
भोटेकोशीको अकल्पनीय बाढीले घर भत्कायो । सम्पत्ति बगायो र सयौंको जीवन खोसेको छ । यसको असर आँखाले देखिने क्षतिमै मात्र सीमित छैन । विपद् सकिएपछि पनि त्यसले मानिसको मनमा लामो समयसम्म त्रास, असुरक्षा र बेचैनी छाडेको छ । त्यसैले विपद्पछिको पुनस्र्थापनामा घाइते मनको उपचारलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने भएको छ । बाढी प्रभावितले आँखैअघि आफन्त बगेको देखेका छन् । सयौंले अभिभावक गुमाएका छन् । विपद्ले हजारौंको भरोसा चुँडेको छ । दसौं हजार घरबारविहीन भएका छन् । यसले भौतिक र मानवीय क्षतिसँगै मन घाइते भएको छ ।
अचानक आएको विपद्ले केही घण्टाभित्रै मच्चाएको विध्वंसले प्रभावितहरूको निद्रा खोसेको छ । डर, चिन्ता, एक्लोपन महसुस हुने वा सामान्य दैनिकीमा फर्कन कठिन हुने समस्या देखिन थालेको छ । बालबालिकामा यसको असर झन् गहिरो हुन सक्छ । राष्ट्रिय बाल अधिकार परिषद्को द्रुत लेखाजोखाले रसुवा बाढी प्रभावित क्षेत्रमा सयौं बालबालिका आमाबुवाबाट छुट्टिएको वा दुवै अभिभावक गुमाएको देखाएको छ । यस्तो अवस्थामा खाना, कपडा र सुरक्षित बसोबाससँगै उनीहरूलाई भावनात्मक सुरक्षा पनि आवश्यक हुन्छ ।
सरकारले मनोसामाजिक परामर्शका लागि जनशक्ति परिचालन गरेको र हेल्पलाइन सञ्चालनमा ल्याएको जनाएको छ । प्रभावितले परामर्श पाउनु सकारात्मक सुरुवात हो । तर विपद्को आकार र प्रभावितको संख्या हेर्दा यति मात्र पर्याप्त हुँदैन । मनोसामाजिक उपचारलाई राहतको अस्थायी कार्यक्रमका रूपमा होइन, पुनस्र्थापनाकै एउटा महत्त्वपूर्ण हिस्साका रूपमा अघि बढाउनुपर्छ । प्रभावित बस्तीमै नियमित परामर्शको व्यवस्था हुनुपर्छ । विद्यालय, स्वास्थ्य संस्था र अस्थायी आवास केन्द्रमा मनोसामाजिक सहयोग पु¥याउनुपर्छ । परिवारबाट छुट्टिएका बालबालिकाको पुनर्मिलन र संरक्षणलाई प्राथमिकता दिनुपर्छ । गम्भीर मानसिक समस्या देखिएका व्यक्तिलाई विशेषज्ञ सेवासम्म सहज पहुँच दिलाउनुपर्छ । साथै सुरक्षित आवास, रोजगारी र जीविकोपार्जनको सुनिश्चितताले पनि प्रभावितको मनमा सुरक्षा र भरोसा फर्काउन मद्दत गर्छ ।
विपद्पछि मानिसलाई बाँच्ने आधार मात्र होइन, फेरि सामान्य जीवनमा फर्किने भरोसा पनि चाहिन्छ । त्यसैले राहतपछि पुनर्निर्माण र पुनस्र्थापनासँगै मनोसामाजिक उपचारलाई राज्यको निरन्तर प्राथमिकता बनाउनुपर्छ । घर बनाउनु आवश्यक छ, तर घरभित्र फर्कने मन पनि तयार पार्नुपर्छ । विपद्पछिको पुनस्र्थापना त्यतिबेला मात्र पूर्ण हुन्छ, जब भौतिक क्षतिसँगै घाइते मनले पनि सुरक्षित हुने आधार पाउँछ ।