोजिदिएको विश्वासिलो कम्पनीको कामबाहेक व्यक्तिगत रोजगार भिसामा युएई नआउन पनि आग्रह गरिएको छ ।