
काठमाडौं : नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार मलेसियाको वायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले यूएईलाई ४४ रनले पराजित गर्दै उपाधि जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रनको बलियो योगफल खडा गरेको थियो । नेपालका लागि आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए। यो आसिफको ओडीआई करियरको दोस्रो शतक हो ।
आसिफले आउट हुनुअघि अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । त्यसपछि इशान पान्डेसँग दोस्रो विकेटका लागि ३६ रनको साझेदारी गरेका आसिफले तेस्रो विकेटका लागि रोहित पौडेलसँग ६८ रनको साझेदारी गरे ।
नेपालका लागि गुल्शन झाले पनि आक्रामक ब्याटिङ गर्दै ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाए। अर्जुन कुमालले ४३ तथा रोहित पौडेलले ४० रनको योगदान दिए ।
नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो ।
यूएईका लागि राहुल चोपराले अविजित शतक बनाए पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् । तनिश सुरीले ४२ तथा कप्तान हरप्रित भाटियाले ३३ रन बनाए ।
नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । ललित राजवंशीले २ विकेट लिए भने कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।
यूएईका लागि इबरार अहमदले ४ विकेट लिए भने खुजाइमा बिन तनभिरले २ तथा हैदर अली र अदीब उसमानीले १-१ विकेट लिए ।
यससँगै नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान पक्का गरेको छ ।
रोचक कुरा के छ भने, नेपालले यसअघि सन् २०२३ को प्रिमियर कपको फाइनलमा पनि यूएईलाई नै पराजित गरेको थियो ।