
काठमाडौं : असोज महिनामा ७३ हजारभन्दा बढी नेपाली युवायुवती वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार असोजमा ७३ हजार ७६५ जना वैदेशिक रोजगारीमा गएका छन् । यो संख्या गत वर्षको असोज महिनाको तुलनामा करिब १० हजारले बढी हो । गत वर्ष असोजमा सबै प्रक्रियाबाट ६४ हजार ६३४ जना वैदेशिक रोजगारीमा गएका थिए ।
मुलुकमा आन्तरिक रोजगारी सिर्जना गरी युवा जनशक्तिलाई स्वदेशमै राख्ने र बाध्यताले वैदेशिक रोजगारीमा गएकाहरूलाई फर्काउने वर्तमान सरकारले पटकपटक प्रतिबद्धता जनाएको भए पनि वैदेशिक रोजगारमाथिको निर्भरतामा कमी नआएको तथ्यांकले देखाएको छ ।
असोजमा व्यक्तिगत श्रम स्वीकृतिमा १० हजार ८४४ जना, रिइन्ट्रीबाट ३० हजार २०६ जना, जिटुजीका माध्यमबाट १ हजार ३ जना र वैधानिकीकरणका माध्यमबाट ११० जना गएका छन् ।
असोजमा म्यानपावर कम्पनी र व्यक्तिगत प्रक्रियाबाट गरी ४३ हजार ५५९ जना गएका छन् । म्यानपावर कम्पनीमार्फत ३१ हजार ६०३ जना गएका छन् ।
अघिल्ला महिनाहरूमा जस्तै असोजमा पनि युएई जाने क्रम अग्रस्थानमा रहेको छ । असोजमा २३ हजार ८९९ जना युएई गएकोमा म्यानपावर कम्पनीमार्फत १४ हजार ४९४ जना गएका छन् ।
त्यसैगरी, मलेसियामा ६ हजार ३६, कतारमा ३ हजार ६१९, कुवेतमा २ हजार ६०७, साउदी अरेबियामा २ हजार ५१२, साइप्रसमा ६९३, ओमानमा ६२९, बहराइनमा ४८६, जापानमा ३०७, जोर्डनमा १०८, मौरिससमा ६७, श्रीलंकामा २१, टर्कीमा ११, माल्दिभ्समा १० र हङकङमा २ जना गएका छन् ।