२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मूल्यवृद्धि नियन्त्रण गर

Nada
२०८३ असोज २ गते ०६:१०
Shares
मूल्यवृद्धि नियन्त्रण गर

चाडपर्व नजिकिँदै गर्दा बजारमा महँगी बढ्नु नेपालमा नयाँ समस्या होइन । दसैं–तिहार आउनासाथ दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने, अभाव सिर्जना हुने र उपभोक्ता ठगिने प्रवृत्ति हरेक वर्ष दोहोरिन्छ । यसपटक भने भोटेकोशी बाढी, कृष्णभिर पहिरो र अन्तर्राष्ट्रिय आपूर्ति समस्यालाई समेत मूल्य बढाउने आधार बनाइएको देखिन्छ । प्राकृतिक विपत्तिले आपूर्ति प्रणालीमा असर पारेको तथ्य अस्वीकार गर्न सकिँदैन । ठुला मालवाहक सवारी रोकिँदा खाद्यान्न र ग्यासको ढुवानी प्रभावित हुनु स्वाभाविक हो । तर आपूर्तिमा आएको वास्तविक समस्यालाई बहाना बनाएर कृत्रिम अभाव सिर्जना गर्ने र आफूखुसी मूल्य वृद्धि गर्ने छुट कसैलाई हुनु हुँदैन । अहिले चामल, दाल, तेल, चिनी, माछा, मासु र अण्डासम्मको मूल्य बढेको छ । खाना पकाउने ग्यासको अभाव लामो समयदेखि कायम छ । बजारमा सामानको अभाव देखिनेबित्तिकै उपभोक्ताले पनि आवश्यकताभन्दा बढी खरिद गर्न थालेका छन् । यसले माग थप बढाउँछ र अभावको मनोविज्ञानलाई बल पुर्‍याउँछ । त्यसैले बजारमा विश्वास कायम गर्नु सरकारको पहिलो जिम्मेवारी हो । 

ncell

चाडपर्वमा माग बढ्छ भन्ने कुरा हरेक वर्ष देखिँदै आएको छ । त्यसका लागि पर्याप्त मौज्दात, भण्डारण र वैकल्पिक आपूर्ति मार्गको व्यवस्था किन पहिल्यै हुँदैन ? बजारमा संकट उत्पन्न भएपछि मात्र  आपूर्ति व्यवस्थापनबारे सोच्ने प्रवृत्तिले समस्या गहिरिन्छ । बजार अनुगमनको जिम्मेवारी संघदेखि स्थानीय तहसम्मका निकायको हो । तर अनुगमन देखावटी हुने र कारबाही साना व्यापारीमा मात्र सीमित हुने हो भने त्यसले बजारमा अनुशासन ल्याउँदैन । थोकदेखि खुद्रासम्मको मूल्य शृंखला पारदर्शी बनाउनुपर्छ । अत्यावश्यक वस्तुको वास्तविक लागत र बिक्री मूल्यबारे उपभोक्तालाई नियमित सूचना दिनुपर्छ । 

सरकारी स्वामित्वका संस्थानले पनि संकटका बेला बजारमा प्रभावकारी हस्तक्षेप गर्न सक्नुपर्छ । ग्यास वा खाद्यान्नको आपूर्ति बिग्रँदा निजी क्षेत्रको भरमा मात्र बजार छाड्नु उचित हुँदैन । चाडपर्व उपभोक्ताका लागि उत्सव हो । यसलाई व्यापारीका लागि अस्वाभाविक नाफा कमाउने अवसर बन्न दिनु हुँदैन । त्यसैले सरकारको भूमिका अनुगमन गर्ने मात्र नभई आपूर्ति सुनिश्चित गर्ने र बजारमा विश्वास जगाउने पनि हो । अहिलेको आवश्यकता तत्काल मूल्य नियन्त्रणसँगै दीर्घकालीन आपूर्ति तथा भण्डारण प्रणाली सुधार्नु हो । चाडपर्वमा बजार सहज, पारदर्शी र अनुशासित बनाउन सरकार अब परिणाम देखिने गरी सक्रिय हुनुपर्छ ।

सम्बन्धित खबर